जनता टाइम्स

५ मंसिर २०७६, बिहीबार ०८:११

को हुन ओली सरकारमा थपिएका छ मन्त्री र तीन राज्यमन्त्री ? यस्तो छ इतिहास


काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषदमा ६ मन्त्री र तीन राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले बुधवार राती मन्त्रीहरूको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गर्नुभएको हो । ओलीले दोस्रो पटक सरकारको नेतृत्व सम्हालेको २१ महिनापछि पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा ओलीले सरकार सम्हालेको आठौं महिनादेखि नै चलेको थियो । प्रधानमन्त्री ओलीले बुधबार साँझ नै थपघट र जिम्मेवारी हेरफेर हुने मन्त्रीहरूको सूची राष्ट्रपति कार्यालयमा पठाउनु भएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार नयाँ थपिएका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री गरी नौ जना नयाँ सदस्य समावेश गर्नुभएको छ भने ६मन्त्री र तीन राज्यमन्त्री गरी नौ जनालाई नै बिदाइ गरिएको छ । दुई मन्त्रीहरूको जिम्मेवारी अदलबदल गरिएको छ ।

नयाँ सूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका ठाउँमा हृदयेश त्रिपाठी ल्याइएको छ । त्रिपाठी नेकपाको सूर्य चुनाव चिह्न लिएर नवलपरासी–५ बाट विजयी हुनुभएको थियो । उहाँ यसअघि पनि पटकपटक मन्त्री भइसक्नुभएको छ । यस्तै कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाललाई हटाएर घनश्याम भुसाललाई ल्याइएको छ । भुसाल प्रधानमन्त्री ओलीको कटु आलोचकका रूपमा चिनिएका नेता हुनुहुन्छ । प्रतिनिधिसभा चुनावमा तत्कालीन एमालेका तर्फबाट रुपन्देही–३ मा विजयी हुनुभएका भुसाल मन्त्रीका रूपमा यो दोस्रो सिंहदरबार यात्रा हो । यसअघि उहाँ झलनाथ खनाल सरकारको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी बिनाबिभागीय मन्त्री शुनुभएको थियो ।

कैलाली–४ का प्रतिनिधिसभा सदस्य लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हुनुभएको छ । पूर्वमाओवादीकै नेता मातृका यादवलाई प्रतिस्थापन गर्दै उहाँ सो मन्त्रालय सम्हाल्न पुग्नुभएको हो । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हटाएर रामेश्वर राय यादवलाई ल्याइएको छ । तत्कालीन माओवादी केन्द्रबाट सर्लाही–३ बाट बिजयी यादव यसअघि तीन पटकसम्म मन्त्री भइसक्नुभएको छ । उहाँ पहिलो पटक २०५२ सालमा कानुनमन्त्री हुनुभएको थियो । त्यसपछि पनि उनी समाज कल्याण र वनमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

यसैगरी रघुवीर महासेठलाई हटाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्याइएका वसन्तकुमार नेम्वाङ पाँचथरका पुराना एमाले नेता हुनुहुन्छ। ०४८ र ०५६ सालमा समेत सांसद हुनुभएका नेम्वाङ पहिलो पटक मन्त्री हुनुभएको हो । यसैगरी दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित पार्वत गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुभएको छ । उहाँ ०७० को संविधानसभा चुनावमा पनि दोलखाबाट निर्वाचित हुनुभएको थियो । पूर्वएमालेका नेता गुरुङले पहिलो पटक मन्त्री हुने अवसर पाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले तीन जना राज्यमन्त्री पनि नियुक्त गर्नुभएको छ । जसअनुसार मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति, नवराज रावत स्वास्थ्य तथा जनसंख्या र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री हुनुभएको छ । यसअघिका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई जिम्मेवारीमुक्त गरिएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रूपमा सरुवा गरेर स्वास्थ्य मन्त्रालयमा भानुभक्त ढकाललाई ल्याइएको छ । स्वास्थ्य मन्त्रालयमा असुलीको अखडा बनाएपछि प्रधानमन्त्री ओलीले यस्तो कदम चाल्नुभएको हो ।