जनता टाइम्स

२८ बैशाख २०७६, शनिबार १९:१३

पत्रकार महासंघलाई प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको काउन्टर, मन्त्री सही, महासंघ गलत रहेको ठोकुवा


काठमाडौं, २८ बैशाख

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रेस संगठनका नेता (तात्कालिन सेन्टर नेपालका अध्यक्ष) महेश्वर दाहालले नेपाल पत्रकार महासंघलाई कडा काउन्टर दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ल्याउनु भएको बिद्येयक आफरुहरुको सहमतिमै ल्याएकोले आन्दोलन घोषणा गरेर महासंघले गम्भीर गल्ती गरेको भन्दै दाहालले काउन्टर दिनुभएको हो ।

महासंघले मिडिया काउन्सिल बिद्येयकको बिरोधमा आन्दोलन घोषणा गरेको भोलिपल्ट दाहालले हतारमा आन्दोलन घोषणा गरेर गम्भीर गल्ती गरेको भन्दै सच्याउन सुझाउनु भयो । ‘पत्रकार महासंघले आन्दोलन घोषणा गरेर गम्भीर गल्ती गर्यो, त्यो निर्णय सच्याउनु पर्छ,’ दाहालले भन्नुभयो, ‘गोकुल बाँस्कोटा रिपोर्टर हुँदै मन्त्री हुनुभएको हो, त्यसैले प्रेसकै घाँटी निमोठने गरी उहाँले विद्येयक ल्याउन लाग्नुभएको हो भन्नेमा मलाई बिल्कुलै विश्वास छैन ।’ दाहालले नेपाली पत्रकारिताको अभ्यास ठीक छ त ? भन्दै महासंघको आन्दोलनप्रति कडा आपत्ति जनाउँदै बिद्येयकको समर्थन गर्नुभयो ।

‘पत्रकाहरु पनि स्वनियममा बस्नुपर्छ । संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रताको सुनिश्चिता गरिसकेको छ,’ दाहालले भन्नुभयो । सरकारले प्रेस जगतलाई सुधार गर्ने गरी काम गरिरहेको र त्यसैअनुसार आफूहरुको सहमतिमा बिद्येयक आएको दाहालको भनाई थियो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले भने सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विद्येयक तत्काल खारेज नगरे अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई समेत गुहार्ने चेतावनी दिनुभयो ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महासचिव बिष्टले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गर्नुभयो । ‘यो विद्येयक कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन । हामीले आन्दोलनको घोषणा गरिसकेका छौं,’ बिष्टले भन्नुभयो । बिष्टले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोलेस्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने पनि बताउनु भयो । सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठने प्रयास गरेको भन्दै सरकारको विरुद्धमा लड्न गाह्रो भइरहेको बिष्टको भनाई थियो । ‘मिडिया काउन्सिलको स्वायत्तताको रक्षाको लागि हामी जस्तोसुकै कदम पनि चाल्न तयार छौं । यसको गठन प्रक्रिया र नियत नै खराब छ,’ बिष्टले भन्नुभयो ।

आफूहरुलाई कुनैपनि हालतमा यो विद्येयक स्विकार्य नहुने उहाँको चेतावनी छ । ‘यो कानून मान्दैनौं । हामी अवज्ञा गर्छौं,’ बिष्टले भन्नुभयो ।
ऐन ल्याउँदासमेत मन्त्रालयले सरोकारवालाहरुसँग कुनै छलफल नगरेकोमा पनि बिष्टले आक्रोश पोख्नुभयो । आमसञ्चार ऐन पनि प्रेसविरोधी आउन लागेको बिष्टको भनाई थियो । ‘हामी दरवारसँग लडेर आएका हौं । हामीसँग आफ्नो अधिकार रक्षाको लागि पर्याप्त क्षमता र अनुभव छ । सीप छ,’ बिष्टको भनाई थियो । कुनैपनि शर्तमा आफूहरुलाई यो विद्येयक र ऐन मान्य नहुने र देशभरिका पत्रकारहरु सडकमा उत्रिने पनि बिष्टको भनाई थियो । नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले संसदमा दर्ता भएको प्रेस काउन्सिलसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

विद्येयककै कारण सञ्चार क्षेत्र डरले थर्रथरको अवस्थामा रहेको सिग्देलको भनाई थियो । ‘यो विद्येयकका प्रावधानले पत्रकारहरुमाथि बज्रपात गरेको छ । यसले पत्रकारहरुलाई खाँडी मुलुक जाने अवस्थाको सिर्जना गरेको छ,’ सिग्देलले भन्नुभयो । रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले प्रेसलाई कुण्ठित पार्ने बिद्येयक कुनैपनि हालतमा स्विकार्य नहुने बताउनु भयो । ‘हामीलाई कुण्ठित पार्ने कुनैपनि धारा र ऐनहरु स्विकार्य हुँदैन,’ धमलाको भनाई थियो ।’

जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले प्रेस काउन्सिल विद्येयक प्रेसमैत्री नभएको भन्दै पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा आफ्नो संगठनको पूर्ण ऐक्यबद्धता रहेको बताउनु भयो ।