जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ११:०२

राति सात बजे विस्फोटपछि प्रहरीको गाडी मै आलम घटनास्थल पुगेको खुलासा


काठमाडौं, कात्तिक ६

रौतहट राजपुर फरहदवा गाविस–४ स्थित कांग्रेस रौतहट सभापति तथा रौतहट क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित महमद अफताव आलमका काका स्व।शेख ईद्रीसको खल्यानको घरमा ०६४ चैत २७ गते राति बम बनाउँदा केही व्यक्ति हताहत भएको र केही घाइते भनिएको घटनाबारे सञ्चारमाध्यम र पीडित परिवारद्वारा काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएका विवरणलाई आधार मानेर घटनास्थलमा पुगी पीडित पक्ष र सरोकारवालासँग भेटघाट र घटनास्थलको अवलोकन गरी प्रतिवेदन तयार पारिएको हो।

घटना विवरण कांगे्रसका उम्मेदवार महमद अफताव आलमकाका राजपुरस्थित काका शेख ईद्रीसको खलिहारनको घरमा बम र बम बनाउन आवश्यक पर्ने सामान जम्मा गरी राखिएको थियो। ०६४ चैत २७ गते बेलुका करिब ७ बजे बम विस्फोट भएको थियो। बम विस्फोटनबाट ईद्रीसको घरको छाना पूरै नष्ट भएको पीडितको भनाइ थियो। विस्फोटन लगत्तै यहाँ स्थानीय, प्रहरी घटनास्थलमा जान सकेका थिएनन्। संघ संस्थालाई विस्फोट भएको घरमा जान दिइएको थिएन।

निर्वाचनमा वुथ क्याप्चर गर्नका लागि नेपाल र भारतबाट बम बनाउन मानिस ल्याएका र बम बनाउँदै गर्दा विस्फोट भएको थियो। विस्फोट हुँदा आलमका काका सेख इद्रिसको घरको छाना पूरै उडेको, विस्फोटबाट रौतहट सरुअठा गाविस–२ का श्रीनारायण सिंहका छोरा २२ बर्षीय पिन्टु सिंह भन्ने त्रिलोकप्रताप सिंह, रौतहट सरुअठा गाविस–९ का जगर मिंयाका छोरा २३ वर्षीय वसिअख्तार मिंया कवाडी र नाम ठेगाना खुल्न नसकेका भारतीय नागरिक एक जनाको घटनास्थलमै मृत्यु भएको र केही मानिस घाइते भएको राजनीतिक दल तथा स्थानीय तथा पीडित परिवारको भनाइ छ।

घटना लुकाउन आलमले मुस्ताक राजाको ईट्टाभट्टामा उनीहरूको शव लगेर हालिदिएको स्थानीय तथा राजनीतिक दलका मानिसको भनाइ रहेको पाइयो। प्रहरीले १७ गतेसम्म बम विस्फोटन नभएको, घटनास्थल सावित हुन नसकेको र बम विस्फोटन भएको नपाइएको जनाएको थियो। घटनास्थल देखाउन पीडितले वैशाख १८ गते मानवअधिकारकर्मी र प्रहरीलाई साथै लिएर गएका थिए। घटनास्थल पुग्दा महमद अफताव आलमकाका काका शेख ईद्रीसको खलिहान घरको छानामा नयाँ खपटाले छाएको, नयाँ बाँस छानाको केही भागमा प्रयोग भएको, घरका भित्ता चर्केको तथा नयाँ पर्खाल लगाएको र घरमा भुस राखिएको थियो। भुस निकालेर हेर्न भन्दा अधिकारकर्मी दीपेन्द्र झा र पीडित पक्षलाई स्थानीयले आक्रमणको प्रयास गरेका थिए।

घटनास्थलका बारेमा १७ गतेसम्म प्रहरीलाई जानकारी नहुनु र अध्ययनको क्रममा पीडितले वैशाख १८ गते अधिकारकर्मीको टोलीलाई भुस निकाली तथ्य बुझ्न खोज्दा आक्रमण प्रयास हुनुले घटनालाई थप रहस्यमय बनाइदिएको छ।

पीडितले बम विस्फोटन भएको भनिएको घरको विवरण जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी लक्ष्मण न्यौपानेलाई जानकारी गराउँदा घटना भएको देखिन आएको उल्लेख गरेका थिए। यद्यपी एसपी न्यौपानेले घटना भएको भन्ने कुरा सनाखत हुन नआएको भनाइ व्यक्त गरेका थिए।

कांगे्रस बाहेकका सबै राजनीतिक दलले निष्पक्ष छानबिनका लागि आह्वान गरेका थिए। घटना लुकाउन आलमले घाइतेलाई भारतको अज्ञात स्थानमा लगेर उपचार गराएको र मृत्यु भएका व्यक्तिको परिवारलाई घटना विवरण नसुनाउन धम्की दिएको पीडितको भनाइ छ। इन्सेकलगायत मानवअधिकार संस्थाको रोहवरमा घटनामा मृत्यु भएकामध्ये वसि अख्तर मिंयाकी आमा रुक्साना खातुन र पिन्टु सिंह भन्ने त्रिलोकप्रताप सिंहका पिता श्रीनारायण सिंहले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित चारजनाविरुद्ध किटानी जाहेरी दिएका थिन्। हुलाकमार्फत दिइएको जोहरी प्रहरीले ९ दिनपछि ०६५ वैशाख १८ गते पीडित पक्षबाट सनाखत गराई दर्ता भएको छ।

घटनाको प्रारम्भिक तथ्थ

– कांग्रेसका उम्मेदवार मोहमद अफताव आलामले चुनाव प्रचार प्रसारमा चैत २० गते रौतहट सरुअठा गाविस–२ का श्रीनारायण सिंहको छोरा २२ बर्षीय पिन्टु सिंह भन्ने त्रिलोकप्रताप सिंह, रौतहट सरुअठा–९ का जगर मिंयाका छोरा २३ वर्षीय वसिअख्तार मिंया कवाडीलाई लगेको पाइयो।

– चैत २७ गते राजपुरस्थित शेख ईद्रीसको खल्यानको घरमा अफतावले जम्मा गरेको बम विस्फोट भएको र घटनामा तत्काल तीनजना जनाको मृत्यु भएको। केही मानिस घाइते भएको र घाइतेलाई पनि मृतकसँगै ईट्टाको चिम्नीमा जिउँदै फालिएको गुनासो पीडित परिवारबाट सुनियो।

– घाइते पिन्टु सिंह र बसिअख्तर मियाँ कवाडीलाई ईंटाभट्टामा जलाएको घटनाका प्रत्यक्षदर्शी एकजनाको भनाइ रहेको पाइयो।

– पीडित परिवारले घटनामा मोहमद अफताव आलम र चारजनाविरुद्ध हुलाकमार्फत् जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको पाइयो।

– घटनालाई मिलाउन आलमले पीडित पक्षलाई २ लाख रुपैयाँ दिन खोजेको र पीडित पक्षले १० लाख रुपैयाँ मागेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी लक्ष्मण न्यौपानेको भनाइ रहेको पाइयो।

– पीडितले प्रहरी प्रशासनलाई वद्नाम गर्न खोजेको, घटना राजनीतिकरण भएको र उजुरी लिन अस्वीकार नगरेको, घटना भएको केही मिनेट पछि पुग्दा बम पड्केको कुनै संकेत नपाइएको एसपी न्यौपानेको भनाइ पाइयो।

– पीडित, मानवअधिकारकर्मी र प्रहरीले घटनास्थल पुगेपछि पीडित पक्षले देखाएको आलमकाका काका शेख ईद्रीसको खल्यानको घरको छानामा नयाँ खपटाले छाएको, नयाँ बाँस घरको छानामा प्रयोग भएको, घरका भित्ता चर्केको तथा नयाँ पर्खाल लगाएको र घरमा नयाँ भुस राखिएको देखियो।

– प्रमाणहरू लिएर पुनः जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रहरी उपरीक्षक न्यौपानेलाई देखाउँदा उनले घटना भएको प्रस्तुत विवरणले पुष्टि गरेको स्वीकारेको र उक्त कुरा प्रहरीले आफूलाई पहिला जानकारी नगराएको भन्ने भनाइ रहेको थियो।

– घटनास्थल राजपुर फरहदवा गाविस–४ का वासिन्दाले घटनाबारे बताउन नचाहेको र बताउन सक्ने अवस्था नदेखिएको। प्रारम्भिक तथ्यहरूको आधारमा सरकारले तत्काल विज्ञको संलग्नतामा उच्चस्तरीय छानबिन समिति÷आयोग गठन गरी घटनाको यथार्थ विवरण सार्वजनिक गर्न हामी सम्पूर्ण मानवअधिकार कर्मी माग गर्दछौं।

घटनाका प्रत्यक्षदर्शीको भनाइ

– आफताफ र सेराज दुईजनाले मोहमद ओसी अख्तरलाई काम छ भनी जान भने तर उ जान मानेन। जान नमानेपछि अख्तरलाई जबर्जस्ती लगे। अख्तरलाई लगेपछि उनीहरूको पिछा गर्दै म पनि साइकलमा गएँ। कांग्रेस उमेदवार मोहमद आफताब आलमको घरमा पुगेपछि अफतावले अख्तरलाई घरमा बसाल्ये। मलाई घरभित्र जान दिइएन। म बाहिर बसे । एक छिनपछि म अख्तर बसेको घरको झ्यालबाट हेर्दा घरभित्र बमको छली लागेको देखे। कसैले बम उठाएर हेरिरहेका थिए। कोही सिगरेट त कोही बिँडी तानिरहेका थिए।

म बाहिर बसेका बेला विस्फोटन भयो। विस्फोट कसरी भयो त्यो थाहा भएन। पिन्टु र अख्तर घाइते अवस्थामा बाहिर निस्केको देखे। ती दुवैजनाले हामीलाई अस्पताल पुर्‍याऊ भने। म त्यहाँ लिन जाँदा उनीहरू रिसाए। म त्यहाँबाट भागे। राति भएकाले गहुँको खेतमा लुकेर बसे। राति १२ बजे अगाडि पुलिसको गाडी बीचमा ट्रयाक्टर र पछाडिको पुलिसको गाडीमा कांग्रेस उमेदवार आफताव पनि थिए। ट्याक्टरमा घाइतेलाई राखी चिम्निमा लगे, घाइते रुदै थिए। त्यो देखे पछि म भागे।

मृतक त्रिलोकप्रताप सिंहका बुवा नारायण सिंहको भनाइ

चैत १९ गतेका दिन अफताव आलम र महताव आलम दुवै मेरो घरमा छोरालाई लिन आएका थिए। म खेतबाट आएको थिएँ। मैले सोधे तपाईहरू के भन्नु हुन्छ उनीहरूले भन्नु भयो कि तपाईंको छोरा पिन्टुको बोली र भाषणमा आकर्षण छ, मान्छेहरू आकर्षित हुन्छन्। उसलाई जानदिनुस्। मैले मेरो छोरा जाँदैन भने। रिसाएर मैले छोरालाई घरको बारदलीबाट हप्काएर फर्काए।

फेरि भोलिपल्ट २० गतेका दिन उनीहरू छोरालाई लिन खेतमा गएका थिए। त्यसै दिन आफतावका मान्छेले घरमा कोही नभएका बेला छोरालाई लगे। बेलुका खेतबाट फर्केर घर आए घरमा श्रीमतीले छोरालाई अस्ती आएका मानिसले लगेको बताइन्। म भोलिपल्ट २१ गतेका दिन फरदवामा गएर छोराको विषयमा सोधपुछ गरें ?

अफतावले तिम्रो छोरा क्षेत्रमा प्रचार प्रसारमा गएको छन्। छोरालाई केही हुँदैन तपाई घर जानुस् भने। म घर फर्किएँ। एक दुई दिनपछि त्यहाँ गए। फेरि त्यही कुरा भन्यो। छोरा चुनाव प्रचार प्रसारमा रहेको भनेकाले छोरासँग भेट भएन। २७ गतेका दिन यो घटना भयो। २८ गते घरमा सुतिरहेको बेला मेरो भाई राजेश्वर सिंहले मलाई आएर भन्यो कि राजपुरमा यस्तो घटना घटेको छ। म रुक्साना खातुनको घर सोरहौटा–९ भन्ने गाउँमा गए। त्यहाँ जाँदा रुक्सान र उनको बुहारी रुन कराउन थालेका थिए। त्यहाँका स्थानीय मान्छेले तपाइँको छोरा पनि सोही घटनामा परेको छ भने म पनि रुँदै कराउँदै घर फर्किएँ।

सबै घरमा बेहोश भए। छोराको आमालाई दुई बोतल सलाइन दिनु पर्‍यो। आफतावको मेरो गाउँमा नाता पर्छ गाउँमा अफतावको विपक्षमा कसैले बोल्न पनि पाउँदैन र बोल्नेलाई धम्की समेत दिन्छ।

विभिन्न प्रकारको यातना पनि दिन्छ। त्यसैकारणले त्यस गाउँको मान्छेहरू उहाँसँग धेरै भयभित बनिरहेका छन्। आफतावको गाउँमा मेरो माइती पर्छ त्यहाँबाट आएका मानिसले तिम्रो छोराको अवस्था राम्रो थियो। तपाइँको छोरा घरजान खोजिरहेको थियो। मलाई सानो घाउ छ। म घर जान सक्छु भन्थे तर अफतावको भाइ डा. समिरले इन्जेक्सनमा जहर हाली मेरो छोराको नशामा दिएको थाहा पाएँ। मेरो छोरा मर्ने अवस्थामा थिएन। ५० लाख रुपियाँ प्रशासनका अधिकृतलाई दिएर घटना लुकाउन खोजिएको थाहा भएको छ। घटनाम संलग्न व्यक्तिलाई उचित कारबाही भएको देख्न पाऊ। हामीलाई क्षतिपूर्ति दिलाउन सादर अनुरोध गर्दछु।

मोहमद ओसी अख्तरकी आमा रोक्साना खातुनको भनाइ

म घरमा थिइँन। भोट माग्न गाउँ गएको थिएँ। घर फर्केर आउँदा रातो गाडी घर अगाडि रोकिएको थियो। छोरा सुतिरहेको थिए। मैले छोरालाई रातो गाडी घर अगाडि रोकिएको छ भने। छोरा बाहिर गए र फर्केर आई गाडीमा अफताव र सेराज रहेको बताए। उनीहरूले मलाई जान भनिरहेको छ। मैले नजान भने। उनीहरू रौतहट २ नं. को उमेदवार हो हामी १ नं. का छौं भोटमा नजाऊ, कुनै घटना गर्छ कि भनेर नजान भने। मलाई केही हुँदैन म चोकबाट फर्केर आउँछु भनेर गएको छोरालाई चोकमा लगेर छाडिदिए तर त्यसको भोलिपल्ट फेरि उनीहरू आएका रहेछन्। म भोट माग्न गएको थिए। रातो गाडीसहित दुईवटा गाडीमा आएका सेराज मोफताजले मोटरमा जबरजस्ती चढाएर छोरालाई लगेको रहेछ।
त्यसको भोलिपल्ट पिन्टु र मेरो छोरा अख्तर मरेको खवर पाएँ। मेरो छोरा जिउँदै थियो। पानी खान मागिरहेका थियो भने उपचारका लागि अस्पताल लान भनेको रहेछन्। जर्नेलको छोरा समिरले पानी सलाइन गरेको खवर सुन्न वितिकै म बेहोस भए। मेरो छोरा घाइते अवस्थामा ल्याई दिए पनि म उपचार गराउँथे। अपांङ भए पनि मेरै छोरा थियो, म पाल्न सक्थे। मलाई आलमले गल्ती भयो यस्का लागि खेत र २ लाख ५० हजार रुपैयाँ दिन्छु। काठमाडौं नजाऊ भने। काठमाडौं गए घरमा आगो लगाई दिने, मार्ने धम्की दिए।

(स्थलगत अध्ययनपछि इन्सेकले ०६४ वैशाख २४ गते सार्वजनिक गरेको प्रतिवेदन)