जनता टाइम्स

१० आश्विन २०८३, शनिबार २१:२०

तीन दिनदेखि वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित


काठमाडौं, असोज १० । तीन दिनदेखि लगातार वर्षा गराइरहेको मौसमी प्रणाली अहिले देशको मध्य तथा पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित पश्चिमतर्फका केही क्षेत्रमा अहिले वर्षा भइरहेको छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुसलधारेदेखि अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वी नेपालमा वर्षाको जोखिम घट्दै गएको छ भने पश्चिमी क्षेत्रमा भने भोलिसम्म जोखिम कायमै रहनेछ ।

यसैबीच वर्षासँगै विभिन्न प्रदेशमा ठूलो हावाहुरीसमेत चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा ठूलो हावा चलिरहेको छ ।

भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रका कारण आज राति पनि ती प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि दिउँसोसमेत ठूलो हावा चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पर्सिदेखि देशभरको मौसममा क्रमिक सुधार आउने पूर्वानुमान गरिएको छ । यद्यपि मनसुन अझै सक्रिय रहेकाले जुनसुकै स्थानमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने र लगातारको वर्षाका कारण जमिन भिजेको अवस्थामा रहेकाले केही दिन थप सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिनुभएको छ ।