जनता टाइम्स

११ पुष २०७६, शुक्रबार ०८:३४

टोखा–छहरे सुरुङमार्ग अध्ययन गर्न काठमाडौं आइपुग्यो चिनियाँ प्राविधिक टोली, यसरी हुँदैछ काम


काठमाडौं, पुस ११ । काठमाडौं उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । काठमाडौं आइपुगेको चिनियाँ टोली आज शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको केही महिनाअघि सम्पन्न नेपाल भ्रमणका क्रममा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच भएको समझदारी अनुसार काठमाडौंको टोकादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग निर्माणबारे अध्ययन थालिएको हो । निर्माण कार्यका लागि अध्ययनलाई अगाडि बढाउनेबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । चिनियाँ राष्ट्रपतिले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।

‘‘चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा टोखा–छहरे सुरुङमार्ग निर्माणबारे भएको समझदारी कार्यान्वयनका रूपमा प्राविधिक टोली नेपाल आएको हो । अध्ययनका लागि टोली एक महिनासम्म रहनेछ,’’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले भन्नुभयो । थापाका अनुसार सो टोली चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी, हाइवे कन्सल्ट्यान्ट लिमिटेडका प्रमुख इन्जिनियर कायी जिङ वाङको नेतृत्वमा नौ सदस्यीय प्राविधिक टोली नेपाल आएको हो । सो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ ।

‘टोलीले अध्ययनको क्रममा सुरुङमार्ग निर्माणबारे तथ्याङ्क सङ्कलन, बनाउनुपर्ने सुरुङमार्गको लम्बाइ र चौडाइ अहिले सञ्चालनमा रहेका कुन कुन सडकका सवारीसाधन सो सुरुङमार्गमा ‘डाइभर्ट’ हुन्छ, यस सुरुङमार्गको सवारी चाप के कति हुनसक्छ, कति जनता लाभान्वित हुनसक्छ लगायतका विषयमा गहन अध्ययन गर्ने छ । टोली तीन महिनाभित्र सन् २०२० को मार्चमा सोको प्रतिवेदन चीन सरकारलाई बुझाउँछ । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

सुरुङमार्ग निर्माणबारे तीन वर्षअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययनले सो सुरुङमार्गको निर्माण तथा सञ्चालन सम्भव रहेको देखाएको थियो । त्यसैगरी काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सो सुरुङमार्गको कुल लम्बाइ सात किलोमिटर हुनेछ । चौडाइ डबल लेन तथा एकातिर ‘सर्भिस ट्र्याक’ हुने र कुल निर्माण लागत तीस अर्ब रुपियाँ लाग्न सक्ने अनुमान गरिएको छ । सुरुङमार्गको निर्माणपछि अढाई घण्टामा नै राजधानीदेखि चीनको सिमानासम्म र आधा घण्टामा नुवाकोटको थानसिंह फाँटसम्म पुग्न सकिने छ ।