काठमाडौं, ११ जेठ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा नियमित रुपमा भइरहेको अवैध धन्दाको विषयलाई लिएर सत्तारुढ नेपाली कांग्रेसभित्र चर्काे विवाद सिर्जना भएको छ । विवाद बढ्दै जान थालेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ ।
भिजिट भिसा काण्डमा गृह मन्त्री रमेश लेखककै नाम आएपछि कांग्रेसमा ‘तत्काल राजीनामा दिनुपर्ने र राजीनामा दिन नपर्ने’ भन्ने दुई धार देखिएको छ । भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकको नाम जोडिएपछि उहाँले राजीनामा दिनुपर्ने र उहाँलाई जोगाउनु पर्ने विषयमा नेपाली कांग्रेसभित्र टकराब देखिएको हो ।
कांग्रेसका संस्थापन इतरपक्षका नेताहरू भ्रष्टाचारको आरोप लागेकोले गृह मन्त्रीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका छन् भने संस्थापन पक्षका नेताहरू जोगाउन लागेका छन् ।
सो प्रकरणमा लेखकको नाम जोडिएको समाचार आउने बित्तिकै पार्टी नेता डा. शेखर कोइरालाले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिनुभयो ।कोइरालाले राजीनामा दिएर अनुसन्धानको काममा सघाउन गृह मन्त्री लेखकलाई सुझाउनु भएको छ ।
कांग्रेस सांसद राजेन्द्र बजगाईंले कांग्रेस सभापति देउवालाई पत्र नै लेखेर भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ । पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्नुपर्ने बजगाईंले सुझाव दिनुभएको छ ।
बजगाईंले गृह मन्त्री लेखकसँगै पर्यटन मन्त्री बद्री पाण्डेलाई पनि बर्खास्त गरेर पार्टीको साख जोगाउन सुझाव दिनुभएको छ । उहाँ लगातार रुपमा पर्यटन मन्त्री पाण्डेबिरुद्ध खनिदै आउनु भएको छ ।
पार्टीका पूर्वमन्त्री कृष्णप्रसाद सिटौला भने लेखकको बचाउमा उभिनु भएको छ । कुनै पनि कार्यालयको कर्मचारीले गल्ती गर्छ भने ऊ नै जिम्मेवार हुनु पर्ने उहाँको धारणा छ । कर्मचारीले गल्ती गर्दा कार्यालय प्रमुखले वा मन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कुरा गलत हुने सिटौलाले बताउनु भएको छ । यसो गर्ने हो भने देश नचल्ने निश्कर्ष पनि उहाँको छ । अध्यागमन विभागको कर्मचारी माथि आरोप लाग्दैमा मन्त्रीले राजीनामा दिनु नपर्ने उहाँको धारणा छ ।
सो घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो । घटनाको अख्तियार अनुसन्धान आयोगले छानबिन गरिरहेकोले सत्य तथ्य बाहिर आउने सिटौलाले विश्वास व्यक्त गर्नुभयो ।
यता, राज्य ब्यवस्थासमितिका सभापति रामहरि खतिवडा गृह मन्त्रीलाई संसदमा स्पष्टीकरण दिने मौका दिनुपर्ने बताउनुहुन्छ । तर सो घटनामा गृह मन्त्री जोडिएको हो भने उहाँलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने खतिवडाको भनाई छ ।
सो विषयमा श्रम मन्त्रीको पनि नाम जोडिएकोले श्रममन्त्री शरदसिंह भण्डारीले पनि संसदमा जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । भण्डारीको पनि संलग्नता देखिए उहाँलाई पनि कारबाही हुनुपर्ने खतिवडाको भनाइ छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमानस्थल अध्यागमन कार्यालयमा छापा मारी प्रमुखलाई नै पक्राउ गरेपछि गृह मन्त्री लेखकको नाम जोडिएको हो । अध्यामगन प्रमुख सहसचिव तीर्थराज भट्टराईले गृह मन्त्री लेखकलाई मासिक ५० लाख रकम बुझाउन सेटिङमा भिजिट भिसाको काम गरिएको बयान दिएको सूचना बाहिर आएपछि उहाँमाथि राजीनामाको दवाव परेको छ ।
कांग्रेसभित्र मात्र नभइ सबैतिर बहस र आलोचनाको विषय बनेको भिजिट भिसा काण्ड र गृह मन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने र नपर्ने भन्ने विषयमा बहस चल्दा कांग्रैसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने कानमा तेल हालेर मुखमा चावी लगाउनु भएको छ । संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित हुने बेला सगरमाथा बेसक्याम्प र बेलायततिर हानिनु भएका महामन्त्री थापा र शर्मा भिजिट भिसाा काण्डमा पनि बेपत्ताजस्तै हुनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई र गृह मन्त्री रमेश लेखकको सचिवालयका कर्मचारीको नियमित सम्पर्क र समन्वय भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको कुराले पनि कांग्रेस नेताहरूबीच मत विभाजन भएको छ । भिजिट भिसाको सेटिङमा बिमानस्थल अध्यागमन र गृह मन्त्रीको सचिवालयबीच प्रत्यक्ष सम्बन्ध देखिएको अनुसन्धानहरूले देखाएको छ ।
गृह मन्त्री लेखक कांग्रेस–एमाले गठबन्धन निर्माणको सूत्रधारमध्ये एक हुनुहुन्छ । उहाँ पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत हुनुहुन्छ । सोही कारण संस्थापन इतर समूह लेखकलाई राजीनामा गराएर देउवामाथि बदला लिन चाहिररहेको छ । सोहीकारण कांग्रेसले सामाजिक सञ्जालदेखि मिडियासम्म यस विषयले चर्चा पाउँदा पनि औपचारिक रूपमा मुख खोलेको छैन ।कोइराला पक्षधर समूहले भने प्रश्न उठेपछि विगतलाई हेरेर पनि राजीनामा दिनुपर्नेमा एकमत देखिएका छन् ।
त्यसो त गृह मन्त्री लेखक पनि आफ्नो राजीनामा माग्ने नेताहरूकै जसरी विगतमा मत राख्ने गर्नुहुन्थ्यो । विपक्षमा हुँदा तात्कालिन उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको सहकारी ठगीको मुद्दा उठाउँदा गत चैत ६ गतेको प्रतिनिधिसभा बैठकमा लेखकले प्रश्न उठेपछि मन्त्रीहरूले राजीनामा दिएको इतिहास सुनाउनु भएको थियो । पूर्वमन्त्रीहरू डा. रामशरण महत, शेरबहादुर तामाङ, गोकुल बास्कोटा र जनार्दन शर्माको उदाहरण दिँदै लेखकले रविलाई नैतिकताको आधारमा पद त्याग्न भन्नुभएको थियो ।
बचाउमा संस्थापन
कांग्रेस संस्थापन पक्ष भने गृहमन्त्री लेखकको बचाउमा उभिएको छ । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले गृह मन्त्रीमाथि प्रश्न उठेको विषयमा पार्टीले मनन गरिरहेको बताउनु भयो । ‘यसबारे अहिलेसम्म पार्टीमा छलफल भएको छैन, तर प्रश्न उठेर बाहिर यति धेरै चर्चा भइसकेपछि सबैले मनन गरिराख्नुभएको छ’, उहाँले भन्नुभयाे, ‘सभापतिले पनि मनन गरिराख्नुभएको छ, तर अहिले सञ्चारमाध्यममा आएको कुराको पछि लाग्ने कुरा हुँदैन, सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ, त्यसको प्रारम्भिक अध्ययन सकिएपछि पार्टीमा छलफल गछौँ ।’
राजीनामा दिनुपर्छ भन्दै पार्टीका नेताहरूले उठाएको प्रश्नबारे पनि उहाँले खरो टिप्पणी गर्नुभयो । ‘शेखर कोइरालाले त सबै सरकारविरुद्ध बोलिराख्नुभएको छऽ कुरा उठ्नेबित्तिकै राजीनामा दिने भन्ने कुरा हुँदैनऽ केही आधार प्रमाण, सम्पर्क, संलग्नता देखियो भने उहाँ आफैँ पनि नैतिकवान हुनुहुन्छऽ पार्टी नेतृत्वले सल्लाह गरेपछि हुन्छऽ हल्लाको भरमा हुँदैन,’ प्रचार प्रमुख बिश्वकर्माले भन्नुभयो ।
यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीले गरेका सबै गल्तीको जवाफदेहिता गृह मन्त्री हुन नसक्ने तर्क गर्दै लेखकको बचाउ गर्नुभएको छ । ‘यो गृह मन्त्रीले मात्रै होइन, कुनै मन्त्रीले पनि लिन सक्दैन, अध्यागमनमा बदमासी भएको कुरा आएको छ , त्यो कुरा सत्य हुनसक्छ, तर गृह मन्त्रीको संलग्नता छ भनेर पत्याउन सक्ने अवस्था छैन,’ घिमिरेको भनाई छ ।
कांग्रेसभित्र मात्र नभइ सबै तिर बहश र आलोचनाको विषय बनेको भिजिट भिसा काण्ड र गृह मन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने र नपर्ने भन्ने विषयमा बहस चल्दा कांग्रैसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने कानमा तेल हालेर मुखमा चावी लगाउनु भएको छ । संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित हुने बेला सगरमाथा बेसक्याम्प र बेलायततिर हानिनु भएका महामन्त्री थापा र शर्मा भिजिट भिसाा काण्डमा पनि बेपत्ताजस्तै हुनुभएको छ ।
यस्तो छ लेखकको त्यसबेलाको भनाइ
यदि कुनै मन्त्री अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै निकायले यदी अनुसन्धान गर्ने स्थिति भयो भने त्यस्ता मन्त्रीजी पदमा रहन पाउनुहुन्न, रहनुहुन्न । यसअघि रामशरण महत अर्थमन्त्री भएका बेला उहाँमाथि प्रश्न उठेको छ । विदेशी बैँकमा खाता छ भन्ने प्रश्न उठ्दा उहाँले राजीनामा दिनुभएको इतिहास यसै संसदमा छ । माननीय शेरबहादुर तामाङजी मन्त्री हुँदा बोल्दाखेरी केही कुरा बिग्रियो, बेठीक बोल्नुभयो भनेर प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको इतिहास छ ।
माननीय गोकुल बाँस्कोटाजी अहिले पनि माननीय सदस्य हुनुहुन्छ । उहाँका माथि प्रश्न उठ्दा पनि छानबिनका लागि मार्गप्रशस्त गर्नुभएको छ । राजीनामा दिनुभएको छ, त्यो पनि संसदको इतिहास छ । पछिल्लो समय जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटबारे प्रश्न उठ्दाखेरि पनि राजीनामा गर्नुभएको थियो । यहाँ छानबिन समिति गठन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्