जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार २०:०२

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीका गुनासै गुनासो 


हटौँडा, १३ जेठ । मंगलबार नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशले वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा हेटौँडामा आयोजना गरेको सञ्चारमैत्री बजेट र कानुन निर्माणमा सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा आयोजना गर्‍यो ।

पत्रकारका समस्या र उनीहरूका अपेक्षा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई सुनाई सञ्चारमैत्री बजेट र कानुन बनाउनको लागि सुझाव दिन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेश भित्रका उपत्यका सहित सबै जिल्लाका महासंघका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा भूगोलका केन्द्रीय सदस्यहरू समेतको सहभागिता रहेको बैठकमा पत्रकारहरूले केही समस्या, गुनासो र प्रदेश सरकारसँगको अपेक्षा सुनाए । कार्यक्रममा पत्रकारले गुनासो सुनाउने भन्दा पनि बढी मन्त्रीकै गुनासो सुन्दै हैरान भए । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने पत्रकारको गुनासो सन्ने भन्दा पनि आफ्ना गुनासै गुनासो सुनाएर हिँड्नु भयो ।

कार्यक्रमका पुरा समय समेत दिन नसक्नु भएका लामिछानेले आफ्नो समस्या र गुनासोहरू सुनाएर कार्यक्रम स्थलबाट बाहिरिनुभयो । उहाँले मन्तव्यको सुरुवात नै गुनासोबाट गर्नुभयो । ‘म प्रहरी परिचालन गर्न नसक्ने प्रदेशको बुख्याचा गृहमन्त्री’, उहाँको पहिलो गुनासो थियो–‘मै न प्रहरी नियुक्त गर्न पाउँछु, न सुरुवा गर्न पाउँछु, न परिचालन गर्न पाउँछु ।’
‘आफ्नो कुनै पनि मिडिया नभएको सञ्चार मन्त्री म’, उहाँको दोस्रो गुनासो थियो । ‘ प्रदेश सरकारको आफ्नै एउटा मिडिया पनि छैन’, लामिछाने भन्नुभयो ।

‘वाग्मती प्रदेशका सबै सचिव संघले खटाउँछ, त्यसमा हाम्रो केही हात छैन, सचिव फेरिएको फेरिएकै हुन्छन्, अहिले बजेट बनाउने बेला मुख्यमन्त्री कार्यालयका सचिव फेरिएका छन्, कसलाई के भन्नु ?’, उहाँले गुनासो गर्नुभयो ।

‘म प्रदेशको कानुन मन्त्री, केन्द्रले कानुन नबनाइदिएको कारण प्रदेश सरकारले के काम गर्नु’, उहाँको अर्को गुनासो थियो । ‘प्रदेश सरकारको आफ्नै भवन छैन, हामी अहिले हेटौँडा सिमेन्टको धमिराले खाएको क्वाटरमा बस्छौँ, आएर हेरिदिनुस्, आफैँ त घिस्री रहेका छौँ, अरूलाई के सहयोग गर्नु ?’, लामिछानेले गुनासो गर्नुभयो ।

प्रदेश सरकारले गरेको लगानी समेत कहाँ लगानी भइरहेको छ भन्ने कुरा नै थाहा नभएको उहाँले गुनासो गर्नुभयो । ‘दूध कारखाना कहाँ खुलेको छ ? कहाँ छ ? थाहा छैन, चकलेट कारखानामा लगानी भएको छ, एउटा चकलेट चाख्न पाएको छैन,  अहिले बजेट लिने बेला हेटौँडामा होटेल खचाखच छन्, बजेट लिएर गए पछि को कहाँ पुग्छ थाहा छैन’, उहाँले भन्नुभयो ।

लामिछानेले आफूसँग मनभरि रहर भए पनि क्षमता नभएको बताउनुभयो । प्रदेश मन्त्रालयकै आफ्नो भवन बनाउन नसकेको अवस्थामा पत्रकार पत्रकार महास‌ंघका जिल्लाका भवन बनाउन सहयोग गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । ‘रहर त छ, तर के गर्नु, खल्ति खाली छ’, उहाँले भन्नुभयो ।