जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार ०९:०१

राष्ट्रिय युवा संघ नेपालले तेजबहादुरलाई बनाइदियो चिटिक्क परेको घर 


काठमाडौं । इलामको देउमाई नगरपालिका–३ का तेजबहादुर राईको चिटिक्क परेको घरमा बस्ने रहर पुरानै हो ।

रहर गरेर मात्र के गर्नु, घर बनाउने सामर्थ्य नभएपछि । आर्थिक विपन्नताको अगाडि उहाँको राम्रो घर भित्र बस्ने रहर सपनामा नै सीमित थियो । मनमा नै कुण्ठित भएर बसेको थियो ।

राईको सपना साकार पार्न सहयोगी बनेर राष्ट्रिय युवा संघ नेपाल इलामको देउमाई नगर कमिटी निस्कियो । सो कमिटीले रचनात्मक तथा सामाजिक कार्यक्रमको उद्देश्य अनुसार  तेजबहादुरलाई घर बनाइदिने निर्णय गर्‍यो । यो निर्णयले तेजबहादुर यति खुसी हुनुभएन ।

हेर्दा हेर्दै तेजबहादुरको सपनाको घर ठडियो । राष्ट्रिय युवा संघ नेपालका युवाहरूले तेजबहादुरको लागि चिटिक्क परेको घर ठड्याइदिए । देउमाई नगरपालिका क्षेत्र भित्रका अति विपन्न परिवारलाई आवास निर्माण कार्यक्रम अन्तर्गत तेजबहादुरको घर बनेको हो । मदन–आश्रित स्मृति दिवसको अवसर पारेर राईको घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष विशाल राईको अध्यक्षता तथा देउमाई नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घर हस्तान्तरण गरिएको हो ।

हेर्दा हेर्दै चिटिक्क परेको घर बनेपछि तेजबहादुरको मनमा कम कम्ता खुसी छैन । घर बनेपछि आफ्नो एउटा चिन्ता समाप्त भएको उहाँले बताउनुभयो ।