जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १४:१०

कोरोनाबिरुद्धको लकडाउनमा प्रहरीको उच्च सतर्कता : सडकको चेकजाँचमै भेटिए उपत्यका कमाण्डर


काठमाडौं, चैत ११ । कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले घोषणा गरेको ‘लकडाउन’ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन प्रहरीले सवै नीति अख्तियार गरेको छ । आज बिहानैदेखि सकडमा माइकिङदेखि गस्तीमा निस्किएको प्रहरीकै प्रयाशले लकडाउन निकै प्रभावकारी बनेको छ ।

प्रहरीका अनुसार आज बिहान केही समय जनता लकडाउनमा बाहिर देखिएपनि दिउसोबाट पुर्णत घरभित्र बस्न थालेका छन । बिहानैदेखि अनुगमन गर्दै सडकमै निस्कनुभएका महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी बिश्वराज पोखरेलका अनुसार बिहानताका केही असहजता महसुस गरे पनि उपत्यकाबासी दिउसोबाट कोरोनाबाट जोगिन घरभित्र बस्नुपर्छ भन्ने निश्कर्षमा पुगेका छन ।

‘बिहान अलिक केही मानिस सडकमा निस्किए, प्रहरीले सम्हाई बुझाइ गरेर फर्काएपछि अवस्था सहज बन्दै गएको छ,’ लकडाउन सफल पार्न खटिने क्रममा नयाँबानेश्वर चोकमा भेटिनुभएका डिआइजी पोखरेलले जनताटाइम्ससँग भन्नुभयो । डिआइजी पोखरेलसहित उपत्यकाका सवै प्रहरी अधिकृतहरुसमेत यतिबेला सडकमै खटिनुभएको छ ।

प्रहरीले सतर्कता बढाउनुका साथै सवारी साधन चेकजाँचमा कडाई गरेपछि आज दिउसोबाट काठमाडौं, ललितपुर र भक्तपुरमा मंगलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएका छैनन । प्रहरीले बिहानैबाट माईकिङ गरी भित्रि शहरहरुमा समेत सर्वसाधरणलाई भित्रै बस्न, घरबाहिर ननिस्कन आग्रह गर्दै हिडेको थियो ।

सडकमा सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो रहेको थियो । कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनेर सरकारले आजबाट एकसाताका लागि मुलुकभर लकडाउन घोषणा गरेको हो । लकडाउनपछि उपत्यका सुनसान जस्तै देखिएको छ ।