जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार ०८:०७

प्रधानमन्त्री केपी ओलीका हास्य र रौद्र रूप


डा ऋषिराम शर्मा

नेपालको इतिहास मात्र होइन, संसारकै इतिहासमा लोकतान्त्रिक विधिबाट कम्युनिस्ट पार्टीलाई सत्ताको सिंहासनमा दुईतिहाइ बहुमतले पुर्याउने चामत्कारिक नेताका रूपमा देखिनुभएको छ केपी ओली । आफ्नो शरीरभरि रोगैरोग बोकेर पनि समृद्धिको सपनामार्फत मुलुकको गरिबीको रोग निको पार्ने प्रतिबद्धताका साथ हिँड्नुभएका ओलीमा जनताले समृद्धिको बिम्ब देखेकै हुन् । सत्ता र सरकारको सङ्लो पानीलाई घृणित र कुशासनले धमिल्याएर लोकतान्त्रिक राजनीतिलाई प्रदूषित पार्दै आएको एउटा पक्ष र त्यही प्रदूषित शासनको पानीका कारण निराशा र कुपोषणको ब्याक्टेरियाले ग्रस्त आमनेपालीमा एउटा रहरलाग्दो उपचारकका रूपमा उदाएकै हुनुहुन्छ ओली ।

बेलुकी सुत्दा एउटा सरकार र बिहान उठ्दा अर्को सरकार हेर्ने बानी परेका कतिपय ट्रेडमार्क बुद्धिजीवीमा लगातार पाँच वर्षसम्मको स्थिर सरकार पाउँदा नपचेर अजीर्ण भएको, छिटोछिटो नयाँ सरकार देख्न चाहने सुकेलुताले सताएको र त्यसैको एलर्जीले अत्तालिएर बेलाबेला बर्बराउने रोगका अभिलक्षण विभिन्न छापा र डिजिटल मिडियामा पोखिएकै हुन् ।
परीक्षाको प्रश्नपत्र बनाउँदा एउटा प्रधानमन्त्री, जाँच दिने बेलामा अर्को प्रधानमन्त्री र कपी जाँच्ने बेलामा अर्को प्रधानमन्त्री बन्ने नौटङ्की राजनीतिको खुद्रा पसल बन्द भएपछि अब भने विद्यार्थीले जाँचका उत्तरपुस्तिकामा ढुक्कसँग प्रधानमन्त्रीको नाम लेख्न पाएका छन् ।

चरम निराशा, कुण्ठा, अभाव र पराईको हस्तक्षेपले थिलथिलिएको मुलुक अनि त्यस देशका पराजित मनोदशा र शोकग्रस्तहरूका ओठमा आशाको मुस्कान ल्याउने ओलीको हास्य रूप र वक्र उक्तिलाई नै हाँसोको विषय बनाउँदै उहाँभित्रको दृढता, अठोट र गाम्भीर्यको मजाक उडाउनेका अगाडि ओलीले जब रौद्र रूप देखाउनुभयो तब एउटा अनलाइन खबरले मे ८ मा लेख्यो – प्रधानमन्त्री ओलीले हँसाउन छोडेर रिसाएको कस्तो नसुहाएको १ के कारण आयो हास्यरसको ठाउँमा रौद्र रूप ?

देशको सबैभन्दा बूढो, पाको, पुरानो, जिम्मेवार र लोकतन्त्रको सक्कली गुणस्तर प्राप्त भन्ने दलका वरिष्ठ नेताले देशको प्रधानमन्त्रीलाई प्रधानमन्त्री र राष्ट्रपतिलाई राष्ट्रपतिको व्यवहार गर्नुको सट्टा दलका कार्यकर्ताझैँ अमर्यादित शब्द प्रयोग गर्ने केटौलेपन देखाउनु कत्तिको औचित्यपूर्ण हो रु संसद्जस्तो गरिमामय स्थानलाई निम्छरा र बेतुकी सन्दर्भहरूको प्रयोग गरेर जोकशाला बनाउनेस आफ्नो पालामा राष्ट्रका सम्पूर्ण उद्योगधन्दा कौडीको भाउमा बेचेर मुलुकलाई हरिकङ्गाल बनाउने, राष्ट्रिय पुँजीपतिहरूका उद्योगधन्दालाई आगो लगाएर खरानी बनाउनेहरूले गरेको फोहोर सोहोर्दा सोहोर्दै मुलुकमा दीर्घकालीन समृद्धिको रूपरेखा कोर्न लाग्नुभएको छ ओली । यस्तो बेला रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुका सट्टा आफ्ना घरभित्रको भाँडभैलो मिलाउन नसकेर त्यताको ध्यान मोड्न सरकारका धावनमार्गमा निरर्थक शब्दजालका दुच्छर काँडा ओछ्याउने र तिनै शब्दका स्यालभाकामा हुइँया काढ्ने पक्षप्रति प्रधानमन्त्रीले दुई कदम कठोर र एक कदम नरमको रणनीति अख्तियार नगरी धरै नभएपछि उहाँको हास्य रूप रौद्र रूपमा परिणत हुनु अस्वाभाविक होइन ।

सरकारका सारथिका लागि एक वर्षभित्र संविधानसँग बाझिएका कानुनलाई नयाँ बनाउनुपर्ने गुरुत्तर अभिभारा एकातिर थियो भने अर्कातिर मुलुकको समृद्धिको दीर्घकालीन खाका कोर्नुपर्ने अर्को चुनौतीपूर्ण कार्य थियो । त्यसलाई वर्तमान सरकारले अपेक्षाकृत रूपमा सफलतापूर्वक सम्पन्न गर्न लाग्दा पनि कहीँकतैबाट जस दिएको देखिएन । एक वर्षभित्र संविधानसँग बाझिएका र जनताको जनजीविका, रोजगारको सुरक्षा र रोजगारको ग्यारेन्टीसँग तथा संविधानको मौलिक हकलगायत संविधानका विभिन्न भागसँग सम्बन्धित तीन सयभन्दा बढी कानुन निर्माण भइसकेका छन् ।

मुलुकमा श्रमप्रति श्रद्धा जगाउने, श्रमिकलाई सम्मान गर्नुपर्ने कुरालाई नीतिगत रूपमै जोड दिइएको छ, प्रधानमन्त्री र राष्ट्रपतिको चीन भ्रमणका क्रममा मुलुकको समृद्धिको दीर्घकालीन खाका कोर्ने अभूतपूर्व सम्झौता र सहमति भएका छन् । चिनियाँ मार्ग हुँदै समुद्र जोड्ने पारवहन सम्झौता, चीनसँग ऊर्जा, रेल, यातायात, भौतिक पूर्वाधार, लगानी, पर्यटनजस्ता विषयमा ऐतिहासिक उपलब्धि हुनु र भारतसँग समेत अरुण तेस्रोलगायत थुप्रै सम्झौता हुनु र लगानी सम्मेलनमार्फत मुलुकमा रेल, जलविद्युत्, यातायात र कृषिका क्षेत्रमा ठूला लगानीकर्तालाई आकर्षित गर्नसक्नु यस सरकारद्वारा मुलुकलाई समृद्ध तुल्याउने सपनालाई विपनामा अनुवाद गर्ने प्रयासहरू हुन् ।

सरकारका उपलब्धिहरूबारे प्रतिपक्षले ‘पानी जुठो पारेको मिथ्या आरोपमा ब्वाँसाले बाख्रासँग निहुँ खोजेको कथाझैं’ निहुँ खोज्नु आश्चर्य होइन तर आफ्नो एउटै सङ्गठनको गोलाभित्र रहेका जनवर्गीय एवं बुद्धिजीवी सङ्गठनका सदस्यहरू विभिन्न पदहरूका रछ्यानमा भुन्भुनाउँदै हिँड्ने झिँगाका रूपमा अनुवाद भएको देख्दा प्रधानमन्त्री हास्यरसमै रमाउनुपर्ने देखिएन र उहाँले आफ्ना कार्यकर्तालाई अरिङ्गालको बिम्ब दिनुभयो । यसै अरिङ्गालको बिम्बलाई लिएर कृत्रिम आँधी सिर्जना गर्न खोजियो तर त्यसको वास्तविकता एवं अन्तर्य के हो भन्ने नबुझेको वा बुझ पचाएको पाइयो । अरिङ्गालले आफै कहिल्यै टोक्दैन, उसलाई एक्लै जिस्क्याउँदा पनि टोक्दैन जब उसको गोलो (सङ्गठन) माथि हमला गरिन्छ त्यसपछि सङ्गठित रूपमै हमला बोल्छ ।

वास्तवमा राम्रो काम गर्दै जाँदा पनि सरकारलाई अनेक कुतर्कका लठ्ठीले घोच्दा र अपशब्दका झटाराले हिर्काउँदा पनि टुलुटुलु हेरेर बस्ने सङ्गठनको गोलाका सङ्गठित सदस्य हुँ भन्नेहरू फोहोरी झिँगे दाउमा रमाएको र पदको हड्डीका पछाडि एक आपसमै स्वानवद् गुर्गुराउँदै हिँडेको देख्दा प्रधानमन्त्रीको हास्यरसको औषधिले खुराक पुग्ने छाँट नदेखेपछि रौद्र रूप देखाउनु स्वाभाविकै थियो । सरकारको नीति र कार्यक्रममा ल्याइएका विषय र महत्वपूर्ण कुराको रचनात्मक छलफलका बदला राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो’ शब्दका बारेमा ‘टोर्नाडो’ उठाउन खोज्ने विपक्ष र त्यसैको लोलीमा बोली मिलाउन खोज्ने सीमित सहकर्मीहरूका व्यवहारबाट समेत प्रधानमन्त्रीको हास्य रूपले चोला फेर्नु अस्वाभाविक होइन ।

२०४६ सालदेखि सरकारी जग्गा हडप्नेहरूका पितृ उतार्ने र भूमाफियाद्वारा बलात्कृत र अपहरित सरकारी भूमिको उद्धार गरी राज्यको मातहत ल्याउन ‘त्रिताल आयोग’ गठन गर्ने र तत्पश्चात् देखिएका गम्भीर प्रकृतिका घटनाबारे जाँचबुझ गर्न उच्चस्तरीय जाँच आयोग गठन गर्ने प्रधानमन्त्रीको हिम्मतको कहीँकतैबाट प्रशंसा नभए पनि एक्लो वृहस्तपतिझैँ एक वर्षभित्र अपहरित जग्गा फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धताका लागि दृढ रहनु ओलीको राष्ट्रिय समृद्धिको यात्रातर्पmको अहम् अठोट मान्नैपर्छ ।

हास्यरसको जथाभावी प्रयोग हुँदा हाँस्नेहरूले नै गम्भीर विषयलाई पनि मजाकको विषय बनाउन खोज्ने र त्यस्तो प्रयोगलाई नै निकै हल्का रूपमा चित्रण गर्ने खतरा रहन्छ । अझै विपक्षले त वीभत्स र भयानक (रुन पनि नपाइने भन्नेजस्ता) रसका रूपमा चित्रण गर्न खोजेकै देखिन्छ

साहित्यशास्त्रमा रसको उचित, अनुचित र दोषपूर्ण प्रयोगका तीन अवस्था छन् । ओली हास्यरसको अनुचित र दोषपूर्ण प्रयोगबाट बच्नैपर्छ । उचित व्यक्ति र उचित पात्रमा हास्यरसको प्रयोग औचित्यपूर्ण हुन्छ भने तुच्छ एवं हीन पात्रलाई हाँसोको विषय बनाउँदा अनुचित हुन्छ । त्यस्तै रसको उपयुक्त परिवेशमा अनुकूल वातावरण नभएका समयमा हास्यरसको प्रयोग हुनु, पटक–पटक हास्यरसको प्रयोग भइरहनु, पात्रको प्रकृति वा स्वभावविपरीत हास्यको प्रयोग हुँदा त्यस्तो हास्य दोषपूर्ण हुन्छ । हास्यरसको जथाभावी प्रयोग हुँदा हाँस्नेहरूले नै गम्भीर विषयलाई पनि मजाकको विषय बनाउन खोज्ने र त्यस्तो प्रयोगलाई नै निकै हल्का रूपमा चित्रण गर्ने खतरा रहन्छ । अझै विपक्षले त वीभत्स र भयानक (रुन पनि नपाइने भन्नेजस्ता) रसका रूपमा चित्रण गर्न खोजेकै देखिन्छ । अतः प्रधानमन्त्रीले हास्यरसको अनौचित्य र दोषपूर्ण अवस्थाबाट बचेर उचित हास्यको प्रयोग गर्दै हास्यका साथै रौद्र मात्र होइन, उचित समय र परिवेशअनुकूल शान्त, करुण र अद्भुत रसको प्रयोग पनि गर्नैपर्छ ।

पुराणमा पार्वतीले आफूलाई कति प्रेम गर्छिन् भनी परीक्षण गर्न महादेवले ७० वर्षे र्याले बूढाको रूप धारण गरी परीक्षा लिएझैँ प्रधानमन्त्रीले रूप बदलेरै भए पनि आफ्ना निकटतम विश्वासपात्र र आफ्नै भान्सा समूहका भनिने व्यक्तिहरूको कहिलेकाहीँ परीक्षा लिनु उपयुक्त हुन्छ । त्यसो हुँदा अठार घन्टाभन्दा बढी समृद्धिका लागि काममा घोटिए पनि विश्वास गरिएका पात्रहरूबाट जानेर वा नजानेर गरिएका त्रुटिहरूका कारण पैदा हुने सम्भावित समस्या नै पो सिर्जना हुने थिएनन् कि !

प्रधानमन्त्री जुन अठोट, दृढता, लगाव र मिहिनेतसाथ राष्ट्रिय समृद्धिको दृढ सङ्कल्प पूरा गर्न कृतसङ्कल्पित हुनुभएको छ त्यसको रचनात्मक विरोधमार्पmत प्रतिपक्षले र सकारात्मक चर्चामार्पmत सत्तापक्षले दिलैदेखि सहयोग गरी समग्रमा समृद्धिको होस्टेमा हैँसे गर्नु नै समयको आवश्यकता हो ।

 (लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । )