काठमाडौं, असोज १० । नेपाली कांग्रेसको संस्थापन इतर समूहले संस्थापन पक्षसँग सहमति जुट्न नसकेपछि छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ ।
शशांक कोइरालाको नेतृत्वमा काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्दै समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिरमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जनाएको छ ।
शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समूहका नेताहरूले पार्टीभित्र एकताको प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि वैकल्पिक रूपमा महाधिवेशनको तयारी अघि बढाउनुपरेको बताएका छन् ।
समूहका संयोजक शशांक कोइरालाले आगामी महाधिवेशन कांग्रेसका लागि ‘परीक्षाको समय’ भएको बताउनुभयो । महाधिवेशनले पार्टीको आगामी बाटो तय गर्ने भएकाले गम्भीरतापूर्वक अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
कोइरालाले सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको बताउँदै ‘सबै साथ हिँड्न’ आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस विचार र इतिहास बोकेको पार्टी भएकाले नयाँ जोश र ऊर्जाका साथ अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेता प्रकाशशरण महतले एकताको महाधिवेशन गराउने उद्देश्यले संस्थापन पक्षसँग संवादको प्रयास गरिए पनि सहमति जुट्न नसकेको बताउनुभयो ।
सबै पक्षलाई समेट्ने उद्देश्यले संवादका लागि ढोका खुला राखिएको भए पनि त्यसबाट निकास ननिस्किएपछि आपत्कालीन रूपमा महाधिवेशनको तयारी अघि बढाउनुपरेको उहाँले बताउनुभयो ।
समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्