जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार १३:४०

भरतपुरमा कोरोना जाँच गर्ने पिसिआर प्रयोगशाला स्थापना गरिदै


चितवन, चैत २०

सम्भावित कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गर्न पिसिआर प्रयोगशालाको मागसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक टोली स्थलगत अध्ययनका लागि यहाँ आएको छ । जिल्लाका सरोकारवालाले तत्काल सो प्रयोगशाला भरतपुरमा स्थापनाका लागि अनुरोध गरेका थिए ।

सो भाइरसको परीक्षण गर्न प्रयोगशाला यहाँ नहुँदा नमूना सङ्कलन गरी काठमाडौँस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने बाध्यता रहेको छ । नेपाल स्वास्थ्य व्यावसायिक परिषद्का रजिष्टार पुष्पराज खनाल, प्रा डा गिरिराज त्रिपाठी, विमलेश झा र सुलभ आचार्यसहितको टोलीले आज बिहान भरतपुर महानगरपालिकामा छलफल गरेको थियो ।

जिल्लामा हाल भइरहेका उच्चस्तरका चारवटा प्रयोगशालालाई तत्काल स्तरोन्नती गर्ने वा भरतपुर अस्पतालमा नयाँ प्रयोगशाला स्थापना गर्ने भन्ने विषयमा छलफल भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँले सकेसम्म दीर्घकालीन रुपमा काम हुने गरी भरतपुर अस्पतालमा प्रयोगशाला स्थापना गर्न आफूले अनुरोध गरेको तर मन्त्रालयको प्राविधिक टोलीले तत्कालका लागि भइरहेका प्रयोगशाला मध्ये एउटाको स्तरोन्नती गर्ने र पछि भरतपुर अस्पतालमा प्रयोगशाला स्थापना गर्दा राम्रो हुने सुझाव दिएको जानकारी दिनुभयो ।

टोलीले राष्ट्रिय पंक्षी अन्वेषण प्रयोगशाला, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर भित्रका दुईवटा प्रयोगशालाको निरीक्षण गरिरहेको छ । चारवटै प्रयोगशाला अध्ययनपछि दिउँसो छलफल गरेर काम अघि बढाइने प्रमुख दाहालले जानकारी दिनुभयो ।

चार सय ९८ जना होम क्वारेन्टाइनमा

विभिन्न देशबाट यस जिल्ला आएका ४९८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको नियमित अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार उनीलाई निगरानीसहित होम क्वारेन्टाइनमा राखिएको हो । विदेशबाट घर फर्किएर जिल्लाका विभिन्न तहमा बसोबास गर्नेलाई आफ्नै घरमा क्वारेन्टाइनमा राखिएको हो । स्थानीय तह र प्रहरीको सहयोगले उनीहरुको तथ्याङ्क अद्यावधिक गरिएको उहाँले जानकारी दिनुभयो ।

घरमै क्वारेन्टाइनमा रहेकालाई दैनिक प्रहरीले भेट गरी निगरानी गरिरहेको छ । उहाँले भन्नुभयो, “हाम्रा प्रहरीले दिनको एक पटक भेटेर उनीहरुलाई दुई वटा प्रश्न सोध्ने गरेका छन् ।” घरका मानिससँग हेलमेल गरे नगरेको र बाहिर गए नगएको प्रश्न सोध्ने गरेको छ । छिमेकीसँग ती व्यक्तिका बारेमा जानकारी प्रहरीले लिने गरेको उहाँको भनाइ छ ।

ग्रामीण क्षेत्रमा रहेका बढी अनुशासित भए पनि शहरमा क्वारेन्टाइनमा रहेकाले निर्देशन अवज्ञा गर्ने गरेको पाइएको छ । प्रहरीलाई निगरानीमा स्थानीय तहका जनप्रतिनिधिले सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा रहेका विभिन्न अस्पताल र सार्वजनिक स्थलमा गरी ५४२ श्ययाको क्वारेन्टाइन तथा आइशोलेसन स्थापना गरिएको छ । भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल ७० श्यया, भरतपुर अस्पताल ३० श्यया, कलेज अफ मेडिकल साइन्सेज र चितवन मेडिकल कलेज पाँभ÷पाँच श्यया तयार गरिएको छ । त्यसैगरी रत्ननगर नगरपालिकाको गुञ्जमान अस्पताल र बकुलहर अस्पताल गरि २० श्यया, सामुदायिक अस्पताल बच्छ्यौली १५ श्यया, होटल स्टार बैंकुईट रत्ननगरमा ११५ श्या, सौराहाको मारुनीमा ३० श्यया, रत्ननगर नगरपालिका–६ मा रहेको हेल्थपोष्टमा १० श्यया रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकामा ६६ श्ययाको क्वारेनटाइन स्थापना गरिएको छ । वडा नम्बर ६ डिजने पार्टी प्यालेसमा २० श्यया, सैनिक आवासीय महाविद्यालय ३२ श्या, रुरल रिकन्ट्रक्सन नेपालमा १४ श्यया, राप्ती नगरपालिकामा रहेको वुद्धशान्ति माध्यमिक विद्यालयमा १५ श्यया रहेको छ ।

कालिका नगरपालिकाको स्वास्थ्य चौकी भवनमा १० श्यया आधारभूत माध्यमिक विद्यालय जुटपानीमा १५ श्ययाको क्वारेन्टाइन सञ्चालन गरिएको छ । माडी नगरपालिकामा माडी माध्यमिक विद्यालय र माडी क्याम्पसमा गरी १०५ श्यया, इच्छाकामना गाउँपालिकामा २२ श्यया र जिल्ला कारागार चितवनमा १५ श्ययाको क्वारेनटाईन स्थापना गरिएको छ ।

ती मध्ये १०० हाराहारी आइशोलेसनका लागि हुन भने अन्य क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखिएको छ । क्वारेन्टाइनको सङ्ख्या थप गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । हाल आइशोलेसनमा १२ जना र क्वारेन्टाइनमा दुई जना रहेका छन् । अन्य सबै घरमा नै रहेका छन् ।