जनता टाइम्स

४ जेष्ठ २०८२, आईतवार १३:१८

शान्ति सुरक्षा र नागरिक केन्द्रित सेवा प्रवाहमा कुनै सम्झौता नगर्नु : प्रहरी महानिरीक्षक दीपक थापा 


काठमाडौं, ४ जेठ । प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सुरक्षा र नागरिक केन्द्रित सेवा प्रवाहमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

आइतबार नेपाल पुलिस क्लबमा आयोजित काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयवस्तुमा निर्देशन सम्बोधन गर्दै थापाले प्रहरी संगठनले सधैँ जबाफदेही भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा, नागरिक केन्द्रित सेवा प्रवाह÷ समन्वय तथा सहकार्य, व्यावसायिक कार्यशैली, आन्तरिक शुद्धीकरण तथा संगठनको सुदृढीकरण, उत्तरदायी तथा जबाफदेही प्रहरी सेवा संगठनको प्राथमिकता रहेको बताउनुभयो । ‘यसमा एकरत्ति पनि सम्झौता हुँदैन’, उहाँले भन्नुभयो ।

संगठनको नीति, निर्देशन र प्राथमिकतालाई व्यावसायिक निष्ठाका साथ सम्पादन गर्न पनि उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरी अनुशासित संगठन भएकोले सोही अनुसार काम गर्न उहाँले आग्रह गर्नुभयो ।

जेठ १५ बाट राजावादीहरूले आन्दोलनको घोषणा गरेको अवस्थामा विगतको जस्तो घटना दोहोरिन नदिन सतर्क हुन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले राजावादीले गर्न लागेको प्रदर्शनका लागि हाई अलर्ट भएर बस्न पनि निर्देशन दिनुभयो ।