काठमाडौं, चैत २२ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गत फागुन ८ गते मन्त्री पदबाट राजीनामा दिनुभयो । बाँस्कोटाले राजीनामालगत्तै आफ्नोबारे प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएको भन्दै ट्वीट गर्नुभएको थियो ।
२०७४ चैत २ गते केपी ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएका बाँस्कोटा त्यसको १४ महिनापछि मन्त्रीमा बढुवा हुनुभयो । मन्त्री बनेको १९ महिनापछि बाँस्कोटा सिंहदरबारबाट बाहिरिनु पर्यो । काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेसका लागि स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग कमिसनको बारेमा कुराकानी भएको अडियो सार्वजनिक भएपछि उहाँले राजीनामा दिनुपर्यो ।
राजीनामा दिएका निबर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा डेढ महिनादेखि ‘गुमनाम’ जस्तै हुनुहुन्छ । सञ्चारमाध्यमबाट टाढा रहनुभएका बाँस्कोटा सामाजिक सञ्जाल भने निकै सक्रिय देखिनुभएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत २५ गतेसम्म लकडाउन घोषणा गरेको छ । लकडाउनका बेला बास्कोटाले फेसबुकको सदुपयोग गरिरहनुभएको छ । भलै त्यहाँ जतिसुकै गालीको वर्षा किन होस्।
उहाँको पोष्टमा गरिएका गालीका शब्दहरू आँखा खोलेर पढ्न सकिने खालका छैनन् तर पनि बाँस्कोटाको पोष्ट भने रोकिएका छैनन । बरू व्यंग्यात्मक शैलीमा उनीहरूलाई नै तीर हानिरहनुभएका छ बाँस्कोटा । संयोग के छ भने उहाँको भाषामा प्रधानमन्त्री केपी शर्मा ओलीकै शैली देखिन्छ। उस्तै उखान टुक्का र उस्ताउस्तै व्यंग्यवाणहरू ।
बाँस्कोटाको यो स्टाटस उनीहरूले मात्र बुझछन जसले सत्तारुढ नेकपाभित्रको राजनीतिक परिदृश्य बुझेका छन । बाँस्कोटाको यो तीर पूर्व माओवादीका नेतृत्व र पूर्वएमालेका विपरित गुटका नेताहरूतर्फ सोझिएको छ । कोरोना रोकथामका लागि चीनबाट ल्याइएको सामग्रीमा भ्रष्ट्राचार भएको समाचार बाहिरिनुलाई सत्तारुढ दलको एउटा खेमाले अर्को खेमाको प्रपन्च ठानिरहेको छ । बाँस्कोटाले तिनै खेमालाई टार्गेट गरेर यो तीर फ्याँकेको देखिन्छ ।
बाँस्कोटाले शुक्रबार सात प्याराग्राफको एउटा लेख पोष्ट गर्नुभएको छ, जसमा ८ ओटा प्रश्न गरिएको छ । लेखमा उहाँले जीवन जगतका कुरा गर्नुभएको छ । कोरोना भाइरसले मानव जीवनमा पार्ने असरदेखि विकास निर्माणमा पार्ने प्रभावसमेतका कुराहरू उहाँले उल्लेख गर्नुभएको छ । ‘नेपालमा गाउँलाई सहरले निल्दै गएको छ । अहिले कोरोनाले सामाजिक दुरी कायम गर्न हामीलाई बाध्य पारेको छ । यो महामारीपछि हाम्रो सामाजिक मुल्य र जीवनपद्धतिको मौलिकतालाई जोगाउन हामीले गर्नसक्ने काम केही हुनसक्छ कि सक्तैन ?’ बाँस्कोटाले प्रश्न गर्नुभएको छ । यावत चिन्तनका बीचपनि उहाँले आफ्नो असन्तुष्टि पोख्न भने यो स्टाटसमा पनि छुटाउनु भएको छैन ।
‘सत्यलाई लखेटने र लखेटिने क्रम चल्दै आएको छ । चल्दै पनि जाला । आफु नांगिएर अरुलाई नंग्याउने दाउपेच चल्दै गर्दा हामीले महामारीपछि अपनाउनुपर्ने बाटोबारे सोच्न, सुझाव दिन पनि ध्यान दिए राम्रै होला कि ?’ उहाँको व्यंग्यात्मक सुझाव छ। यति मात्रै होइन, बाँस्कोटाले थप्नुभएको छ, ‘मैले यसो भन्दा प्रिअकुपाइड माइन्डसेट भएका र डीप फेकको सिकार बनेकाहरुले के भन्छन् भन्ने पनि मलाई थाहा छ । तर अध्यारोको राज सुर्य नझुल्किन्जेललाई मात्र हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीहरूका विषयमा चिन्ता व्यक्त गरेपछि उत्पन्न विवादमाथि उहाँले टिप्पणी गर्नुभयो । ‘देशका राष्ट्रपतिले जनताको चासो लिनुपनि नाजायज हो भने जायज कुराको परिभाषा कस्तो हुन्छ होला ?’ उहाँको यो काउन्टर जिज्ञासामाथि कडा प्रतिक्रिया आउछ भन्ने उहाँलाई अग्रिम जानकारी छ, त्यसैले त अन्तिममा लेख्नुभएको छ, ‘कतिपय मेरा परममित्रहरूलाई दिनभरको गरम मसला बन्ला ।’
एकसाता अघिको यो पोष्टमा पनि उहाँले ‘प्रि अक्पाई माईन्डसेट’ शब्द छुटाउनुभएको छैन । कवितात्मक शैलीमा लेखिएको स्टाटसमा उहाँले आफूलाई लोकतन्त्रको सिमाना देखाई दिन आग्रह गर्नुभएको छ ।
विरोधी र विपक्षीलाई शब्दवाण प्रहार गर्न पनि उहाँ खप्पिस हुनुहुन्छ । नपत्याए उहाँको यो पोष्ट हेरौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको ५ (स) लाई उनले यसरी व्याख्या गर्नुभएको छ । सडक, सदन, सामाजिक सन्जाल, सभा समारोह र सार्वजनिक स्थानबाट कम्युनिष्ट सरकारमाथि हमला।
एक साता अघि पोष्ट गरिएको उहाँको एउटा स्टाटसमा पनि चोटिलो व्यंग्यवाण भेटिन्छ। उहाँले आफ्नो विपक्षीलाई शितको आयुसँग तुलना गर्दै भन्नुभएको छ, ‘शितको आयु घाम नलाग्दासम्म मात्र हो ।’ त्यस्तै उहाँले विश्व समुदायले कोरोना भाइरस नामको हलाहल विष पिउंदै गरेको भन्दै यो संकटको घडीमा निलकण्ठ बन्न आग्रह गर्नुभएको छ । केन्द्रबिन्दु डटकमबाट साभार
प्रतिक्रिया दिनुहोस्