जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १५:५३

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की


काठमाडौं, असोज ८ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिकलाई लडाकुका रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभएको छ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उहाँले घाना, नेपाल, भारतलगायत विभिन्न देशका नागरिक रुसी पक्षबाट युक्रेनविरुद्धको युद्धमा संलग्न रहेको बताउनुभयो।

जेलेन्स्कीले रुससँग सैन्य सहकार्य गरिरहेको उत्तर कोरियाका दुई सैनिकलाई युक्रेनले पक्राउ गरी दक्षिण कोरिया पठाएको जानकारीसमेत दिनुभयो। उहाँका अनुसार ती सैनिक सन् २०२५ मा रुसको कुर्स्क क्षेत्रमा पक्राउ परेका थिए।

दक्षिण कोरियाको विदेश मन्त्रालयले भने ती सैनिकलाई युक्रेनबाट दक्षिण कोरिया पठाइएको विषयमा प्रत्यक्ष पुष्टि गरेको छैन। मन्त्रालयले युक्रेन तथा सम्बन्धित पक्षसँग अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तअनुसार विषय टुंग्याउन परामर्श भइरहेको जनाएको छ।

रुस र उत्तर कोरियाले सन् २०२५ अप्रिलमा आफ्ना सैनिकले कुर्स्क क्षेत्रमा युक्रेनविरुद्ध सँगै लडेको पुष्टि गरेका थिए। दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाले सन् २०२४ अक्टोबरदेखि रुसमा करिब १५ हजार सैनिक पठाएको थियो। तीमध्ये करिब दुई हजारको मृत्यु भएको अनुमान गरिएको छ।

यसैबीच, जेलेन्स्कीले फिनल्यान्ड र अस्ट्रेलियालगायत साझेदारसँग ड्रोन तथा सुरक्षा सहकार्य विस्तार भइरहेको बताउनुभयो। क्यानडासँग पनि ड्रोनसम्बन्धी सम्झौताको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

आगामी हिउँदमा रुसी ताप तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्ने चेतावनी दिँदै उहाँले रुसले युक्रेनका नागरिक ताप तथा इन्धन पूर्वाधारमा आक्रमण गर्दै आएको दाबी गर्नुभयो।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनलाई एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न वासिङ्टनले दबाब दिइरहेको बताएको केही घण्टापछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो।

जेलेन्स्कीले युक्रेनको उद्देश्य रुसको पेट्रोल तथा डिजेल आपूर्ति पूर्ण रूपमा नष्ट गर्नु नभई युद्धका लागि आवश्यक आम्दानीको प्रमुख स्रोतमा असर पार्नु रहेको बताउनुभयो। रुससँगको व्यापारबाट प्राप्त आम्दानीले युद्ध लम्बिन सक्ने दाबी गर्दै उहाँले व्यापार सीमित गर्नसमेत आग्रह गर्नुभयो।