जनता टाइम्स

२१ चैत्र २०७६, शुक्रबार १३:४४

रमेश बिष्टको बिज्ञप्तीबिरुद्ध केन्द्रीय सदस्यको अर्काे बिज्ञप्ती : पत्रकार महासंघको होइन, ब्यक्तिगत धारणा हो


काठमाडौं, चैत २१ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुले महासचिव रमेश बिष्टको नामबाट बिहीवार जारी प्रेस बिज्ञप्ती संस्थागत नभई ब्यक्तिगत रहेको प्रष्ट पारेका छन । ‘काठमाडौं प्रेस’को वेव साइट ह्याक गरि समाचार सामाग्री हटाउने कार्यमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई आक्षेप लगाउँदै महासचिव बिष्टको नाममा आएको बिज्ञप्ती पत्रकार महासंघको आधिकारिक धारणा नरहेको केन्द्रीय सदस्यहरुले प्रष्ट पारेका हुन ।

महासंघका १० जना केन्द्रीय सदस्यले आज बिज्ञप्ती नै जारी गरी जोखिम मोलेर काम गरिरहेका श्रमजिवी पत्रकारको बिषयमा चुसम्म नबोली महासचिव बिष्टले महासंघको गरिमा र प्रतिष्ठामै आँच पुर्याएको भन्दै तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन । बिज्ञप्ती जारी गर्नेमा केन्द्रीय सदस्यहरु गोविन्दप्रसाद चौलागाईं, टेकराज थामी, द्धवारिका काफ्ले, सटेन्द्र जवेगू, स्वेता सिन्हा, छेटू शेर्पा, मधु शाही, रामकृष्ण ज्ञवाली, कृष्ण गिरी र उत्तर विष्ट हुनुहुन्छ ।

यस्तो छ केन्द्रीय सदस्यको बिज्ञप्ती

पत्रकार महासंघको प्रेस विज्ञप्ती सम्वन्धमा ध्यानाकर्षण

कसमस विश्वकर्माको नेतृत्वमा प्रकाशित ‘काठमाडौं प्रेस’को वेव साइट ह्याक गरि समाचार सामाग्री हटाउने कार्य निन्दनीय छ । दोषी विरुद्ध कानूनी कारबाही हुनु पर्नेमा हामी दृढ छौं । गर्विलो इतिहास बोकेको साझा संस्था नेपाल पत्रकार महासंघ जस्तो गरिमामय संस्थाका महासचिव रमेश विष्टमार्फत आएको विज्ञप्तीले सृजित घटनाबाट हामी दुखिद भएका छौं । सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मी र सञ्चार गृहलाई अभिभावकीय भुमिका निभाउनु पर्ने महासंघले कोरोना भाइसरबाट त्रसित जनताको मनोभावलाई समेत ओझेलमा पार्ने गरि पुष्टि नभएका व्यक्ति र बिषय जोडेर निकालेको प्रेस विज्ञप्ती संस्थागत नभई व्यक्तिगत भएको सबैलाई जानकारी गराउँछौ ।
यस बिषम परिस्थितिमा महासंघ जस्तो साझा र भरोषायोग्य संस्थाको गौरवमय इतिहास बचाउन चाँडो भन्दा चाँडो केन्द्रीय समितिको बैठक बोलाई उठेका बिषयमा गम्भिर बहस गरोस् । पत्रकारका बिशेष मुद्या जस्तै : जोखिम मोलेर रिपोर्टिङ गर्ने पत्रकारको हकमा यस्तो दुखद् परिस्थितमा समेत पारिश्रमिक नदिने सञ्चारगृहलाई झकझकाउन पर्ने र दवाव मुलक कर्याक्रमलाई थप निरन्तरता दिनु पर्ने, लोक कल्याणकारी विज्ञापन बढाउनु पर्ने, समानुपातिक विज्ञापनलाई कार्यन्वयनमा लैजानु पर्ने, पत्रपत्रिका तथा अनलाइनमाथि स्थानीय तहले लगाइएको कर, प्रेस स्वतन्त्रता विरोधी कानूनमा सजक हुँदै पत्रकारका मुद्यामा बहस र छलफल गर्न देश व्यापी अभियान थाल्नु पर्नुका साथै पत्रकारका क्षमता अभिवृद्धि गराउने जस्ता दायित्व बिर्सेर विवादित मोडमा जानु महासंघको स्वभावलाई सुहाउने बिषय होइन ।

पत्रकारका यस्ता संवेदनशिल मुद्यामा केन्द्रीत भई जनतलाई सुसुचित गर्ने मिडियाहाउस र त्यसमा कार्यरत पत्रकारका लागि लक डाउनले पारेको असर तर्फ ध्यान दिँदै महासंघले सरकारसँग बिशेष राहत प्याकेज माग गर्नु पर्ने आम पत्रकारको भवनालाई भुलेर राजीनितको गन्ध दिने खालको विज्ञप्तीले हामीलाई चिन्तित तुल्याएको छ । चाहे जुनसकै पक्षबाट भए पनि प्रेस स्वतन्त्रता विरोधी हर्कदको हामी खुलेर विरोध मात्र होइन, त्यस्ता गतिविधि रोकी महासंघको गर्विलो इतिहास बचाउन हामी सँधै अग्रमोर्चा उभिने छौं ।
केन्द्रीय सदस्यहरु
गोविन्दप्रसाद चौलागाईं
टेकराज थामी
द्धवारिका काफ्ले
सटेन्द्र जवेगू
स्वेता सिन्हा
छेटू शेर्पा
मधु शाही
रामकृष्ण ज्ञवाली
कृष्ण गिरी

उत्तर विष्ट