जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार ११:००

प्रधानमन्त्रीले बिहे अघि राधिकालाई भन्नुभयो – म तुलसीको बोट हुँ, स्याहार भएन भने ओइलाउँछु


काठमाडौं

फागुन महिना प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विशेष महिना हो । यही महिनामा उहाँ जन्मिनु भयो (फागुन १०) र यही महिनामै उहाले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँस्नु भएको हो । साथै यहि महिना (फागुन ३ गते) देशको दोस्रो पटक कार्यकारी प्रधानमन्त्री पदमा निर्वाचित हुनु भयो । यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ। प्रधानमन्त्री निवासमा छिर्नेबित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्रीज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’

प्रधानमन्त्री ओली यस विषयमा भने ठट्यौली मुडमा देखिनु भएन । बरु उहा गम्भीर हुदै भन्नुभयो, ‘बिहान निस्किएको मान्छे एकै पटक राति कुन बेला घर फिर्छु थाहा हुँदैन। फूल र रोमान्टिक कुरा त झनै बिर्सिरहेको हुन्छु। मेरा लागि यो ‘भ्यालेन्टाइन्स डे’को के कुरा !’ यसपछि प्रधानमन्त्री केही सम्झेझैँ देखिनुभयो । उहाले एक किसिमको मौनतालाई तोड्दै एउटा घटना सुनाउनु भयो ।

‘मेरा माइला हजुरबा हुनुहुन्थ्यो, जोगी, सन्यासी। असी वर्षको उमेरसम्म उहाँ एउटा ऋषिमुनिको जीवन लिएर बाँच्नु भयो, तपश्वी हुनुभयो। हरेक तीन वर्ष फलफूल खाने, अर्को तीन वर्ष रुखका पात खाने गर्नुभयो। उहाँको कुटीमा अचानक एकजना गुरागाईं वृद्धा पाल्नुभयो। उहाँ त्यो कुटीमा केही वर्ष बस्नुभयो। गाउँभरिका मानिस उहाँलाई फलफूल, दूध, नैवेद्य चढाउँथे। यसअघिसम्म उहाँलाई संसारबारे मतलब थिएन। उहाँका ज्ञानगुनका कुरा सुन्न गाउँभरिका मानिस आउँथे, सुन्थे, जान्थे।’

‘हरेक बिहानझैँ त्यो दिन पनि उसैगरी गाउँभरिका मानिस उहाँको प्रवचन सुन्न आए। उनीहरुले अन्य दिनझैँ फलफूल र अनेकन चिज ल्याएका थिए। हजुरबुबा निन्याउरो अनुहार लिएर बस्नु भएको थियो। सधैँ प्रशन्न चित्तका जोगी, सधैँ भर्भराउँदो कान्तियुक्त व्यक्ति झोक्राइरहनु भएको थियो, अनुहारको कान्ति हराएको थियो। सबैलाई चिसो पस्यो, यी तपश्वीलाई के भयो ? उहाँले भन्नुभयो, ‘अब तिमीहरु मकहाँ दर्शन गर्न नआउनू, फलफूल नचढाउनू, भोलिदेखि मलाई केही सामग्री नल्याउनू। मसँग आशीर्वाद पनि नमाग्नू।’ सन्यासीको कुरा सुनेर सबै जना चकित भए। सबैलाई के भयो किन भयो यस्तो ? उहाँले भन्नुभयो, ‘हिजोसम्म म जे थिएँ, जोगी–सन्यासी म रहिनँ।’

‘नेपालीहरुले ‘भ्यालेन्टाइन्स डे’ मनाउँछन्। सन्त भ्यालेन्टाइन्सको वियोगी प्रेम सम्झन्छन्। म भने मेरो माइलो हजुरबुबालाई सम्झन्छु। असी वर्षको उमेरसम्म उहाँले जे कुरा कमाउनु भएको थियो, गुरागाईं हजूरआमाका लागि, उहाँसँगको प्रेमका लागि सारा कुरा त्याग गर्नुभयो। मेरा लागि सन्त भ्यालेन्टाइन त उहाँ हो, जसले एउटी स्त्रीसँग जीवनको अन्त्यमा जुन प्रेम गर्नुभयो, त्यो प्रेमका लागि जस्तोसुकै अवहेलना र वचन पनि खेप्न तयार हुनुभयो।’

‘उहाँले यो कुरा लुकाउन पनि सक्नु हुन्थ्यो तर लुकाउनु भएन। लुकाएर म आफैँलाई ठग्न सक्तिनँ भन्नुभयो। भोलिदेखि म यहाँ बस्ने छैन, तिमीहरु नआउनू भनेर उहाँले सबै कुरा सुनाउनुभयो। त्यसपछि उहाँ त्यो जोगीकुटी छाडेर हिँड्नुभयो।’
‘उहाँ पतित हुनुभयो भनेर धेरैले आलोचना गरे तर मेरो नजरमा उहाँले प्रेमका लागि सारा ख्याति र इज्जत दाउमा लगाउनु भयो। मेरा लागि त उहाँ भ्यालेन्टाइनभन्दा ठूला सन्त हुन्। नेपाली सन्त भ्यालेन्टाइन !’ जस्तोसुकै अप्ठेरो र आलोचना खेप्नु परे पनि झूटो नबोल्ने आफ्नो हजुरबुबाको त्यो आँट देखेर किशोर कालमा ओलीलाई गहिरो प्रभाव पर्यो। आफूमा पनि झूटो नबोल्ने त्यो गुण आएको उनको बुझाइ छ।

अर्धाङ्गिनी राधिका

ललितपुरको पाटनमा जन्मिनु भएकी राधिका शाक्यले जीवनमा बिहे गर्दिनँ भनेर अड्डी कँस्नु भएको थियो । आफ्ना साथीसङ्गी सबैको बिहे भइसक्दा पनि उहाले आफ्नो धारणा कहिल्यै फेर्नु भएन तर अचानक केपी ओलीलाई भेटेपछि उहाका सारा योजना अलपत्र परे। उहाले ओलीलाई वरण गर्नुभयो ।

नेपाली राजनीतिमा झापा काण्ड बहुचर्चित छ। यस काण्डमा ओली पक्राउ पर्नुभयो । उहालाई कठोर काराबास सुनाइयो। १४ वर्षसम्म उहा जेल पर्दा उहाको स्वास्थ्य यति खस्क्यो कि त्यो बेलाका पार्टीका सदस्यहरुमा उहाको राम्रो स्याहार नभए थोरै वर्षको अतिथि पो हुने हुन् कि भन्ने चिन्ता थियो। यो चिन्ता हटाउन राधिकासँग ओलीको बिहे गराइदिन पार्टी नेताहरु माधव नेपाल, प्रदीप नेपाल लगायतका नेताबीच छलफल चल्यो। २०३६ सालमै नेपाल राष्ट्र बैङ्कमा जागिरे भइसक्नु भएकी राधिकाको भरथेग भए, ओलीको राजनीतिक जीवन र स्वास्थ्य सहज हुने आँकलन साथीभाइको थियो।

बिहे हुनुको अर्को कारण भने उहा पार्टीका विविध कार्यक्रममा गाउँठाउँ पुग्दा त्यो घरमा वधु माग्न पुगेका हुन् कि भन्ने खोजिनीति हुन्थ्यो। यस्तो समस्याबाट आजित हुनुभएका उहा एउटा स्थायी समाधानको खोजीमा हुनुहुन्थ्यो । यसै खोजीको क्रममा महिला संगठनकी कार्यकर्ता राधिका सबैको नजरमा पर्नुभएको थियो ।

‘मैले ओलीजीका बारेमा पहिले सुनेकी मात्र थिएँ, व्यक्ति देखेकी थिइनँ,’ राधिकाले प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्षमा भन्नुभयो, ‘मैले पहिलोपटक उहाँलाई २०४४ साल असारमा जेलबाट निस्केपछि पाटन इन्जिनियरिङ्ग क्याम्पसले उहाँको स्वागतमा आयोजना गरेको कार्यक्रममा देखेकी थिएँ। पछि पार्टीबाट कुरा आयो, उहाँले पहिलो भेटमै बिहेबाट केही अपेक्षा नगर्नू भन्नुभयो। उहाँको इमानदारिता, कुरा नचपाउने र सत्य बोल्ने कुरा मलाई मनपर्यो।’

हामीले प्रधानमन्त्री ओलीलाई सोध्यौँ, ‘पहिलोपटक म्याडमलाई कहिले र कहाँ भेट्नु भयो ? त्यो बेलाको डेटिङ कस्तो हुन्थ्यो ?’ केहीबेर सम्झने प्रयास गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मंसिर २७ गतेको दिन थियो। म एक जना साथीको बिहेमा अभिभावकत्व ग्रहण गरेर फर्कँदै थिएँ। त्यही दिन भेट्न चाँजोपाँजो मिलाइएको थियो। साँझको बेला थियो। मैले उनलाई खुलस्त कुरा राखेँ। दायाँबायाँ कुरा थिएन।’

पहिलो भेटमा राधिकाले भने केही दिन सोच्छु भनेर जवाफ दिइनु भएन । हुन्छ भनिहाल्नुपर्ने कुरा पनि त थिएन ! ओलीले भने राधिकालाई त्यो बेला भनेको सम्झनु हुन्छ, ‘मेरो घरजग्गा, सुन, फ्याक्ट्री यति छ भनेर भनेको भए पो हो कि होइन भनेर हेर्न जाउँ भन्ने कुरा हुन्थ्यो, निर्णय लिनुपर्ने, चेकजाँच गर्नुपर्ने हुन्थ्यो। केही थिएन। सिङ्गो म मात्र छु भनेपछि के सोच्नु ?’

उहाका अगाडि १४ वर्ष जेल परेर निस्केका कृष काया ओली हुनुहुन्थ्यो । जेलमा हुँदा क्षयरोग लागेको थियो। थपमा अल्सर पनि भएको थियो। ज्यान पनि रोगी र जीर्ण छ। उहाले त्यही बेला राधिकालाई प्रस्ट भनिदिनुभयो, ‘म फेरि पनि जुनसुकै बेला फँसाइन सक्छु र जेल हालिन सक्छु।’

यस्तो अवस्थामा पनि राधिकाले कसरी ओलीलाई ‘पत्याइन्’ होला ? ‘त्यै त !’ प्रधानमन्त्री ओलीले मुस्कुराउँदै राधिकातिर हेरेर भन्नुभयो, ‘मलाई पनि अचम्म लाग्छ, के मूर्खता गरेको होला !’ त्यो बेला आफ्नो अवस्था ‘चरीको कहाँ छ र घर…’ भन्ने गीतजस्तो भएको र राधिकालाई खुलस्त सुनाएको बताउँनुहुन्छ । ‘मैले घरको सपना देखाउने कुरा थिएन,’ उहाले भन्नुभयो, ‘बिहेअघि एउटी श्रीमती पाल्न सकुँला भन्ने पनि थिएन। स्थिति नै छैन त, के भनेर धाक लगाउने ?’

आफ्ना अगाडि खुलस्त उभिएका आफ्ना नेता र भावि श्रीमान् देखेर राधिकाको मनमा के आयो त ? बिहेको टुंगोमा पुग्नु अघिसम्म राधिकालाई ओलीको झापा विद्रोहीको क्रान्तिकारी राजनीतिक छवि थियो, १४ वर्ष जेल बसेको जानकारी थियो र साथै ओलीले बाल्यावस्थामै आमा गुमाएको कुरा पनि सुन्नु भएको थियो । घर परिवारका त्यसबेला मालेको राजनीतिमा सक्रिय रहेकोले पार्टी नेताबारे जानकारी पाउनु भएकी राधिकाले ३० वर्षअघिको त्यो क्षण सम्झिइनु भयो । ‘मलाई त एउटा चुनौती आयो,’ भावुक स्वरमा राधिकाले भन्नुभयो, ‘म अब एकसाथ उहाँको पत्नी हुनुपर्ने, आमा हुनुपर्ने, सबैथोकको रेखदेख गर्नुपर्ने स्थिति थियो। र, मैले उहाँको स्वास्थ्यका लागि, करियरका लागि सबै जिम्मेवारी र चुनौती पूरा गरेँ।’

ओलीले थप्नुभयो, ‘मैले राजनीतिको जिम्मा लिएँ, खाने–बस्ने पाटोको जिम्मा उनले लिइन्। मैले जुन पारिश्रमिक पाउँछु, धेरैजसो सोसल वर्कमा जान्छ। त्यसैले बाँकी कुरा त उनकै भागमा पर्यो।’

राधिकाले पूरै सबैथोक छोपिदिएकाले पनि आफूलाई काम गर्न सहज भएको अनुभव प्रधानमन्त्री ओलीले सुनाउनु भयो । ‘म अलि एकोहोरो छु,’ उहाले भन्नुभयो, ‘कुनै काम गर्न थालेँ भने को आयो र को गयो म भेउ पाउँदिनँ। पढ्न बसेँ भने पनि घण्टौँ पढाइमा जान्छ तर कुनै घटना अगाडि नै घट्यो भने पनि थाहा हुँदैन। पार्टीको काममा पनि म यही तहमा लागिरहेँ, लाग्न पाएँ।’

पतिपत्नी भएपछि सबैको घरमा ठाकठुक त परिहाल्छ। पारिवारिक जीवनमा कत्तिको ठाकठुक पर्छ त ? ‘म त एकोहोरो (गाली) खाइरहेको हुन्छु !’ ठट्यौली पारामा प्रधानमन्त्रीले भन्नुभयो, ‘चरम नि ! मलाई त खुलेआम जोइटिङ्ग्रे भनिदिए हुन्छ ! उनले भनेको खुरुक्क मानिरहेको हुन्छु।’

यसो भनिरहँदा बालुवाटारको प्रधानमन्त्री निवासमा ठूलो हाँसो फैलियो। हुन पनि त्यहाँ प्रधानमन्त्री कार्यालयका केही कर्मचारी, ‘नागरिक परिवार’ म्यागेजिनका आवरण तस्बिर खिच्न पुगेको टोली र पत्रकारहरुको एक मुष्ठ हाँसोले निवास गुञ्जायमान बन्यो। प्रथम महिला राधिकाले बीचमा हाँसो रोक्ने प्रयास गर्दै भन्नुभयो, ‘वास्तवमा उहाँले त मैले भनेको केही मान्नु हुन्न। म समयमा खानू, समयमा सुत्नू भनिरहेकी हुन्छु, उहाँ मान्नु हुन्न।’ यस्तै कुरामा उहाँहरुको ठाकठुक पर्दोरहेछ।

‘टाइममा भात खानू भन्छिन्, म पनि टाइममै खान्छु,’ हाँस्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘घडी हेर त भनेर उनलाई भन्छु, उनी घडीतिर हेर्छिन् अनि म भन्छु यही त हो टाइम। टाइममै खाइरहेको छु भन्छु। सुत्ने बेलामा पनि घडी हेर त भन्छु, उनी घडीतिर हेर्छिन्। देख्यौ टाइममै सुत्न जाँदैछु भन्छु।’

ठट्टापछि केही शान्त हुँदै प्रधानमन्त्री ओली भन्नुहुन्छ, ‘यो अलग कुरा हो, उनले भनेको समय र मैले दिने समय एकै हुँदैन। समयमा खाने, सुत्ने, उनले भनेको एउटा स्थिति हुन्छ, मेरो स्थिति अर्को हुन्छ। उनका लागि त्यो उल्लंघन हुन्छ।’

राधिकाका लागि उहाको पतिको स्वास्थ्य र जीवन ठूलो कुरा थियो, त्यसैले हस्तक्षेप गर्नु स्वाभाविक थियो। यत्ति नगरेको भए उहाको आयु यत्ति लामो नहुन पनि त सक्थ्यो ! ‘त्यै त, म आफैँ पनि छक्क परेको छु !’ प्रधानमन्त्रीले भन्नुभयो, ‘मलाई त २०३१ सालमै मर्छु कि क्या हो भन्ने लागेको थियो, तर मरिनँ, त्यसपछि २०३३–३४ सालमै टिबि भएर, अल्सर भएर अन्तिम अवस्थामा थिएँ। त्यो बेला पनि कसरी बाँचेँ जस्तो लाग्छ।’

बिहेअघि नै ओलीले राधिकालाई भन्नुभएको थियो, ‘झार दुई किसिमका हुन्छन्, एउटा त्यत्तिकै फोहोरमा पनि हलक्क बढ्ने र अर्को स्याहार नभई नहुने। म चाहिँ तुलसीको बोट हुँ। मलाई स्याहार भएन भने ओइलाउँछु। सफा र सुग्घर राखिएन भने सुक्छु।’ ओलीको तुलसी विम्ब समयक्रममा ठ्याक्कै प्रमाणित भयो। वास्तवमा उहा तुलसी नै प्रमाणित हुनुभयो, देशको शिरमा फक्रने तुलसी ! (मङ्गलबार, १४ फागुन २०७५ मा नागरिकमा प्रकाशित)