जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १५:४२

‘पीआर होल्डर’लाई जापानको राजदूत नियुक्त गरिएको सांसद शाहको आरोप


काठमाडौं, असोज ८ । सांसद मदनकुमारी शाह ‘गरिमा’ले सरकारले कूटनीतिक नियुक्तिमा खेलाँची गरेको आरोप लगाउँदै जापानका लागि प्रस्तावित नेपाली राजदूत विज्ञानकुमार थापाको स्थायी बसोबास अनुमतिबारे सरकारसँग जवाफ माग गर्नुभएको छ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद शाहले जापानका लागि सिफारिस गरिएका थापा र उहाँको परिवारको जापानमा स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय सार्वजनिक भएको भन्दै प्रश्न उठाउनुभएको हो।

कुनै व्यक्तिले स्थायी बसोबास अनुमति लिएको देशमै उसलाई नेपालको राजदूत नियुक्त गर्नु कति उपयुक्त हुन्छ भन्ने प्रश्न उहाँले गर्नुभयो।

“समाचारमा आएअनुसार जापानका लागि नियुक्त राजदूत र उहाँको परिवारको जापानको पीआर रहेको भन्ने छ,” उहाँले भन्नुभयो, “जुन देशमा कुनै व्यक्तिले स्थायी बसोबास अनुमति लिएको छ, त्यही देशमा उसलाई नेपालको राजदूत नियुक्ति गर्नु कति उपयुक्त हुन्छ ?”

उक्त विषय सत्य भए त्यस्तो व्यक्तिले नेपालको हितमा काम गर्नेमा प्रश्न उठ्ने उहाँले बताउनुभयो। उहाँले राजदूतको व्यक्तिगत स्वार्थ र देशको हितबीच द्वन्द्व हुन सक्ने भन्दै सरकारको पारदर्शिता र सुशासनमाथि समेत प्रश्न गर्नुभयो।

“त्यस्तो व्यक्तिले देशको हित गर्छ ? उसले आफ्नो स्वार्थमा काम गर्ने सम्भावना रहँदैन ? के यसबाट सुशासन कायम हुन्छ ?,” उहाँले प्रश्न गर्नुभयो।