जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १८:१७

छठपछि सशक्त आन्दोलन हुने एमाले सचिव बस्नेतको दाबी


काठमाडौं, असोज ८ । नेकपा एमालेका सचिव महेश बस्नेतले दशैँ, तिहार र छठपछि देशव्यापी रूपमा सशक्त आन्दोलन अघि बढ्ने दाबी गर्नुभएको छ।

एमालेको केन्द्रीय कमिटी बैठकस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले मधेसदेखि देशका सबै भूभागबाट एमालेसहित अन्य दलको सहभागितामा आन्दोलन अघि बढ्ने बताउनुभयो। उहाँले उक्त आन्दोलनबाट बालेन्द्र शाह नेतृत्वको सरकार पराजित हुने दाबी गर्नुभयो।

“दशैँ, तिहार र छठपछाडि मधेसदेखि लिएर देशका सबै भूभागका एमालेलगायतका अन्य सबै दल सहभागी भएर एउटा सशक्त आन्दोलन अगाडि बढ्छ,” उहाँले भन्नुभयो, “र, बालेन सरकार धेरै हदसम्म हरिविजोग भएर पराजित हुन्छ।”

पाँच–छ महिनामै बालेन नेतृत्वको सरकारको वास्तविकता जनतासामु स्पष्ट भइसकेको उहाँको दाबी छ। जनतामा फैलिएका भ्रमसमेत निवारण हुँदै गएको उहाँले बताउनुभयो।

बस्नेतले जनताका बीचमा एमाले आलोचना र आशाको केन्द्रमा रहेको दाबीसमेत गर्नुभयो।