जनता टाइम्स

६ माघ २०८१, आईतवार ०२:४८

गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री महाकालीमा निमार्णाधीन पुलको निरीक्षणमा पुगेपछि


कञ्चनपुर, माघ ६ । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महाकाली नदीमा निमार्णाधीन चारलेनको मोटरेबल पुलको निरीक्षण गर्नुभएको छ । ‘भेरियेसन’ का कारण पुल निमार्ण प्रभावित भएपछि मन्त्रीद्वय लेखक र दाहाल शनिवार पुल निरीक्षणका लागि पुग्नुभएको हो ।

पुल छेउमा निर्माणाधीन पोखरीको ‘गाइडबन्ड’ (बाँध) को परिवर्तित ‘डिजाइन’ स्वीकृत भए पनि भेरिएसन नभएकाले पुलसँगै बन्ने अन्य संरचनाको काम रोकिएको छ । गत भदौमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिकातर्फ तीन सय मिटर बाँध भत्काएको थियो । सोही कारणले महाकाली नदीमा बनेको चारलेनको पक्की पुल र बस्ती बाढीको जोखिममा परेपछि विकल्प खोज्न सडक विभागका निर्देशक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहित मन्त्रीद्वय स्थलगत अवलोकनमा आउनु भएको हो ।

पुलको अवलोकन गर्दै गृहमन्त्री लेखकले गाइडबन्ड भत्किएपछि बस्ती र पुल दुवै जोखिममा पर्ने भएकाले तत्काल यसको समाधान गर्न आवश्यक रहेको बताउनु भयो । पुलको पारि दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्ण हुने अन्तिम चरणमा छ, यो पुल सफल भएन भने सुक्खा बन्दरगाहसमेत सफल हुँदैन । गृहमन्त्री लेखकले चाँडोभन्दा चाँडो यो समस्याको समाधान गर्न विकल्पको खोजीका लागि स्थलगत अवलोकनमा आएको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वस्तुस्थिति बुझेर समस्या समाधानमा लाग्ने बताउनुभयो । महाकाली नदीमा निर्मित चारलेनको पक्की पुलको दुवैतर्फ छ सय मिटर चौडाइ र दुई हजार आठ सय मिटर लम्बाइको पोखरी निर्माण गरिएको छ । सुरुमा पोखरीको गाइडबन्ड दुई सय ५० किलोभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरेर निर्माण गर्नुपर्ने डिजाइन थियो  । ठूला ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गरी ‘ग्राभेल’ र कङ्क्रिटसहितको गाइडबन्ड निर्माणको नयाँ डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको सडक विचागले जनाएको छ ।

नयाँ डिजाइन वीकृत भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । उक्त गाइडबन्ड नदीले भत्काएर महाकाली बस्तीतर्फ सोझिएको छ । सोही कारण बस्ती र पुलसँग पुग्ने पहुँच मार्ग जोखिममा परेको छ । भीमदत्त नगरपालिका–१२ का स्थानीय कृष्णसिंह देउवाले भुजेलाखोला र महाकाली नदीमा बनेको बाँध भत्किएपछि पुलसँगै बस्ती जोखिममा परेकाले समयमा बाँध निर्माण गर्न मन्त्रीसँग आग्रह गर्नुभयो ।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेले परिवर्तित डिजाइनको भेरिएसन नहुँदा काम सुरु गर्न नसकिएको जानकारी दिनुभयो । ‘नयाँ डिजाइन गत चैतमा स्वीकृत भएको हो । अहिलेसम्म भेरिएसन भएको छैन । भेरिएसनका लागि पटकपटक ताकेता गर्दा पनि हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

इन्जिनियर पाण्डेले समयमा भेरिएसन नहुँदा महाकाली नदीमा बाढीले ठूलो नोक्सान हुनसक्ने बताउनु भयो । नयाँ डिजाइनको भेरिएसन नहुँदा स्वीकृत हुने बित्तिकै हुने आशामा गाइडबन्डको काम गरिएको तर महाकालीको बाढीले गाइडबन्ड बगाएपछि अहिले क्षतिपूर्ति समेत नपाउने अवस्था आएको गुनासो उहाँले गर्नुभयो ।

पहुँचमार्गको गड्डाचौकी क्षेत्रमा पनि दुई सय मिटर कालोपत्रको काम बाँकी छ । दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पक्की पुललाई हेरिएको छ । पक्की पुल निर्माण गत वर्ष सकिए पनि पुलसँगैका अन्य संरचना निर्माण हुन बाँकी रहेका छन ।