जनता टाइम्स

८ कार्तिक २०७६, शुक्रबार २३:०६

पार्टी एकतालाई लिएर प्रचण्डले नै माफी मागेपछि..


मोरङ, कात्रिक ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले समयमै पार्टी एकताको काम टुंगो लगाउन नसकेकोमा कार्यकर्तासामू माफी माग्नुभएको छ । नेकपा मोरङले सवै चाडपर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम अध्यक्ष प्रचण्डले माफी माग्नुभएको हो ।

पार्टी एकताको काम सोचेजस्तो अघि बढन सकेन, तीन महिनामा एकता टुंग्याउने घोषणा गरिएको थियो तर १७ महिना बितिसक्दा पनि टुंगिए, यसमा नेतृत्वले नै जिम्मा लिनुपर्छ, प्रचण्डले भन्नुभयो । कार्यक्रममा उहाँले आफू ओरिजिनल माओवादी नभएको बताउनु भयो । तत्कालीन एमाले र एकता केन्द्रबीच एकताको प्रसंग निकाल्दै प्रचण्डले भन्नुभयो, ‘म पनि ओरिजिनल मसाल र ओरिजिनल माओवादी होइन, चौथो अधिवेशनको मदन भण्डारी हो भन्न पनि चाहँदिनँ ।’

अध्यक्ष प्रचण्डले एकताको कुरा नटुंगिँदै भण्डारीको हत्या भएको बताउनुभयो । ‘०४६ सालमा तत्कालीन एमाले र एकता केन्द्रलाई मिलाउन मदन भण्डारीसँग छलफल भएको थियो,’ उहाँले भन्नुभयो, ‘पछि हामीले एकीकरणकै एजेन्डा बनाएर छलफल मिति, कार्यक्रम तय गरी खानेकुराको लिस्टसमेत बनाएका थियौं तर दुर्भाग्य उहाँको हत्या भयो र एकता हुन सकेन । एकता भएको भए देशलाई १००र५० वर्षअगाडि ल्याउन सकिन्थ्यो ।’ उहाँले एकतालाई अव निश्कर्ष दिने घोषणा पनि गर्नुभयो ।

‘एकता अन्तिम चरणमा पुगेकाले अब एक दिन अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग ३ ४ घण्टा लगातार छलफलमा बसेपछि निष्कर्षमा पुग्छौं,’ प्रचण्डले भन्नुभयो, ‘क्षणिक स्वार्थ, समूहको स्वार्थ, व्यक्तिको चाहनामा नभई कार्यकर्ताको चाहना, जनताको चाहना, राष्ट्रिय र ऐतिहासिक आवश्यकताका आधारमा एकता भएकाले झिनामसिना कुरालाई थाती राखेर टुंग्याउनुको विकल्प छैन ।’

जितहारको राम्रो अनुभव गरेका दुई पार्टीबीच विचार मिलेर एकता भएकाले यसलाई आँखाको नानीजस्तो माया गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘नपत्याउँदो किसिमले ०६४ सालमा जित्दा कसरी धर्ती छाडिँदो रहेछ र अहंकार कसरी आउँदो रहेछ भन्ने राम्रो अनुभव भइसकेको छ, पूर्वएमालेका साथीहरूलाई पनि ०६४ मा नराम्रो तरिकाले हार्दाको अनुभव छ,’ प्रचण्डले भन्नुभयो, ‘०७० सम्म आउँदा माओवादी कमजोर भएको र अहिले अपत्यारिलो किसिमले झन्डै दुई तिहाइ जनमत प्राप्त गरेको अनुभवसहित पार्टी एकता भएको छ ।’

उहाँले २१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवाद दुवै एउटै भएको बताउनुभयो । मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई नेकपाको पुँजी बनाएर अहिलेको राजनीतिक प्रतिवेदन आएको प्रचण्डको भनाई थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले पार्टी पद्धतिमा चल्न सक्यो भने कसैले पनि पराजित गर्न नसक्ने बताउनुभयो । विचार, सङ्गठन, भावना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा पार्टी एकीकरण भएको चर्चा गर्दै उहाँले पार्टी एकीकरणले देश र देश बाहिर पनि उत्साह बढाएको छ भन्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण दिँदै अध्यक्ष दाहालले आन्तरिक एकता र अनुशासनले नै देश विकसित भएको चर्चा गर्नुभयो । उहाँले नेताहरुलाई फुटाउन चलखेल नभएका होइनन् भन्दै एकतालाई सुदृढ र रक्षा गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आँखाको नानी जस्तै एकतालाई बचाउनुपर्ने र समाजवादका आधारमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले जीत र हारको अवस्था के हुन्छ भन्ने विगतका दिनलाई सम्झन आग्रह गर्दै पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र विकसित हुँदै गएको छ भन्नुभयो । चीनमा पार्टी विरोधी क्रियाकलाप गर्नेलाई पार्टीबाट निष्काशन गर्ने गरेको इतिहास कोट्याउँदै अध्यक्ष दाहालले विचार मिलेर भएको एकीकरणले पार्टी शान्ति, प्रतिस्पर्धा र समाजवादको बाटोमा हिँड्ने विश्वास व्यक्त गर्नुभयो ।