जनता टाइम्स

११ असार २०८२, बुधबार १३:४०

इरान-इजरायल तनावमा अस्थायी युद्धविराम : सन्त्राशको वातावरण अझै हटेन


यसका लागि संयुक्त राष्ट्र संघले आफ्नो तहबाट त पहल गर्छ नै । राष्ट्र संघले विश्व शान्तिका लागि गर्ने पहलमा साथ–सहयोग गर्दैै नेपालजस्ता मुलुकहरुले पनि आ–आफ्नो तर्फबाट कुटनीतिक पहल, क्षमता र सिप देखाउने अवसर आएको छ । दश–दश बर्षसम्म कायम रहेको आन्तरिक द्वन्द्वलाई आफनै पहलमा टुंङगो लगाएको नेपालको भूमिका यतिबेला जेजस्तो मात्रामा हुन्छ, त्यो अपेक्षित र सान्दर्भिक नै हुनेछ ।

डा. देवराज अर्याल

विगत १२ दिनदेखि शुरु भएको इरान–इजरायलबीच तनावको श्रृंखलाहिजो एकाएक ‘युद्धविराम’ गर्ने सहमतिमा आइपुगेको छ । अमेरिकाका राष्ट्रापति डोनाल्ड ट्रम्पले युद्धरत दुबै देशलाई युद्ध विराम गर्न आग्रह गरेअनुसार युद्धविराम गर्ने सहमति भएको छ । तथापि, दुई देशका बीचमा रहेको तिक्तता, द्वन्द्व र असमझ्दारीको खाडल भने अझै पनि साविककै दुरीमा रहेको छ ।

वास्तवमा जुन १३ को आक्रमणपछि शुरु भएको इरान–इजरायलबीचको तनावले विश्व शान्तिको अपेक्षा गर्नेहरुका लागि चिन्तित बनाएको थियो । अहिले युद्ध विरामको समाचार प्रवाह भएपछि केहीहदसम्म चिन्ताको ग्राफ तल झरेको छ । तर, प्रभावित क्षेत्रका मानिसहरु विश्वस्त हुनसकिरहेका छैनन । इरान–इजरायलबीच शुरु भएको अहिलेको तनावलाई कतिपयले युद्धको रुपमा पनि परिभाषित गरेका छन ।

तथापि, यो तनाव भर्खर मात्र शुरु भएको छ । समस्यालाई शान्तिपूर्ण तवरले समाधान गर्न चौतर्फी दबाबहरु आउने थालेका छन । त्यसो त समस्यालाई समाधान गर्ने सन्दर्भमा काफी मात्रामा कुटनीतिक प्रयासहरु थालनी गर्न बाँकीनै रहेको अवस्था छ । यसो भएको हुनाले हाललाई इरान–इजरायलबीचको समस्यालाई ‘युद्ध’ भन्दा ‘तनाव’ भन्न उपयुक्त हुने तर्क अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रका विज्ञहरुले राख्दै आएका छन ।

इरान–इजरायलबीचको समस्या अहिले जसरी सतहमा छताछुल्ल रुपमा प्रकट भएको छ, यो समस्या धेरै बर्ष अगाडिदेखि नै विजारोपण भएर आएको मुद्दा हो । सन १९७९ को इरानी इस्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन बन्दगरेको थियो । समस्याको शुरुवात यही विन्दुबाट भएको मानिन्छ । यसैबीच इरानमाथि इजरायली विरुद्धका समर्थकहरुलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । लेवनमा हिजबुल्लाह र गाजामा हमासलाई गरेको समर्थन इजरायललाई चित्त नबुझ्नु स्वाभाविक नै थियो ।

उल्लेखित परिवेश र पृष्ठभूमिको कारणले गर्दादुई देशबीचको समस्या तनावको रुपमा रुपान्तरण हुनथालेको हो । यसैक्रममा गत अप्रिलमा इजराइलले सिरियामा रहेको इरानी सैन्य केन्द्रमा आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले पनि जुन महिनामा इजरायलका विभिन्न शहरहरुमा मिसाइल आक्रमण गर्न पुग्यो । यस क्रममा सयौं मानिसहरुको हताहत भैसकेको छन र हजारौंको अवस्था पीडादायक छ । यसैगरी ठूलो मात्रामा भौतिक सम्पत्तिको नाश भएको छ ।

वास्तवमा इरान–इजरायलबीच उत्पन्न भएको विवादलाई विश्व समूदायले नजिकबाट अवलोकन गर्दै आएको छ । विश्वका कतिपय देशहरुले त इरान–इजरायल विवादमा आफ्नो स्वार्थ र फाइदाको दृष्टिकोणले पनि व्याख्या र विश्लेषण गर्दै आएका छन । अनि, त्यस्तै प्रकारको व्यवहार पनि गर्दैआएका छन । तथापि, इरान आफैमा तेलखानीको रुपमा महत्वपूर्ण देश हो । यसबाहेक पछिल्लो समय इरानले आणविक शक्तिको क्षेत्रमा पनि उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ ।तनावको श्रृंखला विकसित हुनुको पछाडि उल्लेखित पृष्ठभूमिहरुले पनि कुनै न कुनै रुपमा भूमिका निर्वाह गर्नु स्वाभाविक पक्ष हो ।यद्यपि, अहिलेको सन्दर्भमा दुई देशबीचको समस्या र तनावलाई शान्तिपूर्ण रुपमा समाधान गर्नेतर्फ चासो राख्नु विश्व कल्याण र भलाईको विषय हो ।

इरान–इजरायलबीच विकसित तनावको पछिल्लो घटनामा यसपटक अमेरिकाको पनि प्रवेश हुनपुगेको छ । इरान–इजरायल तनावमा अमेरिका प्रवेश भएपछि परिस्थितिले थप जटिल मोड लिने होकीभन्ने सन्त्रास फैलिएको हो । अमेरिकाले केहीदिन अगाडि इरानका प्रमुख आणविक केन्द्रहरुमा हवाइ हमला गरेको थियो । उक्त हमला गर्नेक्रममा सयभन्दा बढी बंकर बस्टर बम प्रयोग भएका थिए । ‘अपरेशन मिडनाइट हेमर’ नामक उक्त प्रहार मूख्यतः इरानका प्रमुख आणविक केन्द्र मानिएका– फोर्दो, नातान्ज र ईस्फाहानलाई लक्षित गरिएको थियो । उक्त शक्तिशाली आक्रमणको कारणले गर्दा इरानको आणविक कार्यक्रममा गम्भीर क्षती पुगेको दावी गरिएको छ । तर, क्षतीको मात्रा के कतिभयो भन्ने विवरण भने आइसकेको छैन ।

यसरी इरान र इजरायलबीचको समस्यामा अमेरिका प्रत्यक्ष रुपमा देखापरेपछि तनाव थप पेचिलो हुने खतरा बढेको थियो । यहाँनेर अर्को उल्लेखनीय पक्ष के रहेको थियो भने अमेरिकाबाट भएको इरानी हमलाको विरुद्ध चीनले तत्काल विरोध जनाइसकेको थियो । त्यस घटनामा संयुक्त राष्ट्र संघले संयमित भएर समस्यालाई शान्तिपूर्ण रुपमा समाधान गर्न आव्हान गरेको थियो । साथै संयुक्त राष्ट्र संघले परिस्थितिलाई बिग्रने बाटोतिर लैजान नहुनेतर्फ सजग हुन जोड दिएको थियो । यता,इरान–इजरायलको तनावमा अमेरिकी इन्ट्रीप्रति रुस र इस्लामिक देशहरु पनि विरोध जनाइ सकेका थिए ।

इरान–इजरायलबीच भएको अहिलेको तनाव विश्वकै लागि चासो र चिन्ताको मुद्दा हो । यो तनावको कारणले गर्दा अमेरिका, रुस, चीनजस्ता शक्तिशाली देशहरु ध्रुबीकृत हुन सक्ने अवस्थाथियो । परिणामतः मध्यपूर्वमा अस्थीरता हुनसक्ने र समग्रतामा विश्वको सुरक्षा व्यवस्थाको सन्तुलनमा गडबडी आउन सक्ने आंकलन गरिएको थियो । जसले गर्दा त्यहाँको अर्थतन्त्रमा पनि पनि गम्भीर असर पार्न सक्दथ्यो । त्यो अवस्थामा नेपालमा पनि प्रभावित हुनसक्ने खतरा थियो ।

वस्तवमा मध्यपूर्वमा रहेका खाडी मुलुक र इजरायल नेपालका लागि रोजगारीको मूख्य थलो हो, आकर्षक गन्तब्य हो । त्यहाँ हजारौैं संख्यामा नेपाली युवाहरु कार्यरत रहेका छन । यदि यस क्षेत्रमा युद्धको परिस्थिति निर्माण भयो भने त्यहाँ रहेका नेपालीको जीवन र रोजगारी जोखिममा पर्न सक्दछ । यसैगरी मध्यपूर्वी क्षेत्र भनेको संसारको प्रमुख पेट्रोलियम पदार्थको आपूर्तिकर्ता हो ।

युद्धको कारणले गर्दा पेट्रोलियम पदार्थको आपूर्ति–चक्र निश्चित रुपमा प्रभावित हुन्छ । त्यस्तो अवस्थामा विश्वव्यापी रुपमा तेलको मूल्य बढन जान्छ । जब तेलको मूल्य बढछ त्यसको सिधा असर समग्र अर्थतन्त्रमा पर्दछ । बजारमा महंगीको ग्राफ अप्रत्याशित रुपमा माथि चढछ, जसले गर्दा आर्थिक क्षेत्रमा अस्थिरता बढन जान्छ । त्यसो भएको हुनाले अहिलेको अवस्थामा युद्ध रोकिनु अनिवार्य आवश्यकता थियो ।

वास्तवमा युद्ध कुनै पनिप्रकारको समस्या र तनाव समाधानको सूत्र होइन । समाधानका लागि शान्तिको विधि नै अवलम्वलन गर्नु पर्ने हुन्छ । यसका लागि प्रर्याप्त मात्रामा कुटनीतिक पहल, प्रयास र वार्ता एवं सम्वाद हुनु पर्दछ । युद्धले हिंसाको श्रृंखलालाई मात्र बृद्धि गर्दछ, जसले गर्दा हजारौं मानिसको अकालमा ज्यान जान्छ, ठूलो परिमाणमा भौतिक सम्पत्तिको क्षती हुन्छ । धरै मानिसहरु घाइते हुन्छन, अनि परिवारहरुको विछोड, विचल्ली र पीडाको घाउ शदियौंसम्म रहिरन्छ । त्यसको बदलामा कुटनीतिक प्रयास गरियो भने हिंसा हुँदैन । त्यसमा मर्ने, मार्ने र क्षती गर्ने भन्ने सन्दर्भ आउँदैन ।

त्यसकारण आज विश्व रंगमञ्चमा तटस्थ रहने देशहरुले समस्या समाधानका लागि शान्तिको मार्ग अवलम्बन गर्न सम्बन्धित देशरुलाई दबाब दिनुपर्ने बेला आएको छ । शान्ति स्थापना र मानव अधिकारको पक्षमा आवाज उठाउन पर्ने बेलाआएको छ । संयुक्त राष्ट्र संघको सदस्य भएको र गुट निरपेक्ष नीति अवलम्बन गरेको सन्दर्भको आधारमा पनि शान्ति र मानव अधिकारको रक्षाको लागि पहल गर्नु पर्ने बेला आएको छ ।

अहिले विश्व परिदृश्यमा जारी रहेको रुस–युक्रेन युद्ध, इजराइल– हमास द्वन्द्व र हालै मात्र समाधानमा गएको भनिएको भारत–पाकतनावका कारणले गर्दा मानिसहरु वाक्क दिक्क भएका छन । यस्तो अवस्थामा इरान–इजरायल तनावको कारणले गर्दा मानिसहरु ज्यादा रुपमा चिन्तत हुन स्वाभाविक थियो । यो पक्षलाई समाधान गर्न दर्विलो कटनीतिक लविङको आवश्यकता पर्दछ ।

यसका लागि संयुक्त राष्ट्र संघले आफ्नो तहबाट त पहल गर्छ नै । राष्ट्र संघले विश्व शान्तिका लागि गर्ने पहलमा साथ–सहयोग गर्दैै नेपालजस्ता मुलुकहरुले पनि आ–आफ्नो तर्फबाट कुटनीतिक पहल, क्षमता र सिप देखाउने अवसर आएको छ । दश–दश बर्षसम्म कायम रहेको आन्तरिक द्वन्द्वलाई आफनै पहलमा टुंङगो लगाएको नेपालको भूमिका यतिबेला जेजस्तो मात्रामा हुन्छ, त्यो अपेक्षित र सान्दर्भिक नै हुनेछ ।

अर्को महत्वपूर्ण सवाल भनेको अन्तर्राष्ट्रिय समस्या, तनाव र युद्धको सवालमा अन्तर्राष्ट्रिय मिडिया तटस्थ हुनुपर्ने मान्यता राखिन्छ । यद्यपि, अहिले सन्दर्भमा विश्लेषण गर्दा अन्तर्राष्ट्रिय मिडियाको भूमिकापश्चिमा देशहरुको सवालमा ज्यादातर न्यायपूर्ण बनेको आभाष देखिन्छ । खासगरी ग्लोवल साउथका आवाजहरु बलियो र तटस्थ ढंगलेआएको तथ्यलाई मानिसले अनुभूत गर्न सकेका छैनन । अहिले पनि ठूला मिडियाहरु ग्लोवल नर्थको नियन्त्रण र पक्षपोषणमा रहेका छन । यो पक्ष पनि अहिलेको मननीय सवाल हो । यस अर्थबाट विश्लेषण गर्दा यतिबेला मिडियाले दुबैतर्फको प्रचार गर्दा तथ्यमा रहेर आलोचनात्मक दृष्टि राख्न सक्नु पर्दछ । विश्वभरिका मानिसहरुले यतिबेला अन्तर्राष्ट्रिय मिडिया शान्तिका लागि हुनुपर्ने अपेक्षा राखेका छन ।