जनता टाइम्स

१० आश्विन २०८३, शनिबार २१:२५

अमेरिका पुगेर पनि राष्ट्रसंघ महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति सी?


काठमाडौं, असोज १० । चिनियाँ राष्ट्रपति सी जिनपिङ संयुक्त राज्य अमेरिका पुगे पनि संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुनुभएन । सेप्टेम्बर २३ मा अमेरिका पुग्नुभएका राष्ट्रपति सीको सट्टा चीनका उपराष्ट्रपति हान झेङले न्यूयोर्कमा जारी महासभामा चीनको प्रतिनिधित्व गरिरहनुभएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनका अनुसार उपराष्ट्रपति हानले चीनले आयोजना गरेको ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’को पाँचौँ वार्षिकोत्सवका अवसरमा हुने उच्चस्तरीय संवादमा सहभागिता जनाउनुहुनेछ । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव, महासभाका अध्यक्ष तथा विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति सीको महासभा अनुपस्थितिलाई भने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनको कूटनीतिक प्राथमिकता र अमेरिका–चीन सम्बन्धसँग जोडेर विश्लेषण गरेका छन् ।

सी सन् २०१२ को अन्त्यमा चीनको शीर्ष नेतृत्वमा आएपछि व्यक्तिगत रूपमा महासभामा एकपटक मात्र सहभागी हुनुभएको छ । उहाँ सन् २०१५ मा संयुक्त राष्ट्रसंघको ७०औँ वार्षिकोत्सवका अवसरमा न्यूयोर्क पुगेर महासभालाई सम्बोधन गर्नुभएको थियो । सन् २०२१ मा भने उहाँले भिडियोमार्फत महासभालाई सम्बोधन गर्नुभएको थियो ।

‘द डिप्लोम्याट’ले सीको अनुपस्थितिलाई चीनको कूटनीतिक प्राथमिकतासँग जोडेर विश्लेषण गरेको छ । जापानी सञ्चारमाध्यम ‘निक्केई एसिया’ले भने सी सुरुमा महासभामा सहभागी हुने योजनामा रहेको तर पछि भ्रमणको कार्यक्रम परिवर्तन भएको जनाएको छ ।

निक्केई एसियाले चिनियाँ सरकारसँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै चीनले अमेरिका र चीनलाई बराबरीको हैसियतमा रहेको सन्देश दिनुलाई प्राथमिकता दिएको उल्लेख गरेको छ । यद्यपि राष्ट्रपति सीको महासभा भ्रमण रद्द गर्नुको औपचारिक कारण चीनले सार्वजनिक गरेको छैन ।

सीको अनुपस्थितिलाई संयुक्त राष्ट्रसंघको भूमिकासँग पनि जोडेर विश्लेषण गरिएको छ । ‘द न्यूयोर्क टाइम्स’ले विश्वका ठूला शक्तिहरूले संयुक्त राष्ट्रसंघलाई बेवास्ता गर्ने क्रम बढ्दा संस्थाको प्रभाव कमजोर हुँदै गएको विश्लेषण गरेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य अमेरिका, चीन र रुसबीच विभिन्न अन्तर्राष्ट्रिय संकटका विषयमा मतभेद रहँदै आएको छ । इरान, युक्रेन, गाजा, यमनलगायतका विषयमा स्थायी सदस्यबीचको मतभेदका कारण सुरक्षा परिषद्ले प्रभावकारी निर्णय लिन कठिनाइ भइरहेको विश्लेषण हुँदै आएको छ ।

तर चीनले भने संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय व्यवस्थाको केन्द्रका रूपमा महत्व दिँदै आएको छ । चीनले सन् २०२६ जुनमा सार्वजनिक गरेको विश्वव्यापी शासनसम्बन्धी श्वेतपत्रमा पनि संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय व्यवस्थाको केन्द्रका रूपमा उल्लेख गरेको थियो ।

राष्ट्रपति सीको महासभा अनुपस्थितिको वास्तविक कारणबारे चीनले औपचारिक रूपमा विस्तृत जानकारी नदिएकाले सञ्चारमाध्यममा आएका कूटनीतिक प्राथमिकता र रणनीतिसम्बन्धी व्याख्याहरूलाई विश्लेषणका रूपमा मात्र लिनुपर्ने देखिन्छ ।