जनता टाइम्स

२७ चैत्र २०७६, बिहीबार ०९:३४

कोरोनामा देखिएको आशाको किरण : यसरी रोक्न सकिन्छ महामारी, शून्यमा झार्न सकिन्छ मृत्युदर


काठमाडौं, चैत २७ । कोरोना भाइरसको महामारी सुरु भएयता गत सोमवार अर्थात चैत २४ गते पहिलो पल्ट चीनमा कसैको मृत्यु भएन। जनवरीको अन्तिमदेखि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना प्रभावितबारे दैनिक जानकारी दिँदै आएको छ। सोमवार यता पनि केवल चार जनाको मात्रै कारोनाबाट मृत्यु भएको छ भने कोरोनाको उदगम स्थल बुहानमा लकडाउन खोलिएको छ । पछिल्लो समय फेला परेका संक्रमित पनि सबै आयातीत रहेको चीनले जनाएको छ । हालसम्म चीनमा कोरोना संक्रमितको जम्मा संख्या ८१ हजार ८ सय ६५ पुगेको छ भने ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ।

सुरुमा स्थानीय अधिकारीले सूचना लुकाउँदा चीनको हुबेई प्रान्तमा भाइरस फैलिने मौका पाएको थियो। तर, महामारी फैलिनेबित्तिकै लागू गरिएको कडा लकडाउन, सोसल डिस्ट्यान्सिङ, व्यापक जनशक्ति परिचालन, अस्थायी अस्पताल स्थापना र हजारौँको उपचारपछि एउटा आशाको किरण देखिएको छ, ‘व्यवस्थित रोकथामका उपाय गरे महामारी रोक्न सकिन्छ। मृत्यु शून्यमा झार्न सकिन्छ। स्थानीय संक्रमण शून्यमा झार्न सकिन्छ।’

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र युरोपमा पनि आशाको किरण देख्न थालिएको छ । कोरोनाले हजारौँको ज्यान लिएको इटाली, स्पेन र फ्रान्समा लकडाउनको तेस्रो सातापछि बल्ल त्यसको असर देखिन थालेको छ। मृत्युदरमा पनि कमी आउन थालेको छ।

इटालीमा पनि मृत्युको संख्या घटना थालेको छ । नयाँ संक्रमितको संख्या पनि बिगतको तुलनामा कम रहेको छ । इटलीमा सबैभन्दा बढी प्रभावित क्षेत्र हो, लोम्बार्डी। त्यहाँ केही दिनअघिसम्म आईसीयूको अभावमा बिरामीलाई हेलिकोप्टरमार्फत अन्यत्र लगेर उपचार गरिँदै आएको थियो। नयाँ संक्रमितको संख्या घट्दै जाँदा स्वास्थ्य सेवा प्रणालीमाथि त्यस्तो दबाब कम हुँदै गएको छ। केही दिनयता आईसीयू अभावमा बिरामीलाई अन्यत्र लैजानुपरेको छैन।

कोरोना भाइरसका कारण सबैभन्दा बढीले ज्यान गुमाएको मुलुक हो, इटाली। यहाँ १७ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ३९ हजार ४ सय भन्दा बढी संक्रमित भएका छन्। इटालीले युरोपमै सबैभन्दा पहिले मार्च १० मा लकडाउन घोषणा गरेको थियो।

त्यस्तै, स्पेनमा चार दिनदेखि लगातार मृत्यु हुनेको संख्या घटिरहेको छ। संक्रमितको संख्याको हिसाबले विश्वकै दोस्रो प्रभावित र युरोपमा सबैभन्दा बढी प्रभावित मुलुक हो, स्पेन। स्पेनमा १ लाख ४८ हजार २ सय भन्दा बढी संक्रमित भएका छन्। मृतक संख्याका हिसाबले भने इटालीपछि दोस्रो स्थानमा रहेको स्पेनमा १४ हजार ७ सय ९२ जनाले ज्यान गुमाएका छन्। स्पेनको आपत्कालीन स्वास्थ्य समितिकी उपप्रमुख मरिया होसे सियराले मुलुकको हरेक क्षेत्रमा महामारीको वृद्धिदरमा कमी आएकी बताउनु भएको छ । स्पेनले मार्च १४ मा लकडाउन घोषणा गरेको थियो।

युरोपको अर्को प्रभावित मुलुक हो, फ्रान्स। संक्रमितको संख्याको हिसाबले फ्रान्सभन्दा जर्मनी अगाडि छ। जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना संक्रमित भएका छन् भने फ्रान्समा १ लाख १२ हजार ९ सय ५० जना संक्रमित छन। तर, फ्रान्सको तुलनामा जर्मनीको मृत्युदर अत्यन्त कम छ । हालसम्म जर्मनीमा २ हजार ३ सय ४९ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा भने १० हजार ८ सय ६९ को मृत्यु भइसकेको छ।

दुर्दशा भोग्दै अमेरिका

 

कोरोनाबाट सवैभन्दा बढी मृत्यु भएको इटालीभन्दा अमेरिकामा कोरोना संक्रमितको संख्या दोब्बरभन्दा बढी पुगेको छ। योसमाचार तयारपार्दासम्म अमेरिकामा ४ लाख ३५ हजार १ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्याले केही दिनमै पाँच लाख नाघ्ने देखिएको छ। अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या झण्डै १५ हजार पुगेको छ । अहिलेसम्म कोरोनाबाट अमेरिकामा १४ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ ।

यतिबेला अमेरिका इतिहासकै सबैभन्दा ठूलो दुर्दशा भोगिरहेको छ। दशौँ हजार मानिस उपचारको पर्खाइमा छन्। अस्पतालहरू खचाखच भरिएका छन्। लाशको थुप्रो लागेको छ। स्वास्थ्य सामग्रीको चरम अभाव छ। तर, यस्तो समस्या समाधान गर्ने स्पष्ट योजना नेतृत्वसँग छैन।

अधिकारीहरूले आगामी साता अमेरिकाका लागि झनै कठिन हुने चेतावनी दिएका छन्। अमेरिकाका उच्च पदस्थ चिकित्सक सर्जन जर्नल जेरोम एडम्सले अहिलेको क्षणलाई पर्ल हार्बर र सेप्टेम्बर ११ को आक्रमणसँग तुलना गरेका छन्। तर, ती दुई घटनालाई कयौँ गुणाले पछि पार्ने गरी महामारीले मानवीय र आर्थिक क्षति गर्नेछ।