जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार ०९:४४

जस्तो सुकै क्षणमा पनि निराश नहुने स्वभावले प्रधानमन्त्रीले रोगलाई जित्दै आउनु भयो


काठमाडौँ, फागुन २३

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि तंग्रिँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली निकै भलादमी बिरामी रहेको निजी चिकित्सक दिव्या सिंह शाहले बताएकी छन् । मिर्गौला प्रत्यारोपण सफल भएकाले निकै हर्षित मुद्रामा देखिएकी डा। शाहले बिरामीका रूपमा प्रधानमन्त्रीको सहज र ज्ञानी स्वभाव पनि सफलताको कारक रहेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओलीको कहिल्यै निराश नहुने स्वभावले पनि सम्पूर्ण उपचार प्रक्रियामा थप बल पुगेको बताइन् ।

‘उहाँको १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो, त्यसैले अहिले दोस्रोपटक पनि गर्नु आफैंमा चुनौतीपूर्ण कार्य थियो,’ उनले भनिन्, ‘हामीले उहाँलाई धेरै महिनाअघिदेखि प्रत्यारोपणका लागि तयार गर्न थालेका थियौं किनकि दोस्रोपटक प्रत्यारोपण गर्दा शल्यक्रिया टेबुलमै पनि उहाँको शरीरले नयाँ मिर्गौलालाई ‘रिजेक्ट’ गर्ने जोखिम थियो । तर हामी सबैको सामूहिक मिहिनेतले सफलता मिलेको छ ।’

शिक्षण अस्पतालको नेफ्रोलोजी विभागको प्रमुखसमेत रहेकी डा. शाहले झट्ट हेर्दा प्रधानमन्त्रीले बोलेकै भरमा शिक्षण अस्पतालमा प्रत्यारोपण भएजस्तो देखिए पनि त्यसको पछाडि धेरै गृहकार्य भएको खुलासा गरिन् । उनका अनुसार प्रधानमन्त्रीको नेपालमा नै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयसम्म आइपुग्दा स्वदेशमा रहेका विज्ञहरूसँग मात्र नभई विदेशमा रहेका विज्ञहरूसँग पनि लामो छलफल र परामर्श भएको थियो ।

‘प्रत्यारोपण गर्नु भनेको लामो समयसम्म निरन्तर उपचार प्रक्रियामा सहभागी हुनु पनि हो । त्यसैले पनि सरकारप्रमुखको भूमिकामा रहनुभएका प्रधानमन्त्रीको प्रत्यारोपण कहाँ, कसरी गर्दा सहज हुन्छ भनेर पनि हामीले छलफल गरेर निर्णय गरेका हौं,’ उनले भनिन्। ‘प्रत्यारोपणको केही महिनाअघिदेखि नै यसको तयारी सुरु हुन्छ र प्रत्यारोपणपछि नयाँ मिर्गौलाले राम्रोसँग आफ्नो काम निरन्तर नगरेसम्म त्यो जारी रहन्छ । स्वदेशमा गर्दाको फाइदा र बेफाइदाबारे उहाँसँग छलफल गरेर अन्तिममा यहाँ प्रत्यारोपण गर्ने निर्णय गरिएको थियो,’ उनले भनिन् । नेफ्रोलोजिस्ट र प्रधानमन्त्रीको निजी चिकित्सकका रूपमा प्रत्यारोपणपछि भन्दा पनि प्रत्यारोपणका लागि उनलाई तयारी गर्न अझ बढी चुनौती रहेको डा. शाहले जानकारी दिइन् ।

‘चिकित्सकका रूपमा आफ्नो क्षमता र सीपले भ्याएसम्म उहाँलाई सक्दो स्वस्थ राख्नु मेरो पहिलो प्राथमिकता थियो । ताकि उहाँलाई प्रधानमन्त्रीका रूपमा देश र जनताप्रतिको आफ्नो जिम्मेवारी सहजताका साथ बहन गर्न सजिलो होस्,’ उनले गर्वसाथ भनिन्, ‘अब प्रत्यारोपण भइसकेपछि भने धेरै चुनौती छैनन्, जुन चुनौती प्रत्यारोपणका लागि उहाँलाई शल्यक्रिया कक्षसम्म लैजानुपूर्व थियो ।’

प्रधानमन्त्री ओलीले चिकित्सकका रूपमा आफूले गरेका निर्णयलाई निःसंकोच मानिदिने भएकाले पनि काम गर्न अझ बढी सजिलो भएको उनले बताइन् । ‘मैले भनेको कुरा उहाँले कहिल्यै क्रस गर्नुभएन,’ उनले मुस्कुराउँदै भनिन्, ‘मैले अरू देशका राष्ट्रप्रमुख र सरकारप्रमुखका निजी चिकित्सकहरूसँग पनि कुराकानी गरेकी छु । त्यो मामिलामा उहाँ निकै भलादमी हो भन्ने मेरो दाबी छ । किनकि भारतीय राष्ट्रप्रमुखकै हकमा पनि त्यो लागू नहुने मैले सुनें ।’

यस्तै प्रधानमन्त्रीको व्यस्तताका बीच प्रत्यारोपणका लागि शरीरका अन्य अंगहरूको अवस्था के छ भनेर परीक्षण गर्नु र ठीक नभए त्यसलाई ठीक गर्नुपर्ने जस्ता कारणले पनि विगत केही महिना निकै तनावपूर्ण रहेको उनले बताइन् । ‘सबै परीक्षण हुँदै गर्दा केही महिना अगाडि एपेन्डिसाइटिस पनि भयो । त्यो निकै गम्भीर खालको थियो,’ उनले भनिन्, ‘त्यो अवस्थामा पनि उहाँ मैले भनेको मानेर सहज रूपमा अस्पताल आउन तयार हुनुभयो । जसका कारण हामीले समयमै उपचार गर्न सक्यौं र उहाँ छिट्टै निको पनि हुनुभयो ।’

यस्तै उनले प्रधानमन्त्री ओलीको अवस्था अहिलेभन्दा पनि केही वर्षपहिले ‘मेनेन्जाइटिस’ हुँदा निकै नाजुक रहेको खुलासासमेत गरिन् । त्यतिबेला ओली मृत्युको मुखमा पुगेर फर्किएको उनको दाबी थियो । ‘त्यो संक्रमण निकै जटिल र गम्भीर प्रकारको थियो । उहाँको बाँच्ने सम्भावना नै निकै न्यून थियो,’ उनले भनिन्, ‘त्यसबेला नेताहरूले जसरी पनि बचाउनुपर्‍यो भन्दा मैले ७० प्रतिशत मात्रै मेरो हातमा छ भन्ने जवाफ दिएकी थिएँ । तर उहाँ त्यो अवस्थालाई पनि पार गरेर स्वस्थ हुनुभयो ।’ डा. शाहले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारको रफ्तार अहिले देखिएजस्तै रहे ७ दिनभित्र डिस्चार्ज गर्ने जानकारी दिइन् । उनले प्रधानमन्त्री डिस्चार्ज भएर निवासमा फर्किएपछि सामान्य कार्य भने गर्न सक्ने दाबी पनि गरिन् ।

‘उहाँ निवास फर्किएपछि केही समयलाई हामी बाहिरका कार्यक्रमा सहभागी हुन सुझाव दिँदैनौं । तर भित्र बसेर रुघाखोकी जस्ता संक्रमण रहेकाबाट टाढा बसी आफ्नो नियमित भेटघाट गर्न सक्नुहुन्छ,’ उनले भनिन्, ‘केही समय त भीडबाट टाढा रहनुपर्छ । केही दूरीमा बसेर स–साना बैठकमा सामेल हुँदा फरक पर्दैन ।’ उनका अनुसार प्रधानमन्त्रीले व्यक्तिगत सरसफाइका साथै खानपिनमा केही महिना भने विशेष ध्यान दिनैपर्छ । त्यसपछि भने उनको दैनिकी बिस्तारै सामान्य रूपमा फर्कन सक्छ ।

प्रधानमन्त्री ओलीले विभिन्न प्रकारका औषधि सेवन गर्नुपर्ने भएकाले उहाँको निर्णय र प्रस्तुति अप्रत्याशित भएको हो भनेर आलोचना हुने गरेको छ भन्ने प्रश्नको जवाफ दिँदै डा. शाहले भनिन्, ‘स्टेरोइडको ठूलो मात्रा सेवन गर्ने बिरामीमा ‘मुड इलेटेड’ हुन सक्छ भनेर चिकित्साशास्त्रले भन्छ । त्यो सत्य हो तर प्रधानमन्त्रीले कहिल्यै पनि ठूलो मात्रामा स्टेरोइड खानु परेन र पर्दैन वा भनौं मिर्गौला रोगीलाई थोरै मात्रामा स्टेरोइड दिइन्छ । त्यसैले उहाँका बारे त्यो सत्य होइन ।’ उहाँले भारतकी तत्कालीन विदेशमन्त्री स्व. सुष्मा स्वराजको उदाहरण दिँदै उनी पनि मिर्गौला प्रत्यारोपण गरेकी बिरामी भए पनि कहिल्यै त्यो रूपमा आलोचना नभएको बताइन् ।

उनका अनुसार निराश हुने व्यक्तिको भन्दा सधैं उत्साहित रहने व्यक्तिको स्वास्थ्योपचार अझ बढी सहज हुन्छ । त्यसैले अब पनि प्रधानमन्त्री उत्साह र आत्मविश्वासका कारण छिट्टै निको हुनेमा उनी आशावादी थिइन् । ‘उपचारमा आत्मविश्वासको ठूलो भूमिका हुन्छ । स्वास्थ्य भनेको शारीरिक र मानसिक दुवै रूपमा सबल हुनु हो । त्यसको कमी प्रधानमन्त्रीमा छैन,’ उनले भनिन् । (कान्तिपुर)