जनता टाइम्स

१० आश्विन २०८३, शनिबार २०:१५

एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले कतार प्रस्थान


काठमाडौं, असोज १०। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार कतार प्रस्थान गर्नुभएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको हो। उहाँ कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे दोहा प्रस्थान गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार प्रतिनिधिमण्डलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्छ।

एआईआईबीको ११औँ वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउनुहुनेछ। सो क्रममा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग र लगानी परिचालनका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।

वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय भेटवार्ता सम्पन्न गरी अर्थमन्त्री वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी असोज १४ गते (३० सेप्टेम्बर २०२६) बुधबार कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किनेछ।