जनता टाइम्स

१९ पुष २०८१, शुक्रबार १०:४६

दोस्रो कार्यकाल सम्हाल्नुअघि राष्ट्रपति ट्रम्पलाई प्रधानन्यायाधीशको गम्भीर चेतावनी


वासिङ्टन डिसी (अमेरिका), पुस १९ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसको दोस्रो कार्यकालअघि गम्भीर चेतावनी दिनुभएको छ ।
संघीय न्यायपालिकाको गत मंगलबार सार्वजनिक वार्षिक प्रतिवेदनमा प्रधानन्यायाधीशले संयुक्त राज्य अमेरिकाले ‘न्यायिक स्वतन्त्रता’ कायम राख्नुपर्छ भन्दै संघीय न्याय प्रणालीमाथिको खतराबारे उल्लेख गर्नुभएको छ ।

‘न्यायिक कार्यको प्रकृतिमा सबैलाई खुसी बनाउने कुरा हुँदैन। अधिकांश मुद्दाहरूमा विजेता र पराजित हुन्छन,’ रोबर्ट्सले १५ पृष्ठ लामो प्रतिवेदन लेख्नुभएको छ ।
‘विधायिकी अधिकार वा अन्य महत्वपूर्ण विषयहरूमा हरेक प्रशासनले कहिलेकाहीँ अदालत प्रणालीसँग पराजय भोगेको हुन्छ’ उहाँले भन्नुभएको छ, ‘तर, विगत केही दशकहरूदेखि, अदालतको निर्णय, लोकप्रिय होस वा नहोस, पालना गरिएको छ, र राष्ट्रले सन १९५० र १९६० का दशकहरूमा देखिएका गतिरोधहरूबाट बच्न सफल भएको छ ।’

उहाँले ट्रम्पतर्फ संकेत गर्दै लेख्नुभएको छ ‘तर, पछिल्लो केही वर्षहरूमा, राजनीतिक दृष्टिकोणका विभिन्न तर्फका निर्वाचित अधिकारीहरूले संघीय अदालतका निर्णयहरूको खुलेआम अवज्ञाको खतरा उठाएका छन।’ रोबर्ट्सले आफ्नो प्रतिवेदनमा ट्रम्प, राष्ट्रपति जो बाइडेन वा अन्य कुनै पनि सांसदको नाम उल्लेख गर्नुभएको छैन, यद्यपि दुवै कार्यकारीहरूसँग सार्वजनिक विवाद भएका छन।

‘कहिलेकाँही मात्रै आउने भए पनि यी खतरनाक सुझावहरू दृढ रूपमा अस्वीकार गर्नुपर्छ। न्यायिक स्वतन्त्रता जोगाउनै पर्ने विषय हो,’ रोबर्ट्सले भन्नुभएको छ । उहाँले दिवंगत न्यायाधीश रूथ बेडर गिन्सबर्गलाई उद्धृत गर्दै भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका कुनै पनि देशमा कानुनी शासनका लागि अत्यावश्यक छ, तर यो आक्रमणको जोखिममा हुन्छ ः यदि समाजले यसको संरक्षण सुनिश्चित गर्न ध्यान नदिने हो भने यो टुटन सक्छ।’

‘म सम्पूर्ण अमेरिकीहरूलाई हाम्रो संस्थापक पुस्ताबाट प्राप्त यो सम्पत्ति बुझ्न र यसको स्थायित्वलाई सम्मान गर्न आग्रह गर्दछु,’ प्रमुख न्यायाधीश रोबर्ट्सले लेख्नुभएको छ । उहाँले पूर्व प्रमुख न्यायाधीश चार्ल्स इभान्स ह्युजलाई पनि उद्धृत गरेका छन्, जसले कुनै बेला सरकारका तीनवटा अंगहरूले सफल सहकार्यमा काम गर्नुपर्छ, जसले स्वतन्त्रता सुनिश्चित गर्न न्यायिक निष्पक्षता र स्वतन्त्रता सहित सरकारी निकायहरूको प्रभावकारी सञ्चालन सम्भव बनाउँछ।’

उहाँले अगाडि थप्नुभएको छ ‘हाम्रो राजनीतिक प्रणाली र आर्थिक सशक्तता कानुनी शासनमा निर्भर छ ।’ प्रमुख न्यायाधीशले न्यायपालिका धम्की र गलत सूचनाको खतरा सामना गरिरहेको व्याख्या गरेका छन । न्यायाधीशहरूप्रति गरिएको हिंसा, धम्की र विरोधले हाम्रो गणतन्त्रलाई कमजोर बनाउँछ र यो पूर्ण रूपमा अस्वीकार्य छ ।’ ‘मुद्दाहरूमा भएका निर्णयका कारण न्यायाधीशहरूलाई डर देखाउने प्रयास अनुचित हो र यसको कडा रूपमा विरोध गर्नुपर्छ,’ उहाँले भन्नुभएको छ ।