जनता टाइम्स

२६ माघ २०७६, आईतवार १९:४४

विश्व बैंकको निश्कर्ष : ओली सरकार गठनपछिका दुई वर्षमा नेपालमा असाधारण उपलब्धि भएको छ


काठमाडौं, माघ २६ । बिश्व बैंकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि पछिल्लो दुई बर्षमा नेपालमा असाधारण उपलब्धी हासिल भएको आफ्नो निश्कर्ष सुनाएको छ । नेपालको सबैभन्दा ठूलो विकास साझेदार विश्व बैंकले ओली सरकार गठनपछि नेपालमा यस्तो उपलब्धी हाँसिल भएको आफ्नो निश्कर्ष सुनाएको हो ।

नेपालको पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा प्रत्यक्ष योगदान दिँदै आएको बिश्व बैंकको राष्ट्रिय प्रबन्धकका रुपमा विगत दुई वर्षयता काम गरिरहनुभएका फारिस एच हदाद जर्भोसले यस्तो बताउनु भएको हो । ‘विश्व बैंकको आँखाबाट हेर्दा नेपालमा पछिल्ला दुई वर्षमा असाधारण उपलब्धि भएको छ, सत्य कुरा के हो भने हामीले यो दुई वर्षमा नेपालमा प्रगति भएको देखेका छौं,’ ओली सरकार गठनपछिका उपलब्धीबारे अनलाइन पत्रिका नेपाललाइभमा लामो अन्तरवार्ता दिँदै जर्भोसले भन्नुभएको छ, ‘नेपालमा बलियो आर्थिक विकास भएको छ । विगतका केही वर्ष नेपाल ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदरको हाराहारीमा अल्झिएको थियो । गत वर्ष ७.१ प्रतिशतको वृद्धिदर हासिल भएको छ । चालु वर्ष ६.४ प्रतिशतको हाराहारीमा रहने हाम्रो मोटामोटी अनुमान छ । हामी भविष्यमा पनि यस्तै उच्च आर्थिक वृद्धिको संभावना देखिरहेका छौं ।’

नेपाल र बिश्वबैंकले पाँच वर्षे कन्ट्री पार्टरनसिप फ्रेमवर्कभित्र बसेर काम गरिरहेको भन्दै उहाँले बितेका दुई वर्षमा धेरै काम गर्नका लागि आधार तयार गरेको बताउनु भएको छ । ‘आधुनिक नेपालको ऐतिहासिक दुई वर्षमा हामीबीचको सहकार्यमा धेरै काम अघि बढे भन्ने मलाई लाग्छ,’ जर्भोसले भन्नुभयो । उहाँका अनुसार नेपाल अहिले नयाँ संरचनामा प्रवेश गरेको छ । नेपालमा नयाँ संविधान बनेको छ । संघीयता कार्यान्वयन भएको छ । संघीय संरचनाअनुसार ७ वटा प्रदेश बनेका छन, ७५३ वटा स्थानीय तहहरूले काम गरिरहेका छन् । मुलुकको सिंगो विकास चक्रमा परिवर्तन भएको छ । यो समयमा नेपाल र नेपाली जनतासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा विश्व बैंकले पनि ठूलो उपलब्धि भएको ठानेको छ ।

विश्व बैंकको आँखाबाट हेर्दा नेपालमा पछिल्ला दुई वर्षमा असाधारण उपलब्धि भएको छ, सत्य कुरा के हो भने हामीले यो दुई वर्षमा नेपालमा प्रगति भएको देखेका छौं

उहाँले संविधानको कार्यान्वयनमा नेपालले ठुलो प्रगति गरेको आफ्नो अनुभव सुनाउनु भयो । ‘नेपालमा संघीयताको कार्यान्वयन भएको छ । वित्तीय संघीयताको व्यवस्थापन नेपाल अघि बढेको छ । स्थानीय र प्रदेश तहका सरकार र संसदले काम अघि बढाएका छन् । उनीहरूले सेवा प्रवाह गरिरहेका छन् । बजेटको कार्यान्वयन अघि बढेको छ । संघीयताको संक्रमणकाल असाध्यै जटिल र लामो समयसम्म रहिरहने विषय हो । यसले दशकौँ र शताब्दीसम्म समय लिन सक्छ । म अमेरिकाबाट यहाँ आएको छु । अमेरिकामा साढे २ सय वर्षको संघीयता कार्यान्वयनको अनुभवमा पनि हामी अझै सिकिरहेका छौँ, विस्तारै अघि बढिरहेका छौं, त्यसकारण एउटा सत्य कुरा के हो भने हामीले यो दुई वर्षमा नेपालमा प्रगति भएको देखेका छौं,’ जर्भोसले भन्नुभयो ।

उहाँका अनुसार बिश्व बैंकले नेपालमा धेरै परिवर्तन भएको देखेको छ । ‘नेपालको आर्थिक परिदृश्यहरूमा परिवर्तन भइरहेका छन । अबको मुख्य विषय भनेको अहिलेको आर्थिक वृद्धिलाई कसरी दीगो बनाउने र भविष्यमा यसको निरन्तरता कसरी दिने भन्ने हो । सरकारको प्राथमिकता निजी क्षेत्रको भूमिका बढाउने र विकास प्रक्रियालाई तीव्रता दिने भन्ने छ । अर्को कुरा अहिले आर्थिक कृयाकलाप काठमाडौं उपत्यकामा मात्रै छैनन, देशको सातवटा कुनामा फैलिएको छ । नेपालले हासिल गरेका महत्वपूर्ण र विशिष्ठ परिवर्तन यिनै हुन,’ जर्भोसको भनाई छ ।