जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार ०७:२४

बिद्या भट्टराईको कथा : कास्कीबाटै प्राध्यापन, बीस बर्षपछि कास्कीबाटै राजनीतिमा पुनरागमन


काठमाडौं, मंसिर १८ । कास्की निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै अनेरास्वबियूकी पूर्वसचिव विद्या भट्टराई अधिकारीकोराजनीतिमा पुनरागमन भएको छ । आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खेमराज पौडेलको भन्दा ८ हजार ४ सय ३ मत बढी ल्याएर भट्टराई सांसद बनेसँगै २० बर्षपछि उहाँको राजनीतिमा पुनरागमन भएको हो । यही मंसिर १४ गते भएको उपनिर्वाचनमा भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याउँदा पौडेलका लागि १५ हजार ९ सय ९१ मत खसेको थियो ।

उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको एकमात्र क्षेत्र हुनुका साथै दिवंगत रवीन्द्र अधिकारीले तीन पटकसम्म जितेको ठाउँ भएकाले यहाँको मतपरिणाममाथि सबैको चासो थियो । यस क्षेत्रबाट अधिकारी दुइटै संविधानसभाको निर्वाचन र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको थियो । अधिकारी पत्नी भट्टराईले उपनिर्वाचन जितेसँगै श्रीमान्ले ह्याट्रिक गरेर रचेको कास्कीको राजनीतिक इतिहासलाई जोगाउनुभएको छ ।

श्रीमानको निधनपूर्व भट्टराई सक्रिय राजनीतिमा हुनुहन्थेन । उहाँ त्रिविमा प्राध्यापन पेसामा सक्रिय रहनुभएको थियो । उपनिर्वाचनमा उहालाई कास्की जिल्ला पार्टीले एकल उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो । सुरुमा उम्मेदवार बन्न अनिच्छुक देखिए पनि पार्टीको दबाबले सक्रिय राजनीतिमा बिद्याको पुनरागमन भएको हो । ०२९ कात्तिक २९ मा काठमाडौंमा जन्मनुभएकी बिद्या भट्टराई १२ वर्षकै उमेरमा राजनीतिमा होमिनुभएको थियो ।

पशुपति मित्र मावि चाबहिल काठमाडौंमा ७ कक्षामा पढ्दै गर्दा उहाँ अनेरास्ववियुमा आबद्ध हुनुभएको थियो । ०४५ मा भारतले लगाएको नाकाबन्दीविरुद्ध आन्दोलनका कार्यक्रममा विभिन्न स्कुलमा विद्यार्थीलाई संगठित पार्नुभएकी बिद्या ०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध हुनुभयो । त्यही वर्ष अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित बिद्या जनसांस्कृतिक परिवारको सदस्य हुँदै तत्कालीन नेकपा एमालेको संगठित सदस्य बन्नुभयो ।

०४८ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतमा राष्ट्रिय परिषदमा निर्वाचित भट्टराई त्यही वर्ष एमालेको वडा कमिटी सदस्य बन्नुभयो । उहाँ ०४९ मा पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार बन्नुभयो । ०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रूपमा सक्रिय बिद्या ०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव हुनुभयो । अनेरास्ववियुको एउटै कमिटीमा रहेका बेला रवीन्द्र अधिकारीसँग उहाँको विवाह भयो । ०५६ असार २६ मा उहाँको बिहे भएको थियो ।

बिवाहको केही समयपछि परिवारका दुवै सदस्य राजनीतिमा लाग्नु हुन्न भन्दैश्रीमान रविन्द्रका सहयोगी बनेर उहाँले सक्रिय राजनीति छाडेर प्राध्यापनतर्फ रोज्नुभयो । ०५८ मा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन थाल्नुभएकी बिद्या चुनावमा होमिनुअघि त्रिविमा उपप्राध्यापक हुनुहुन्थ्यो । त्रिबिमा सोही पदबाट राजीनामा दिएर उहाँ कास्की २ मा उपनिर्वाचन लडनु भयो । श्रीमान रविन्द्रको निर्वाचन क्षेत्रबाटै चुनाव जितेर उहाँको २० बर्षपछि राजनीतिमा पुनरागमन भएको हो ।