काठमाडौं, असोज ८। नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी सदस्यहरू मनोनीत गरेको छ। बैठकले पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ।
बैठकले सात जना स्थायी कमिटी सदस्यसमेत चयन गरेको छ। स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन हुनुभएको छ।
त्यस्तै, बैठकले पार्टीमा समायोजन हुनुभएका विभिन्न नेताहरूलाई समेत केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।
बैठक समापन गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टी रहेको कुरा तेस्रो केन्द्रीय कमिटी बैठकमा समेत प्रकट भएको बताउनुभएको छ। उहाँले बैठकमा सहभागी सबै केन्द्रीय कमिटी सदस्यहरूप्रति आभार व्यक्त गर्नुभएको छ।
केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद् गठन, विभागहरूको गठन तथा ज्येष्ठ कम्युनिष्ट मञ्च गठनलगायतका बाँकी काम सचिवालय बैठकबाट निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको छ।
बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। बाढीबाट विस्थापित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई केन्द्रमा राखेर तत्काल पुनःस्थापनाको काम अघि बढाउनुपर्ने बैठकको माग छ।
यसैगरी बैठकले सरकारको कार्यशैली, भदौ २३ र २४ गतेका घटनाको छानबिन, सुकुम्बासी बस्ती विस्थापन, मानव अधिकार तथा सञ्चारमाध्यमको स्वतन्त्रतासहितका विषयमा विभिन्न धारणा सार्वजनिक गरेको छ। बैठकले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ।
बैठकले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुन सक्ने स्पष्ट गर्दै संविधानका आधारभूत संरचना र स्तम्भको संरक्षणका लागि दृढतापूर्वक उभिने संकल्पसमेत गरेको छ। साथै, महँगी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति तथा करसम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।
बैठकले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको जगेर्ना तथा जनताका हितका विषयमा सार्थक संवाद, सहकार्य र एकताका लागि लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, नागरिक तथा बौद्धिक समुदायमा आह्वान गरेको छ।
एमालेले प्रवासी नेपालीलाई नेपालको लोकतन्त्र र राष्ट्र निर्माणका साझेदारका रूपमा सम्मान गर्दै उनीहरूका मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षालगायतका सरोकार सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाएको छ।
बैठकले पार्टीको आन्तरिक एकता सुदृढ गर्न, पार्टी पुनर्जागरण तथा सुदृढीकरणका ठोस योजना निर्माण गर्न बैठक महत्वपूर्ण रहेको निष्कर्ष निकालेको छ। विगतका कमी–कमजोरीको समीक्षा गर्दै सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरिएको र बैठकपछि कतिपय असमझदारी तथा अस्वस्थता अन्त्य भई पार्टी भावनात्मक रूपमा थप एकजुट भएको एमालेले जनाएको छ।
बैठकले आगामी दिनमा लोकतन्त्रको रक्षा तथा निर्वाचनको तयारीसम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन समग्र पार्टी पंक्तिलाई आह्वान गरेको छ।












प्रतिक्रिया दिनुहोस्