जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार १६:३९

कुलमान जंगिएपछि अघि बढ्यो त्रिशुली थ्री–बी हब सबस्टेशनको काम


नुवाकोट, जेठ ३

नुवाकोटको पैरबेसीमा निर्माणाधीन त्रिशुली थ्री बी हब सबस्टेशन निर्माणको काम अघि बढेको छ । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ निर्माणस्थलमै पुगेर अवरोध गर्नेबिरुद्ध कठोर रुपमा प्रस्तुत भएपछि काम सुचारु भएको हो ।

त्रिशूली बेसिनमा निर्माणाधीन आयोजनाको विजुलीका लागि निर्माण भइरहेको सबस्टेसन नजिकै ‘दिनमै मुलुकलाई करोडौं क्षति हुन्छ, त्यसको जिम्मा कसले लिने ?’ भन्दै कुलमानले काम रोकेर बिकाशमा बाधक बन्नेमाथि कडा आक्रोश पोख्नुभएको थियो । बिहीबार घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्र पुग्नुभएका घिसिङले अवरोधकर्तालाई प्रहरी लगाएर थुन्नेसम्मको चेतावनी दिनुभएको थियो । सो सबस्टेशन त्रिशूली नदी किनारको नुवाकोटतर्फको भागमा भइरहेको छ । तर, गत मंगलवारदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयले काममा अवरोध पुर्याएका थिए ।

त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउँदै गर्दा अवरोध भएको हो । आयोजनाले आफ्नो निर्माणस्थलतर्फ पर्खाल लगाउनुअघि नै रसुवातर्फको भागमा पनि ५ सय मिटरको पर्खाल निर्माण गरिसकेको छ । स्थानीयको मागअनुसार नै खाल्डो खनिसकेपछि पनि १३ मिटर पछाडि सारेर पर्खाल निर्माण थालिएको थियो । निर्माण अगावै त्यहाँ सबस्टेशन राख्न सहमति जनाएका रसुवातर्फको स्थानीयले अहिले भने पटक–पटक अनेकन माग तेस्र्याएर अवरोध पुर्याउँदै आएका थिए ।

नियतबस काम रोक्न थालेपछि हिजो बिहीबार घिसिङ कडा रुपमा प्रस्तुत हुनुभएको हो । घिसिङ गुगे लगत्तै स्थानीयस्थानीयले घिसिङलाई घेरा हालेका थिए । उनीहरु सबस्टेशन अझै माथि लगेर निर्माण गर्न भन्दै चर्को स्वरमा गर्जिएपछि घिसिङले थर्काउनु भएको हो ।

घिसिङले सबस्टेशन निर्माण गर्दा स्थानीयको जग्गा र घरहरुको सुरक्षाका लागि पर्खाल लगाउने काम भएको र बाँकी कामको लागि बसेर छलफल गर्न सकिने बताए पनि काम गर्न नदिने अडान राखेका छन । घिसिङले सबस्टेशन निर्माणको नरोक्न आग्रह गर्दै स्थानीयको मागमा आफू गम्भीर रहेको बताएपछि आज विहानबाट काम सुरु भएको हो ।

करिब ६ सय मेगावाट विजुली आपूर्ति गर्ने उद्देश्यसहित बनिरहेको सब स्टेशनको निर्माणमा ढिलाइ भए निर्माणाधीन रसुवागढी, माथिललो सान्जेन र सान्जेनको किरब २ सय मेगावाट विजुली खेर जान्छ । त्यसले प्राधिकरणलाई दिनमै करोडौं घाटा लाग्ने छ ।