काठमाडौं, असोज १०। हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा २४ घण्टामा भएको वर्षाले ४८ वर्ष पुरानो उच्च वर्षाको रेकर्ड तोडेको छ।
मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलका अनुसार असोज ९ गते बिहान ८ः४५ बजेदेखि असोज १० गते बिहान ८ः४५ बजेसम्म सिमिकोटमा ११४.८ मिलिमिटर वर्षा मापन भएको छ।
कार्यालयको अभिलेखअनुसार सन् १९७८ जुन १ देखि सन् २०२६ सेप्टेम्बर २६ सम्मको २४ घण्टे अवधिमा सिमिकोटमा भएको यो सबैभन्दा धेरै वर्षा हो।
यसअघि सिमिकोटमा १९ अक्टोबर २०२१ मा २४ घण्टामा ११० मिलिमिटर वर्षा भएको थियो। उक्त वर्षालाई अहिलेसम्मकै उच्च वर्षाको रेकर्ड मानिएको थियो। यसपटक ११४.८ मिलिमिटर वर्षा भएपछि उक्त रेकर्ड तोडिएको हो।
डा. कडेलले यसपटक सिमिकोटमा २४ घण्टे अवधिको वर्षाले पुराना सबै रेकर्ड तोडेको बताउनुभयो। समुद्री सतहबाट २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा यसअघि पनि २४ घण्टामा ९० मिलिमिटरभन्दा बढी वर्षा भएका घटना छन्। अभिलेखअनुसार सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२.८ मिलिमिटर, सन् २००० जुन ८ मा ९०.४ मिलिमिटर र सन् २०२१ अक्टोबर १९ मा ११० मिलिमिटर वर्षा भएको थियो। त्यस्तै, सन् २०१७ मे ३ मा ८४ मिलिमिटर वर्षा भएको अभिलेख छ।
४८ वर्षको दीर्घकालीन अभिलेखअनुसार सिमिकोटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा दुई दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा सात दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा १३ दिन भएको छ।












प्रतिक्रिया दिनुहोस्