जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार १७:३३

घेरावन्दीबाट बच्नुपर्छ बालुवाटार–खुमलटार


महत्वपूर्ण ऐतिहासिक परिवर्तनको चरणमा रुकुमले खेलेको भूमिकाबारे यहाँहरु ज्ञात नै हुनुहुन्छ । नेपाली जनयुद्ध अघि बढाउन, सामन्तवादविरुद्ध लड्नका लागि रुकुमबाट वर्गसंघर्षको सुरुवात भएको थियो । रुकुम–रोल्पाबाट जनयुद्धको आधार निर्माण गर्दै अगाडि बढेको थियो । जनयुद्ध नेपाली राजनीतिक परिवर्तनको महत्वपूर्ण ऐतिहासिक कडी थियो । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन हुँदै अघि बढ्ने क्रममा विभिन्न खेमाहरुमा विभाजित थियो । एउटा खेमा शान्तिपूर्ण आन्दोलनबाट अगाडि बढेको थियो । अर्को नेतृत्व सशस्त्र विद्रोहको दिशाबाट अगाडि बढेको थियो । जनयुद्धको जगमा हामीले सबै राजनीतिक दलहरुलाई जनयुद्धको र जनआन्दोलको अभियानमा सामेल गर्न सफल भएका थियौं । कमरेड प्रचण्डले त्यो भूमिका खेल्नुभएको थियो । यो इतिहासको तथ्य हो । हामी आज जनयुद्धको महान २५ औं वार्षिकोत्सव मनाइरहेका छौं । आज म त्यही कार्यक्रममा सहभागी हुन जाँदैछु ।

जनयुद्धको ऐतिहासिकता, यसको महत्व, नेपालको राजनीति परिवर्तनमा यसले खेलेको भूमिका नेपालमा मात्र होइन, विश्व राजनीतिको इतिहासमा एउटा महत्वपूर्ण घटना हो । यसको व्यपक छलफल र समीक्षा भविष्यमा हुँदै जानेछ । यो तथ्य हो । सूर्यलाई हत्केलाले छेकेर छेक्न सकिँदैन । यस अर्थमा यो भूमिबाट यहाँहरुलाई स्वागत गर्न पाउँदा खुसी छु । प्रेस संगठन नेपालको काँधमा ठूलो जिम्मेवारी छ । यसको काँधमा भएको जिम्मेवारी, पार्टीको काँधमा भएको जिम्मेवारी र पार्टीको सरकारको काँधमा भएको जिम्मेवारी हेर्दा फरक–फरक देखिए पनि हामी एउटै उद्देश्य र लक्ष्यमा आधारित छौं । हामी समाजवादी क्रान्तिको लागि अगाडि बढीरहेका छौं । समाजवादी क्रान्तिको लागि आ–आफ्नो मोर्चालाई सुदृढ गर्दै अगाडि बढ्नु पर्दछ ।

दलाल पुँजिवादविरुद्ध संघर्ष गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता छ । दलालहरुको घेराले विभिन्न ठाउँमा घेरेको छ । दलालहरुको विस्तार भइरहेको छ । भ्रष्टाचारको विस्तार भइरहेको छ । त्यसका विरुद्ध पार्टी, सरकार, सञ्चार सबै एकताबद्ध भएर लाग्नु अवश्यक छ । जबसम्म भ्रष्टाचारको अत्य हँुदैन, दलालहरुको घेरा तोड्न सकिँदैन । तबसम्म जनताले चाहेअनुसारको काम गर्न सक्दैनौं । सरकारले गरेको कामको विषयमा केन्द्रीय कमिटीमा प्रधानमन्त्रीले दुई घण्टा ब्रिफिङ गर्नुभएको छ । जनताले त्यसको समीक्षा गरिरहेका छन् । जनताले आफूहरुले कहाँ र कसरी उपलब्धी पायौं भनेर हेरिरहेका छन् । सरकारले गरेका राम्रो कामलाई स्थापित गर्दै गर्न बाँकी र गर्न नसकेका कामहरुमा पार्टीले विशेष निर्देशन दिएर अगाडि बढाउनु आवश्यक छ ।

तीन तहको सरकारहरुको सन्दर्भमा पनि प्रश्न उठिरहेको छ । एउटा समाचार आयो, सबैतिर भ्रष्टाचार भयो । कतिपय ठाउँमा भएको छ । कतिपय तथ्यहरु उजार भएका छन, कति मानिसहरु समातिएका पनि छन् । भएकै कुराहरु हुन । तर राम्रो काम पनि भएका छन । राम्रा कामलाई पनि सँगसँगै स्थापित गरेर जानुपर्छ । सबै नराम्रो मात्र छ, भनेर जाने हो भने संघीयता नचाहानेहरुलाई बल पुग्छ । उनीहरु संघीयता उल्ट्याउन चाहन्छन् । त्यसैले राम्रा कामलाई पनि हामीले स्थापित गर्दै जानुपर्छ ।

सञ्चार क्षेत्रका साथीहरुले खराब भएकालाई भण्डाफोर र उजार गर्दै जानुस । राम्रा कामलाई पनि स्थापित गर्दै जानुस भन्ने आग्रह गर्न चाहान्छु । केही प्रदेश सरकारको सञ्चालनमा केही समस्या छन् । कर्णाली प्रदेशको सञ्चलनमा केही समस्या आएको छ । संघीय सरकारबाट कानुन निर्माणमा ढिलाई हुँदा प्रदेश सरकार निकम्मा होकि जस्तो भएको छ । प्रदेश सरकारको कामहरुलाई कुण्ठित गर्ने काम भएको छ । कहिले त्यही कुरा तल र कहिले त्यही कुरा माथि गर्ने कुराले संघीयतामाथि खेलवाड भइरहेको छ । सरकारले राम्रो काम पनि गरेको छ । सँगसँगै गर्नुपर्ने कामहरु अझै भइरहेको छैनन् । नेपालका गरिब दुःखीले जुन उपचार पाउनु पर्ने थियो, त्यो पाएका छैनन् । सार्वजनिक शिक्षाको सुधार भएको छैन । १५–२० लाखलाई वर्षमा रोजगारी दिने अवस्था छ तर किन भईरहेको छैन ? मैले स्थायी समितिमा यो कुरा राखेको छु । हामीले यी विषयमा छलफल गर्नु छ ।

मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर भनेको छु– प्रधानमन्त्रीज्यू तपाईले अहिले सफलता र असफलताको कुरा नगर्नुस, अहिले जे काम अगाडि बढेको छ । त्यसलाई गति दिनुस, रफ्तारमा अगाडि लैजानुस । यसको मूल्यांकन त आगामी निर्वाचनमा हुनेछ । तपाईले नेतृत्व गरेको यो कामलाई दृढतापूर्वक अगाडि बढाउनुस, तीव्रतामा अगाडि बड्नुस् । भ्रष्ट्राचारको अत्य गर्नुस, सुशासनको स्थापना गर्नुस भनेर मैले सुझाव दिएको थिएँ । त्यसो गर्दा मात्र हामी जनताको मन जित्न सक्छौं । नेकपाले जनताको आधारभूत आवश्यकतालाई पूर्ति गर्नु पर्दछ । संविधानमा लेखिएका मौलिक कुराहरु जनताले खोजेका छन् । त्यसलाई पुरा गर्न आर्थिक विकास र आत्मानिर्भरको बाटोमा अगाडि बढ्नु छ ।

सरकारलाई हामी सबैले मद्दत गर्ने हो । सरकारलाई अझ राम्रो बनाउन मद्दत गर्ने हो । हामीले सरकारको भण्डाफोर होइन, सरकारलाई निर्देशन गर्ने हो । नपुगेको ठाउँमा पार्टीले निर्देशन गर्ने हो । हिजो म कमाण्डर थिएँ । कमाण्डर हुँदा हरेक सदस्यलाई बोल्ने स्वतन्त्रता थियो । सदस्यले आफ्नो कुरा राख्नु पाउने अवस्था थियो । सबै सदस्यले योजना बनाएर मात्र बल्ल लडाँईमा जाने गर्दथ्यो । ती पार्टी समितिहरु जनवादमा आधारीत थिए । पार्टीमा मात्र होइन । सेनाको टुकडीमा पनि जनवाद थियो । आदेशमा चल्दथ्यो । लडाईमा जाँदा आदेशको पालना हुँन्थ्यो । अहिले यो पार्टी आदेशमा चलेको देखेको छु । आदेश मात्र चलेको छ । एउटा व्यक्तिले जे भन्यो त्यही मात्र चल्ने अवस्था हँुदैन भनेर हामीले आवज उठायौं र स्थायी कमिटीको बैठक बस्न सफल भयो । केन्द्रीय कमिटीको बैठक सफल भयो ।

जनवादमा पार्टी चल्नु पर्दछ । कुनै व्यक्ति चाहे प्रचण्ड, चाहे केपी ओली पार्टीभन्दा माथि हुन सक्दैन । जनवादमा आधारित पार्टी चलाएर आएका मान्छे हौं । नदेख्नेहरुले, नजान्नेहरुले, नबुझ्नेहरुले अरुले भनेको भरमा के–के भन्लान् ? त्यो अर्कै कुरा हो । तथ्यमा पार्टी संगठन चलाउदा कसरी चलायौं ? त्यत्रो फोर्स कसरी निर्माण गर्यौं ? कसरी चल्यो होला ! जनवाद थिएन भने त्यो सम्भव हुँदैन । त्यसकारण जनवादमा चलेको पार्टीलाई पूर्ण जनवादमा चलाउन आवश्यक छ । कमिटीमा हरेक सदस्यको स्वामित्व हुन जरुरी छ । हरेक कमिटीहरु प्रभावकारी हुन पर्दछ । दुई जना र चार जना बसेर निर्णय गर्ने कुरा हुँदैन । कर्णालीमा गुटको अत्य गरौं भनेको छु । चिरा परको संगठनलाई अब एकताबद्ध गरेर लैजानु पर्दछ । इतिहासका महत्वपूर्ण कुरालाई हामीले साथमा लिनु पर्दछ ।

हाम्रो शंस्लेषण के हो भने झापा आन्दोलनपछि शान्तिपूर्ण मार्गमा आएको पार्टीले शान्तिपूर्ण ढङ्गले जति काम गर्यो । जनयुद्धलाई मद्दत गर्यो । जनयुद्धमा पार्टीले हतियार उठाए । फेरि शान्तिपूर्ण रुपमा अगाडि बढेको पार्टीलाई मद्दत पुर्यायो । जनयुद्ध हुँदैन थियो भने शान्तिपूर्ण तरीकाले अगाडि बढेको पार्टीलाई निरङ्कुशताले खाई सकेको हुने थियो । जनयुद्धले तिनको रक्षा गरेको थियो । जनयुद्धमा गएको पार्टिलाई शान्तिपूर्ण रुपमा रहेको पार्टीले सदनसम्म ल्याउन मद्दत गरेको थियो । त्यसो नभएको भए त्यो पनि अप्ठेरोमा पर्ने थियो । यो हाम्रो शंस्लेषण हो ।

पार्टी एकताको पहल गर्ने मान्छे म हुँ । एकताको पस्ताव राख्ने मान्छे म हुँ । केपी ओली र प्रचण्ड दुईतिर फर्किएको अवस्था थियो । यो सत्य कुरा हो । उहाँहरुको अगाडि राखेको कुरा झुटो हैन । उहाँहरु हात मिलाउन पनि असम्भव देख्नुहुन्थ्यो । यो सम्भव छ । मैले हेरें, देशभरको विश्लेषण गरें । फेरि पनि राजनीतिक स्थायीत्व नहुने, नयाँ संविधान कार्यन्वयन नहुने अवस्था देखिसकेपछि मैले गएर नेताहरुलाई हारगुहार गरेको हो । चार महिनासम्म मैले रातौं रात घण्टौंसम्म मिटिङ गरेको छु । उहाँहरुलाई एउटा सहज वाताबरण गराएर, छलफलमा ल्याएर, बुँदा–बुँदा लेखेर, दुईजनालाई सहमत गराएर, दुइटालाई लिएर दस्तावेजमा हस्ताक्षेर गराउने मान्छे म हुँ ।

मेरो साथमा विष्णु पौडेल पनि हुनुहुन्थ्यो । पार्टी एकता गरेर समाजवादी क्रान्तिलाई अगाडि लैजाने र आत्मनिर्भर बनाउनका लागि हो । यो फेरि फुटाउनको लागि होइन । यो पार्टी फुटाउनु पर्दछ भनेर लागिरहेका छन् । खबरदार पार्टी फुटाउने फुटवादीहरुलाई अब अवसर दिइने छैन । धेरै ठूलो त्याग र वलिदानपछि एकता गरिएको छ । एकीकृत गरिएको पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भनेर सबैले पहल गुर्नपर्नेछ । म कमरेडहरुलाई एकताको पक्षमा जोडदार रुपमा लाग्न अनुरोध गर्दछु । केपी ओली नै हाम्रो नेता हो । प्रचण्ड नै हाम्रो नेता हो । माधव नेपाल नै हाम्रो नेता हो । उहाँहरुलाई हामीले नेता मानेका छौं । तर पार्टीको गुटको पक्षमा कोही लाग्छ भने त्यो मान्य हँुदैन । किनभने ठूलो त्याग र बलिदानपश्चात यो पार्टी एकता गराएको हो ।

पार्टी एकताको ऐतिहासिक महत्व बिर्सिएर हामी फेरि जथाभावी बोल्दै हिड्ने, गर्दै हुड्ने, अराजक ढङ्गले गयौं भने जनतालाई स्वीकार्य हुँदैन । हामीलाई भन्न त एक छिन जिब्रोको स्वाद आउँला तर जनताले मान्नेवाला छैन । सञ्चारकर्मी साथीहरुलाई म के भन्न चाहान्छु भने तपाईहरु हरदम अरु कुरा भन्नुस, व्यक्तिको मेरो कुरा भन्नुस, मैले गरेको गल्ती भन्नुस, तर पार्टी एकताको विपक्षमा एक शब्द बोल्नु भयो भने त्यो कुरा सह्य हुने छैन । किनभने त्यो हाम्रो हितमा छैन । समाजवादी क्रान्तिको बाटोमा छैन । हामीले बन्दुक उठाउँदै गर्दा के–के कुराहरु थिए ? कस्तो अवस्था थियो ? गणतन्त्र आउँछ, भन्ने विश्वास थियो कसैलाई ? यो देशमा राजतन्त्र अत्य हुन्छ भन्ने विश्वास थियो ? तर हामी दृढतापूर्वक लडाईमा होमियौं । हाम्रा योद्धाहरुले वलिदानी गर्नुभयो । हजारौं घाइते हुनुहुन्छ । यो नेपालले गर्व गर्ने कुरा हो कि होइन ? त्यसलाई सम्मान गर्ने कुरा हो कि होइन ? हामीले सम्मान गर्दा के इतिहासको अवमुल्यन हुन्छ ? हाम्रो राजनीतिक एकतामा भाँजो आउँछ ? आउँदैन ।

मैले राजनीतिक प्रतिवेदनको आधारमा बोलेको छु । तपाईंहरुलाई म राजनीतिक प्रतिवेदनमा भनेको कुरा भन्न चाहान्छु । राजनीतिक प्रतिवेदन लेख्ने मान्छे म पनि हुँ । राजनीतिक प्रतिवेदनमा हस्ताक्षर गराउने साक्षी म हुँ । यहाँ लेखिएको कुरा तपाईहरुलाई सुनाउन चाहान्छु । यो भन्दा बाहिर कसैले बोल्न पाइदैन । ‘यसै अवधिमा सामन्तवाद र साम्राज्यवादको विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दीर्घकालीन जनयुद्धका रुपमा बल प्रयोग अनिवार्य रहेको निष्कर्षका साथ नेपालको ठोस परिस्थतिमा राजनीतिक र फौजी रणनीतिको विशिष्ट सन्तुलन कायम गर्दै कमरेड प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्धको पहल गर्यो । त्याग वलिदानको कीर्तिमान कायम गर्दै माओवादी जनयुद्धले नेपाली राजनीतिमा नयाँ तरङ्गसहित दुरगामी प्रभाव पार्यो । महिला, दलित, मधेशी, जनजातिलगायत उत्पीडित वर्ग र समुदायलाई जागृत र संगठित गर्न राजनीतिमा समायोजनको मुद्दालाई संगठित गर्न, संविधानसभाको निर्वाचन गर्न र संघीय गणतन्त्रको आधार तयार पार्न माओवादी आन्दोलनले महत्वपूर्ण भूमिका खेल्यो ।’ यो राजनीतिक प्रतिवेदनको कुरा हो ।

यो दुई पार्टीले स्वीकार गरेको कुरा हो । यो हामीले केन्द्रीय कमिटीले अनुमोदन गरेको कुरा हो । वैचारिक राजनैतिक सिद्दान्तको विकासको क्रममा प्रचण्डकै नेतृत्वमा नेकपा माओवादीले एकाइसौं शताब्दीमा नयाँ जनवादको विकाससहित संविधानसभाको निर्वाचन र सरकारको अन्तरसम्बन्ध बारे ठोस कार्यक्रम समेत प्रस्तुत गर्यो । नेकपा माओवादीको पछिल्लो सैद्दान्तिक राजनीतिक विचारले नेकपा एमाले र अन्य दलसँग समझदारीका साथ शान्ति सम्झौतासम्म पुग्ने अवस्थासम्म देशलाई ल्याइ पुर्याउन ठूलो योगदान गर्यो । यहाँ धेरै कुरा छ । यो राजनीतिक प्रतिवेदनकमा लेखिएको कुरा हो ।

राजनीतिक प्रतिवेदनमा प्रष्ट जनयुद्ध लेखिएको छ । जनयुद्धलाई स्वीकार गरेर दुई पार्टीको एकता भएको हो । आज होइन की भनेर भ्रममा नपर्नु होला । यही हो हामीले पास गरेको राजनीतिक प्रतिवेदन । केन्द्रीय कमिटीले पास गरेको प्रतिवेदन हो । त्यस अर्थबाट दुवै आन्दोलन शान्तिपूर्ण आन्दोलन सबै बामपन्थीहरु रोल्पामा गएर गरेको राजनीतिक सहमति । त्यसको आधारमा भएको बाह्र बुँदे सहमति । बाह्र बुँदे सहमतीको आधारमा सबै राजनैतिक पार्टिहरुलाई राजतन्त्रको बिरुद्धमा लागेर नेपाली कांग्रेसलाई पनि गणतन्त्रको पक्षमा ल्याएर राजतन्त्रको विरुद्धमा ल्याएर गणतन्त्र ल्याउन जनयुद्धले भूमिका खेलेको हो ।

जनयुद्ध र जनआन्दोलनले राजतन्त्रको अत्य गरेको हो । आज हामीले गर्वले बोल्न सकेका छौं र भन्न सकेका छौं । आज लोकतन्त्रको सुदृढिकरण गर्न हामीमाथि प्रश्न उठीरहेको छ । कतै बन्दी बनाउन खोजिएको छ । भनेर हामी कम्युनिस्टलाई इंगित गरिएको छ । मैले भने यही रोष्टमबाट त्यो हुन दिइदैन । हुने छैन । हाम्रो पार्टीले गर्न दिने छैन भनेर मैले जवाफ दिएको थिएँ । कुनै पनि अधिकार हनन हुनेगरी कम्युनिस्ट पाटीले त्यो गर्दैन । किनभने युद्धमा जाने पार्टीले स्वातन्त्रताको अर्थ बुझेको हुन्छ । महत्व बुझेको हुन्छ । मैले जति बुझेको छु । तपाईहरुले जतिकै बुझेको छु ।

पार्टी एकताबद्ध भएको कुरा कसैलाई मन परेको छैन भने त्यसलाई छोडिदिनुस् । यो पार्टीको एकता देशको विकासको लागि, समृद्धिको लागि, जनताको लागि आवश्यक हो । त्यकारण एकताको विरुद्धमा एकतालाई भाड्ने गरी कसैले बोल्छ भने त्यो स्वीकार्य हुनेछैन । एकता गर्न सकिँदैन भन्दाभन्दै एकताको पहल गर्नेले यति भन्नु पर्दछ । एकतालाई रक्षा गर्दै एकताको पक्षमा हामी जाने हो । अब हामी गुटको नाममा गलतको समर्थन र सहिको विरोध गर्न सक्दैनौं । हाम्रो विधि छ । पद्धति छ । हामी पार्टीभित्र छलफल गर्न सक्छौं । आलोचना र आत्माआलोचना गर्ने भनेर केन्द्रीय समितिमा निर्णय पनि गरेका छौं ।

इतिहासको आन्दोलनलाई सबै कुरालाई शंस्लेषण गरेर यो पार्टी एकता भएको हो । हिजो ०६ सालदेखि पुष्पलालले खेलेको भूमिकादेखि लिएर आज पछिल्लो समयमा चौम, कोके हुँदै अगाडि बढेको माले एमाले र माओवादी एकता केन्द्र हुदै यहाँसम्म आएको समग्रको शंस्लेषण यो दस्तावेजभित्र छ । यो एकता त्यतिकै भएको होइन । बाटोमा भेट्टाएर आँखा सन्काएर लभ गरेको जस्तो होइन । हामी दुईटा प्रचण्ड र म भनेर प्रधानमन्त्रीले भन्ने गर्नुभएको छ नि । त्यो भनेको सैद्धान्तिक आधारमा जगमा हिजोको समग्र मूल्यांकनको आधारमा भएको छ, भन्ने कुरा हो । त्यसकारण हामी सचेत हौं र सम्यम हौं । एकताविरुद्ध र नेकपा विरुद्धमा भडभैलो हुने गरी कसैले बोल्ने होइन ।

चुनावमा गइयो । चुनावपछि पार्टी एकता हुन्छ कि हुँदैन भनेर फेरि त्यहाँ अनेक कुराहरु भए । अनि फेरि त्यहाँ भिड्न परो भिडेको भिड्डै । नेताहरुको कार्य विभाजन हुने स्थिती आयो । फेरी त्यहाँ समस्या पैदा भयो । केन्द्रीय समितिको बैठक भयो फेरि आशंकाहरु पैदा भएको छ । सम्माननीय प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डलाई पनि खबरदारी गर्न चाहान्छु । त्यो कुरा हामीलाई मान्य हुने छैन । किनभने हामी नेता मान्छौं, नीति मान्छौं, विधि मान्छौं, पद्धति मान्छौं त्यो भन्दा बहिरबाट तपाई गर्न खोज्नुहुन्छ भने त्यो कुरा मान्य हुने छैन ।

अब जनता सचेत भएका छन् । कार्यकर्ताले कुरा बुझेका छन् । हामीले बुझेका छौं । हामीलाई समाजवाद चाहिएको छ । समाजवादमा आधारित क्रान्ति हामिलाई चाहिएको छ । इतिहासको कुरालाई ढाकछोप गरेर त्यसलाई त्यसलाई कमजोर बनाएर बलियो भइने होइन । एकतालाई बलियो बनाएर विचारलाई माथि उठाएपछि नयाँ विचारको शंस्लेषण गरेर हामीले विधि र पद्धतिलाई स्वीकार गरेर । आत्मासात गरेर हुने कुरा हो । सरकारले घेरा तोड्नु पर्दछ । घेरा ताडेर अगाडि बढ्नुस भनेर मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु । दुईटा ‘टार’ घेरावन्दीबाट बच्नुपर्छ, बालुवाटार र खुमलटार घेराबाट बचेन भने फेरी पार्टीमा समस्या आउँछ ।

कमरेडहरु, मेलै प्रेस संगठनको भूमिकालाई यसकारण व्यख्या गरेको छु की एउटा ठूलो संकटबाट कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन भएको एकता हो । त्यसकारण एकतालाई बचाएर मात्र हामी अगाडि बढ्न सक्छौं र हाम्रो स्वातन्त्रता, अधिकार, राष्ट्रियताको रक्षा त्यसबाट मात्र हुन्छ । नेकपा असफल हुँदा नेकपा मात्र होइन, देशै असफल हुन्छ । यो देशको जनताले दुःख पाउनु पर्ने स्थिती हुन्छ । त्यसकारण देशलाई सफल गर्न पार्टीलाई सफल गर्नु छ । पार्टी सफल हुन विधि र मूल्यमान्यतामा अगाडि बढ्नु छ । प्रतिवेदन पढेर मात्र बोल्नु पर्दछ । धेरैले नपढेर बोलेको देखेको छु । दुई तीन पटक पढ्नुस् । नयाँ पुस्ताले नेतृत्व गर्नु पर्दछ । नयाँ पुस्ताले नेतृत्व गर्दा बिशाल हृदय बनाएर गर्नु पर्दछ ।

(सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनर्दान शर्माले प्रेस संगठन नेपाल, कर्णाली प्रदेशको भेलामा व्यक्त विचार)