जनता टाइम्स

१० आश्विन २०८३, शनिबार २१:१७

अविरल वर्षाले देशभर बाढी–पहिरोको जोखिम, बागलुङमा एक जनाको मृत्यु


काठमाडौं, असोज १० । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न ठाउँमा लगातार वर्षा हुँदा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । वर्षाका कारण बागलुङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा बस्ती डुबानमा पर्नुका साथै सडक तथा भौतिक संरचनामा क्षति पुगेको छ ।

लगातारको वर्षापछि बागलुङको ताराखोला गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको छ ।

नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ जलमग्न भएपछि सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ । पूर्वी नवलपरासीको कावासोतीस्थित अमलटारी क्षेत्रमा पनि नारायणी नदीको बाढी पस्दा दर्जनौँ घर डुबानमा परेका छन् ।

गण्डक ब्यारेजमा पानीको बहाव ३ लाख ७६ हजार ८०० क्युसेक पुगेपछि खतराको तह नजिक पुगेको छ । जोखिम बढेपछि ब्यारेजका सबै ढोका खोलिएको जनाइएको छ ।

सप्तरीको तिलाठी कोइलाडीमा कोशी नदीको बाढी बस्तीमा पसेपछि १७ घरपरिवार विस्थापित भएका छन् । उनीहरू कोशी बाँधमा आश्रय लिएर बसेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि गुल्मीको रिडीका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

वर्षाका कारण गोरखाको सहिद लखन गाउँपालिकास्थित राइनस बजार नजिकै पहिरो खस्दा २५ घरधुरी उच्च जोखिममा परेका छन् । कास्कीको घान्द्रुकमा रहेको प्रहरी चौकीको भवनमा पनि पहिरोले क्षति पुर्‍याएको छ ।

सुर्खेतमा रुख तथा बिजुलीका पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको छ । सुब्बाकुना–रामघाट र लम्की–बाबियाचौर ३३ केभी प्रसारण लाइनमा ठूलो क्षति पुगेकाले तत्काल विद्युत् सेवा सुचारु गर्न नसकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

मौसम विज्ञान विभागका अनुसार न्यून चापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा क्रमशः कम हुँदै गए पनि पश्चिम नेपालमा भने भोलिसम्म कायमै रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा भोलि दिउँसोसम्म मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद् रोजन लामिछानेले पूर्वी तथा पश्चिम दुवै क्षेत्रमा बाढी र पहिरोको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्नुभएको छ । यात्रा गर्नैपर्ने अवस्था भए प्रहरीसँग बाटोको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न उहाँले सुझाव दिनुभएको छ ।

सोमबारदेखि भने देशभर मौसममा सुधार आउने पूर्वानुमान रहेकाले त्यसपछि मात्र नियमित काम तथा कृषि गतिविधिका योजना बनाउन सुझाव दिइएको छ ।