जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार १८:१४

…मलाई पनि च्याब्रुङसँगै नाचौँ-नाचौँ लाग्यो


रवीन्द्र काफ्ले/यासोक, पाँचथर । पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उदघाटन गर्न आइपुग्दा निकै दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै यासोकमा पुग्दा तमोरबाट डोकोमा बोकेर खानेपानी प्रयोग गर्नुपर्ने विकराल अवस्थाको स्मरणसमेत प्रधानमन्त्री ओलीले गर्नुभयो ।

‘पचास वर्षअघि यो बाटो हिँड्दा तल सिटौलाको पुल तरेर रानीगाउँसम्म आइपुग्दा त्यो उकालोमा डोकामा पानी बोकेर ल्याउनुपर्ने कुरा मैले देखेको छु, मैले भोगेको थिएँ । यी ठाउँहरुमा कसरी खानेपानी पुर्याउने होला भन्ने त्यो चिन्ता थियो,’ अतितको पीडादायी क्षण सम्झदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यहाँ मोटरहरुबाट हिँड्न पाउँदा, यहाँ खानेपानीको धारा सरर बग्न पाउँदा, यहाँ विद्युत् उदघाटन गर्न पाउँदा मलाई त अघि नै च्याब्रुङ सँगै नाचौँ नाचौँजस्तो लागेको थियो ।’ प्रधानमन्त्री ओलीले यो अवस्था आफ्ना लागि औधि खुशीको क्षण रहेको अनुभुतिसमेत सुनाउनु भयो ।

यासोक बृहत पम्पिङ खानेपानी आयोजना सञ्चालन गर्दा वार्षिक एक करोड २० लाख रुपैयाँ शुल्क उठ्ने र उक्त शुल्क तिर्न कठिन पर्ने भन्दै मिनाहा गरिदिन स्थानीयवासीले माग गरेका थिए । उक्त मागमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभयो । ‘देश अलि सम्पन्न भएपछि विद्युत् शुल्क तिर्न पनि कुनै समस्या पर्दैन, तैपनि म सकारात्मक छु,’ प्रधानमन्त्री ओलीले स्थानीयबासीलाई भन्नुभयो । खानेपानीको समस्या हल भएकामा प्रधानमन्त्री ओलीले कुम्मायकका महिलालाई बधाई दिनुभयो ।

‘खासगरी दिदीबहिनीहरुलाई बधाई भन्न चाहन्छु, जसले टाढाबाट दुःखका साथ पानी बोकेर ल्याउनुपथ्र्यो । आवश्यक पर्ने जति पनि पानी खर्च गर्ने बेलामा ढाड भाँचिनेगरी पानी बोक्दाको दुःख सम्झनुपथ्र्यो । त्यो अब हटेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले कुम्मायकको यासोकसहित पूर्वी पहाड अब पर्यटकीय क्षेत्र बन्ने बताउँदै पूर्वाधार तयार पार्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । राँके–रवि–भेँडेटार सडक र दमक–चिसापानी–रवि सडकले एक÷दुई घण्टामै पूर्वी तराईबाट यहाँ आउन सम्भव भएको बताउँदै प्रधानमन्त्री ओलीले पर्यटकलाई न्यायो आतिथ्यको व्यवस्था गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

‘अब म सुझाव भन्न चाहन्छु, यो ठाउँ मान्छेले आराम, रमाइलो गर्ने, स्वच्छ वातावरणमा आउने, जैविक उत्पादन खान आउने, न्यानो आतिथ्यबाट लोभिएर आउने दिन बन्दैछ । त्यसैले राम्रा रेष्टुराँ, राम्रा लज खोल्नुस,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब तीन वर्षभित्र तराईका मान्छे यहाँ आइपुग्छन् । गर्मीको बेला यहाँको लजमा बास बस्नु, त्योभन्दा आनन्द के होला ? उता हपहप गर्मी भएको हुन्छ, यहाँ आएपछि शीतल हावा, कञ्चनजङ्घा, कुम्भकर्णबाट बगेर आएको, फिल्टर गरिएको स्वच्छ पानी त्यो खान पाइने ठाउँ बन्छ यो ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई उहाँको ६९औँ जन्मदिनका अवसरमा सामूहिक शुभकामनासमेत व्यक्त गरिएको थियो ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफ्नो एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुलाई नागरिकमाझ परिचय गराउँदै धन्यवाद दिनुभयो । आफूसँग आउनुभएका साथीहरुमध्ये केहीलाई चिनाउनु उपयुक्त हुन्छ भन्दै प्रधानमन्त्री ओलीले एपेन्डिक्सको उपचारमा संलग्न चिकित्सकहरुबारे करीब पाँच मिनेट परिचयात्मक मन्तव्य व्यक्त गर्नुभयो ।

‘म अचानक गम्भीर बिरामी परेको थिएँ । अचानक ठूलो शल्यक्रिया गरेर उपचार गर्नुपर्ने डाक्टर पनि यहाँ हुनुहुन्छ, डा रमेशसिंह भण्डारी । उहाँ पाँचथरकै पल्लो छेउ बैतडीको वासिन्दा हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले डा दिलीप शर्मालगायत चिकित्सकहरुलाई परिचय गराउँदा सहभागीहरुले तालीले स्वागत गरेका थिए ।