जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार १२:१९

भीम आचार्यको सरकारलाई सुझाव : राजश्वका नयाँ क्षेत्र खोजौँ, उत्पादनको काममा लगानी बढाऔँ 


काठमाडौं, ४ जेठ। प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले वर्तमान सरकार समक्ष देशको ढुकुटी ऋणात्मक अवस्थामा रहेको चुनौतीपूर्ण अवस्था रहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै राजश्व सङ्कटको कारण सामान्य खर्च समेत धान्न धौ धौ अवस्था रहेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली नयाँ सोचका साथ देश निर्माणको काममा जुट्नु भएको उहाँले बताउनुभयो ।

सरकारले अब राजश्वका नयाँ स्रोत खोज्नु पर्ने उहाँले बताउनुभयो । जसका लागि सीमा नाकामा कडाइ गर्नुपर्ने, बिजक घटाएर ल्याइएका सामानको पुनर्मुल्याङ्कन गर्नुपर्ने, खनिजजन्य बस्तुको उत्खनन, सङ्कलन, प्रशोधनको काममा जोड दिन उहाँले सुझाव दिनुभयो । त्यस्तै उत्पादनमूलक काममा सरकारको लगानी केन्द्रित गर्नुपर्ने उहाँको धारणा छ ।

यसै गरी स्थानीय मदिरालाई करको दायरामा ल्याई उत्पादनमा प्रोत्साहन गर्नुपर्ने र विदेशी मदिरामा करको दायरा बढाउन उहाँको सुझाव छ । त्यस्तै सुद्ध पानी उत्पादन गरी निर्यात व्यापार गर्न उहाँले सुझाव दिनुभएको छ ।

आचार्यले प्रतिफलयोग्य आयोजनामा मात्र विदेशी ऋण लिन पनि सरकारलाई सुझाव दिनुभएको छ । स्नातक तहसम्मको अध्ययनको लागि विदेश जाने कुरालाई निरुत्साहित गर्नु पर्ने उहाँको सुझाव छ ।

उहाँले अनावश्यक खर्च कटौती गर्न पनि सरकारलाई सुझाव दिनुभएको छ । सामाजिक सुरक्षा भत्ता पाउने उमेरलाई ८० वर्ष पुर्‍याउन उहाँको सुझाव छ ।

निर्माणाधीन विकासका आयोजनालाई पुरा गर्न जोड दिनु पर्ने उहाँको धारणा छ । सांसदहरूको सिफारिस बाहेकका साना आयोजना सबै रोक्नु पर्ने आचार्यले सुझाव दिनुभएको छ ।
प्रमुख रणनीतिक सडक र पर्यटकीय सडक निर्माणमा जोड दिनुपर्ने, पर्यटन र आइटी क्षेत्रमा लगानी बढाउनु पर्ने उहाँको सुझाव छ ।

प्रत्येक प्रदेशमा एउटा अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउनु पर्ने उहाँको सुझाव छ । त्यस्तै खोज, अनुसन्धान र नवप्रवर्धनमा जोड दिनु पर्ने उहाँको धारणा छ
देशमा सहकारीको समस्या ठुलो समस्याको रूपमा रहेको बताउँदै उहाँले मानिसहरूलाई जेलमा राखेर समस्या समाधान नहुने उहाँको धारणा छ । कसैले ६ महिना भित्र सबै पीडितको रकम फिर्ता गर्छ भने उनीहरूलाई जेलमुक्त गर्नुपर्ने उहाँको सुझाव छ ।

सांसदहरूका सिफारिसका योजनामा नीति बनाएर बजेट व्यवस्थापन गर्नुपर्ने उहाँको सुझाव छ । सांसदहरूले जनताको समस्यामा केन्द्रित रहेर योजना ल्याउने भएकोले त्यसलाई सम्बोधन गर्नुपर्ने उहाँको सुझाव छ ।

त्यस्तै सुक्खा व्यवस्थापन गर्नको लागि रिचार्जेबल पोखर बनाउनु पर्ने उहाँको सुझाव छ । यसले जमिनलाई रिचार्ज गर्ने भएकोले यस्ता ठुला ठुला पोखरी बनाउनु पर्ने उहाँको धारणा छ ।