जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार ०८:५९

हेलो सरकार सडकमा गाडीले अनाधिकृत पार्किङ गरेर बाटो छेके


काठमाडौं ।

बालाजु औद्योगिक क्षेत्रमाथि प्रहरी चौकी वरपरको मूल सडक राति ८ बजे नै ठूला साना गाडी पार्किङले ढाकिन्थे । कोही बिरामी पर्दा राति एम्बुलेन्स लैजान पनि बाटो हुँदैनथ्यो । एक स्थानीयले हेलो सरकारमा उजुरी दर्ता गरेपछि समस्या समाधान भएको छ । उजुरीकर्ताले हेलो सरकार कक्षमा फोन गरी धन्यवाद दिएका छन् ।

उदयपुर बेलटारका एक चालक कोशी पुल हुँदै बेलटार (उदयपुर) जानुभएको रहेछ । उहाँले इटहरी रुट पर्मिट बापत पटके तिर्नुपर्ने हो तर ग्राहकलाई धरान हुँदै इटहरी, बेलटार रुट लामोपर्ने भएकाले छोटो रुट प्रयोग गरी बेलटार जानुभएको रहेछ । बेलटार ट्राफिक प्रहरी हवल्दार रामकुमार शाहले बेलटार आउँदै गर्दा बाटोमा पटके बापत पाँच हजार रुपियाँको बिल काटिदिनुभयो र चालकको कागजपत्र कब्जामा लिनुभयो । चालकले गल्ती अनुसारको राजस्व तिरी कागजपत्र दिलाइपाउँ भनी हेलो सरकारमा उजुरी दर्ता गराएपछि जिल्ला ट्राफिक कार्यालय उदयपुरका इ्न्चार्ज दिनेशकुमार चौधरीलाई सम्पर्क गरी सो बारेमा छानविन गराउँदा हवल्दार शाह आफै चालकको सम्पर्कमा गएर कानुनअनुसारको राजस्व लिई तत्काल चालकको कागजपत्र फिर्ता गरिदिनुभयो । चालकले हेलो सरकार कक्षमा टेलिफान गरी धन्यवाद ज्ञापन गर्नुभयो ।

हेलो सरकार कक्षमा परेका उजुरीको यी दुई गुनासा फछ्र्यौटका उदाहरण मात्र हुन् । यस्ता सैयौँ नागरिकका गुनासाको सम्बोधन भएका छन् । हेलो सरकार कक्षमा उच्च प्राथमिकताका, प्राथमिकताका र साधारण गरी तीन किसिमका गुनासा पर्ने गर्छन् । नागरिकको गुनासाको प्रकृति हेरेर सो कक्षले गुनासाको वर्गीकरण गर्ने गर्छ । हेलो सरकार शाखाका प्रमुख शेखर पौडेलका अनुसार उच्च प्राथमिकताका गुनासा सके तत्काल नसके भोलिपल्टको १२ बजेभित्र फछ्र्यौट गरिसक्नुपर्छ । त्यस्तै, प्राथमिकतामा परेका गुनासाको फछ्र्यौट गुनासो दर्ता भएको मितिले तीन दिनभित्र फछ्र्यौट गरिने गरिन्छ । त्यस्तै साधारण प्रकृतिका गुनासोको ढिलामा एक साताभित्र फछ्र्यौट गरिसक्नु पर्ने निर्देशिकामा व्यवस्था छ ।

गुनासाको फछ्र्यौटको क्रम बढेपछि दर्ता गुनासाको सङ्ख्यामा क्रमिक कमी हुँदैगएका छ । जनताको गुनासो, माग र सुझावको उचित सुनुवाइ गर्न सुरु भएको ‘हेलो सरकार’ कक्षमा गुनासो आउनेक्रम तुलनात्मक रुपमा घटेको छ ।
पछिल्लो छ महिनाको गुनासो तथ्याङ्क हेर्दा २०७६ वैशाखमा सबैभन्दा कम गुनासो दर्ता भएका छन् । वैशाखमा ९६१ वटा गुनासो मात्र दर्ता छन् । त्यसमध्ये ९० अर्थात (९.४ प्रतिशत) गुनासा फछ्र्यौट भएका छन् । जबकि ६ महिना अघि २०७५ मङ्सिरमा १२६८ गुनासो दर्ता भएको थिए । त्यसमा १४.७ प्रतिशत गुनासा फछ्र्यौट भएका थिए ।

२०६८ यता हेलो सरकार कक्षमा जम्मा ९० हजार ८ गुनासा दर्ता भएका छन् । हेलो सरकार शाखा प्रमुख शेखर पौडेलकाअनुसार सोमध्ये ७४ हजार ४३३ (८२.७० प्रतिशत) गुनासा फछ्र्यौट भएका छन् । १५ हजार ५७५ अर्थात् १७.३० प्रतिशत गुनासा मात्र फछ्र्यौट हुन बाँकी छन् । पछिल्लो छ महिनामा कुल ९ हजार ३६८ गुनासा दर्ता भएका छन् । जसमध्ये गृहमन्त्रालयसँग सम्बन्धित सबैभन्दा बढी गुनासो दर्ता भएका छन् । हेलो सरकार शाखाका अनुसार धेरै गुनासा प्राप्त भएका पाँच मन्त्रालयमा एक नम्बरमा गृह रहेको छ । सोपछि दोस्रोमा शिक्षा मन्त्रालय रहेको छ । त्यस्तै, तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, चौथोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र पाँचौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेको छ ।

सोही अनुसार गुनासाका आधारमा सबैभन्दा बढी गुनासा फछ्र्यौट गर्ने पाँच मन्त्रालयमा पनि गृह सबैभन्दा अगाडि छ । गृहले २९.६ प्रतिशत गुनासा फछ्र्यौट गरेको छ । त्यस्तै, दोस्रोमा सङ्घीय मामिला रहेको छ । सो मन्त्रालयले १२.४ प्रतिशत गुनासा फछ्र्यौट गरेको छ । त्यस्तै, तेस्रो, चौथो र पाँचौमा क्रमशः भौतिक पूर्वाधार ५.८ प्रतिशत, श्रम तथा रोजगार ५.२ प्रतिशत र स्वास्थ्यले ४.५ प्रतिशत गुनासाको पछिल्लो छ महिनामा फछ्र्यौट गरेको छ । पछिल्लो छ महिनामा कुल नौ हजार ३६८ गुनासामा उच्च प्राथमिकतामा दुई हजार १९१, प्राथमिकतामा ५७४ र साधारणमा छ हजार ६०३ गुनासा दर्ता रहेको शाखा प्रमुख पौडेलले बताउनुभयो । उहाँकाअनुसार सो मध्ये २० प्रतिशत गुनासा फछ्र्यौट भएका छन् भने ८० प्रतिशत गुनासा फछ्र्यौट हुन बाँकी छन् ।

जनताको गुनासो फछ्र्यौटमा कुनै मन्त्रालय एकदम गम्भीर रुपले लिने र कोही कोही मन्त्रालय त्यति वास्ता नगर्ने भएकाले फछ्र्यौट हुनेजति गुनासाहरू समयमा फछ्र्यौट हुन नसकेको प्रमुख पौडेलले बताउनुभयो । जनताको गुनासोको सम्बोधनमा पछिल्लो समय सरकार गम्भीर देखिए पनि अझै त्यसमा गुणात्मक काम हुन नसकेको प्रमुख पौडेलको भनाइ छ । हेलो सरकारमा सर्वसाधारणले टेलिफोन, फ्याक्स, एसएमएस, इमल मार्फत गुनासा टिपाउने गरेका छन् । टेलीफोन, एसएमएसबाट गुनासो टिपाउँदा शुल्क लाग्दैन । त्यस्तै अहिले सामाजिक सञ्जालबाट सबैभन्दा बढी गुनासा आउने गरेका छन् । सोमध्ये ट्वीटरबाट सबैभन्दा बढी गुनासा दर्ता हुनेगरेको प्रमुख पौडेलले बताउनुभयो । त्यस्तै, फेसबुकबाट पनि गुनासा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

शाखा अधिकृत हरिकला आचार्यका अनुसार जनताको गुनासाको प्रकृति हेरेर सम्बन्धित मन्त्रालयमा कार्यान्वयनका लागि तत्काल पठाउने गरिएको छ । जसमध्ये उच्च प्राथमिकतामा परेका गुनासा तत्काल फछ्र्यौट हुने गरेका छन् भने प्रथमकितामा परेका र साधारण गुनासाको सम्बोधनमा केही ढिलाइ हुनेगरेको छ । गुनासाहरु सबै सम्बोधन हुनुपर्ने भए पनि साधारणखालका गुनासा सम्बोधनमा ढिलाइ भइरहेको पौडेलले जानकारी गराउनुभयो । गोरखापत्र