काठमाडौं, चैत ९ । आगामी बैशाख १ गतेबाट पहिलो चरणमा सर्वसाधारणले काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने भएका छन् । त्यो पनि प्रविधियुक्त वाटर एटिएम मार्फत ।
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच पहिलो चरणमा काठमाडौं महानगर क्षेत्रभित्रका पाँच स्थानमा स्मार्ट वाटर भेन्डिङ मेसिन (वाटर एटिएम) राख्ने विषयको सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सर्वसाधारणले यस्तो सुविधा पाउने भएका हुन । राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर सुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय एमएल पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटिएममै व्यवस्था गरेको कागजबाट निर्मित २ सय एमएलको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै एक रुपैयाँ लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो । उहाँका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ । यो सेवाले एक वोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ ।
सम्झौता अनुसार काठमाडौँ महानगर क्षेत्र भित्रका वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा पहिलो चरणमा वाटर एटिएम राखिनेछ । तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने छ । महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच ओटा राख्ने छ ।
सम्झौतापछि सम्वोधन गर्दै प्रमुख शाक्यले सकेसम्म पाँच वटै नभए पनि कम्तीमा एउटा वाटर एटिएम वैशाख १ मा सञ्चालनमा ल्याउने गरी काम अघि बढाउन निर्देशन दिनुभयो । ‘काठमाडौँमा पानीको हाहाकार भैरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्नका लागि हामीले यो प्रयासको थालनी गरेका हौँ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पुर्याउने हाम्रो लक्ष्य छ । तपाईँहरुले विश्वास दिलाए काम गर्नुभयो भने हामी आगामी दिनमा थप सहकार्य गर्न तयार छौँ ।’
मेयर शाक्यले अहिले प्रविधिको युग भएको भन्दै प्रबिधिजन्य प्रणाली जडानमा महानगरको ध्यान गएको पनि प्रष्ट पार्नुभयो । ‘काठमाडौँमा यस्ता कामका लागि ठाउँ पाउन नै मुस्किल छ । ठाउँ उपलब्ध गराउनु ठूलो कुरा हो,’ उहाँले भन्नुभयो, ‘हामीले करोडौँ पर्ने ठाउँ उपलब्ध गराएका छौँ । त्यसैले ती ठाउँलाई राम्रो सदुपयोग गरेर महानगरवासीको स्वच्छ र गुणस्तरीय पानी पिउने चाहनालाई केही हदसम्म भए पनि पूरा गरिदिनुहोला ।’
निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताउनुभयो । उहाँले पनि आगामी दिनमा यस्ता सहकार्यलाई थप बढाउँदै लैजाने बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता मिसिन राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताउनुभयो । उहाँले थप स्थानमा पनि राख्न सकिने बताउनुभयो । अहिले हरेक वाटर एटिएममा पाँच हजार लिटरको ट््याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने बताउनुभयो । वाटर एटिएम मिसिनमै पनि १ हजार पाँच सय लिटरको ट्याङकि रहने पनि उहाँले बताउनुभयो ।
‘प्रविधिसँग सामिप्यता बढाउनका लागि पनि यस्तो कार्यक्रम ल्याएका हौँ,’ उहाँले भन्नुभयो, ‘पर्यावरणीय हिसावले पनि यो उपयुक्त छ । त्यति मात्र होइन कति पानी खर्च भयो, कति पैसा उठ्यो भन्नेसम्म हामीले थाहा पाउन सकिन्छ । त्यसैले यसलाई हामीले व्यपारको भन्दा पनि सेवाको हिसावले सञ्चालनमा ल्याएका छौँ ।’ उहाँले यो सेवासँगै आफ्नो इच्छा अनुसार पानी पिउन सकिने पनि बताउनुभयो ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत र सदस्य मनराजा रञ्जितले वाटर एटिएमबाट उपभोक्तालाई सुपथ मुल्यमा पानी उपलब्ध गराएर काठमाडौंलाई मानवमैत्री सहर बनाउन मद्दत पुग्ने भन्दै प्लाष्टिकको पढ्दो प्रयोगलाई घटाउन पनि सहयोग पुग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्