जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार १०:३४

उपलब्धीका तथ्य छोपेर सरकारको यतिधेरै विरोध किन ?


हो त्यतिखेर, नेपाली समाजमा नेकपा पूर्णरुपले स्थापित हुनेछ। हरेक निर्वाचनमा दुईतिहाई बहुमत प्राप्त गर्न सक्नेछ। त्यसैले, आजको आवश्यक्ता सरकार फेर्ने होइन, बलियो बनाउने हो। नेकपा फुट्ने होइन एकढिक्का हुने हो

यतिखेर, सिंगो विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाटआक्रान्त छ।विश्वको महाशक्ति भनिने देश अमेरिका सवैभन्दा बढी तहस–नहस भएको छ।पूँजिवादी विश्वलाई उठ्नै नसक्ने गरी थला बसालेको छ।पूँजिवादी भन्दा समाजवादी व्यवस्था धेरै सफल भन्ने यथार्थ कोरोना नियन्त्रणमा गणतन्त्र चनिले प्राप्त गरेको सफलताले पुष्ट्याउँछ। यसअर्थमा नेपालका वामपंथीहरु धेरै दूरदर्सी रहेछन।उनीहरुले संविधानमा समाजवादको अपरिहार्यतालाई आत्मसात गरेर देशको सुदूर भविष्यलाई सुनिश्चित गरेका छन।

नेपाल पनि कोरोनाको संक्रमणबाट अछूतो छैन।दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दैछ। उपचारपछि निको भएर घर फर्किनेको संख्यामा पनि क्रमशः वृद्धि हुँदैछ। सौभाग्यनै भन्नुपर्छ यतिबेलासम्म कसैको मृत्यु भएको छैन। यसरी हेर्दा, सरकारको कोरोना नियन्त्रणसम्बन्धी रणनीति सही र सफल देखिन्छ। शुरुमा चीनको वुहानबाट हवाईमार्गहुँदै प्रवेश गरेको कोरोना संक्रमण, सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि खुलासिमाको बाटो स्थलमार्गहुँदै नेपाल प्रवेश गर्न थालेको हो।नेपालमा स्थानीय संक्रमण भन्दा बाहिरबाट आउने संंक्रमितको चापले बढी त्रसित तुल्याएको छ।किनभने बाहिरको संक्रमित स्थानीय समुदायमा घुलमिल भयो भने महामारीको रुप लिनसक्छ। खुला सिमाबाट लुकिछिपी हुने प्रवेश रोकिएन भने कुनैपनि बेला संक्रमण संग्राम लिनसक्छ। त्यसैले, जबसम्म ढुक्क हुने स्थिति बन्दैन तबसम्म नेपाल भारत सिमा कडाईका साथ बन्द गरिनु पर्छ। यति मात्र होइन, तराईका मदरसा र मस्जिदमा बसेका मुस्लिम धर्मालम्बीहरुमा खुद्रामा होइन, थोकमा कोरोना संक्रमित भेटिन थालेको छ।स्थानीयको एकै परिवारमा ५ जना सम्मलाई कोरोना सर्न भ्याएको छ। त्यसैले, मदरसा–मस्जिद मात्र होइन मठ, मन्दिर र गुम्बाहरुमा पनि निगरानी बढाउन र आश्रय लिएकाहरुको आरडीटी परिक्षण गर्न आवश्यक छ।

नेपाल आफै कोरोना उत्पति मुलुक होइन।आगमन मुलुक भए पनि नेपाल अहिले पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ।वैदेशिक रोजगारीको सिलसिलामा विश्वका धेरै देशमा नेपालीहरु पुगेको र भारतसंगको सिमा खुला भएकोले त्यताबाट आउने नेपालीहरुबाट कोरोना संक्रमित भित्रिने खतरा अझै विद्यमान छ। महामारीको रुपलिएको अमेरिका र युरोपका धेरै देशहरुमा नेपालीहरुको बसोवास छ।त्यहाँबाट नेपाल आउनेहरुसंगै कोरोना भित्रिने धेरै सम्भावना छ। यो एउटा पक्ष हो।अर्को पक्ष तापक्रमको प्रभाव हो, इम्युनिटी पावरको प्रभाव हो या अन्य कुनै कारणले हो, नेपालीहरुमा कोरोना संक्रमणको प्रमाणित लक्षण न्युन देखिएको छ।कोरोना संक्रमित नेपालीहरु बिना लक्षण धेरै दिनसम्म सामान्य अवस्था रहेको स्थितिले कोरोना संक्रमणले कुनैपनि बेला झुक्याउन सक्ने सम्भावना धेरै छ। त्यसैले, हरेक दृष्टिबाट ढुक्क र सुनिश्चित नभएसम्म संक्रमणको जोखिमबाट जोगिन सामाजिक तथा व्यक्तिगत दूरीलाई अनिवार्य पालना गर्ने र परिक्षणलाई अझ उन्नत र विश्वसनिय बनाउन जरुरीछ।

नेपालमा यतिखेर, ततीन तहका निर्वाचित सरकारहरु छन। ती आफैमा जनादेशप्राप्त अधिकार सम्पन्न निकायहरु हुन। नेपालका सवै निकायका सरकारहरु कोरोना संक्रमणलाई नियन्त्रण गर्न अहोरात्र क्रियााशिल छन।आफ्ना सिमित साधन, स्रोत शक्ति र सामथ्र्यलाई कोरोना नियन्त्रणमा लगाईरहेका छन।संघीय सरकारको रणनीति र योजनालाई अनुशरण गर्दै कोरोना संक्रमण नियन्त्रणमा अहोरात्र जुटेका छन।चिकित्साकर्मीहरु अहोरात्र खटेका छन।सरकारको कदमलाई मुलुकका अन्य राजनीतिक दलहरुले पनि समर्थन गरेका छन भने जनताले पनि घरमै बसेर लकडाउनको पूर्णपालन गरेका छन। यही भएर नेपालमा कोरोना संक्रमण निययन्त्रणमा सुधार आउँदै गएको यथार्थ नेपाल अति उच्चजोखिमबाट उच्चजोखिममा झरेको डब्ल्युएचओले प्रकाशित गरेको प्रतिवेदनले प्रष्ट पारेको छ। जबकी, आर्थिक तथा प्राविधिक दृष्टिबाट सुविधा सम्पन्न अमेरिका, अष्ट्रलिया र युरोपियन मुलुकहरु कोरोनाको महामारीले आर्थिक तथा सामाजिक रुपमै तहस नहस हुँदैछन।

नेपालमा चीनबाट पहिलो पटक कोरोना संक्रमित प्रवेश गर्दासम्म कोरोना संक्रमण परिक्षण किट, सुरक्षा कवच, थर्मल गन, पिपिए, उच्चकोटीको मास्क र कोरोना उपचारसम्बन्धी औषधी थिएन। शंकास्पद संक्रमितको रगत तथा स्वाव परिक्षण गर्न हङकङ पठाउनु पर्ने अवस्था थियो।त्यो अवस्थालाई तोडेर नेपालमै परिक्षण हुने गरी प्रयोगशालाको स्थापना भयो।केहीदिन अघिसम्म एकमात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण हुने अवस्थालाई तोडेर सातै प्रदेशको ठुला शहरमा कोरोना परिक्षण गरिने व्यवस्था गरिएको छ।उपत्यकाको चापलाई मध्यनजर गरेर उपत्यकाभित्रै तीन ठाउँमा परिक्षण गर्ने व्यवस्था मिलाइएको छ। यतिखेर, कैलाली, कञ्चनपुर र वागलुंगतिरको संक्रमण नियन्त्रणमा छ। काठमाडौ. मनोहराको सनसिटी वरिपरिका नागरिकहरुलाई पनि व्यापक रुपमा आरडिटी परिक्षण गरेर आवश्वस्त बनाएको छ।वीरगंज, रौतहट र उदयपुरको संक्रमणलाई जहाँको त्यही सिलबन्दी गरेर नियन्त्रण गर्ने प्रयास भईरहेको छ। यसरी हेर्दा सरकार कोरोना संक्रमणविरुद्ध युद्धस्तरमा जुटेको प्रष्टै हुन्छ।

हिजोसम्म उपचार सामग्री, सुरक्षा कवच र औषधी नभएर संक्रमितको उपचार गर्न डराईरहेका चिकित्साकर्मीहरु यतिखेर उत्साहका साथ काममा जुटेका छन।सुदूरपश्चिम पठाउँदा नाईनास्ती नगरी मोर्चा सम्हाल्न पुगेका छन। डाक्टर नर्सहरु ज्यानको पर्वाह नगरि अहोरात्र उपचारमा खटेका छन। सुरक्षा निकायहरु भोकै प्यासै सुरक्षामा जुटेका छन। के यो निराशाबाट उत्साहतर्फको पाइला होइन र ? के यो वर्तमान सरकार, मन्त्रीहरु र मातहतका राष्ट्रसेवकहरुले अहोरात्र खटेको परिणाम होइन र ? के यी सवै सरकारको प्रयास र प्रयत्नको प्रतिफल होइन र ? यथार्थ र वास्तविकता यति सकारात्मक हुँदाहुँदै पनि सरकारको यतिधेरै विरोध किन ? यतिधेरै आलोचना किन ? कोरोना भाइरसको विश्वव्यापी महामारीले निम्त्याएको संकटका बेला सरकारको खेदो खन्नैपर्ने यो कस्तो खालको संस्कृति र संस्कार हो ?

नेपाल सतिले सरापेको देश भन्थे, पत्यार लाग्दैनथ्यो। तर, नेपालमा समाजवाद उन्मुख संविधान, अधिकांश प्रदेश र स्थानीय निकायहरुमा नेकपाको बर्चस्व र केन्द्रमा झण्डै दुईतिहाई बहुमतको संघीय सरकार हुनु आफैमा ऐतिहासिक उपलब्धी हो।यो उपलब्धी जनआन्दोलन र जनयुद्धको उपलब्धी हो।नेपालका श्रमजिवी जनताको त्याग तथा बलिदानीपूर्ण संघर्षको प्रतिफल हो।यो उपलब्धी र प्रतिफललाई देशका श्रमजिवी वर्गले जति नजिकबाट आत्मसात गरेका छन, त्यति नै, दलाल पूँजिपति वर्ग, तिनका समर्थक, राजनीतिक दल, बुद्धिजिवी र मिडियाहरुले विरोध गरेका छन।सदियौंदेखि राज गर्दैआएको सत्तामा कम्युनिष्ट पार्टी पुग्नु देशि विदेशी पूँजिवादी–प्रतिकृयावादीका लागि पच्न सकेको छैन।विश्वमा कम्युनिष्टहरु धाराशायी हुँदैगएको बेला नेपालमा पूर्ण बहुमतको कम्युनिष्टहरुको सरकार बन्नु चानचुने कुरा पनि होइन। अझ नेपाललाई आफ्नो करेसावारी ठान्ने छिमेकीका निम्ति त झनै रुचिकर लाग्ने भएन।

त्यसैले, देशी विदेशी प्रतिकृयावादीहरुको लागि वर्तमान कम्युनिष्ट सरकार आँखाको कसिंगर बनेको छ। उनीहरु जसरी पनि यो सरकारलाई मिल्काउन चाहन्छन।उनीहरुको यस्तो कुत्सित योजना हिजो पनि थियो, आज पनि जारी छ।यस काममा उनीहरु सम्बद्ध मिडियाहरु कम्मर कसेर लागेका छन । जनताको एकतालाई भाँड्ने, दिग्भ्रमित बनाउने, सरकारको विरुद्धमा जनमत बढाउने, विरोधी जमात खडा गरेर सरकारलाई बदनाम गर्ने, प्रधानमंत्री र मंत्रीहरुविरुद्ध जनता भड्काउने, उनीहरुको खोइरो खन्ने, आफ्ना मान्छेहरुलाई उभ्याएर पार्टी नेतृत्व र सरकारलाई खुइल्याउने र सम्भव भएसम्म अपदस्थ गराउने सम्मको षड्यन्त्र हुँदै आएको छ। यस्तो काममा दलाल पूँजीपति वर्ग, तिनका राजनीतिक दल र मिडियाहरु लाग्नु अनौठो होइन । अनौठौ त, विरामी प्रधानमंत्रीबाट कोरोना संक्रमण नियन्त्रण हुनसक्तैन। कोरोना महामारीविरुद्ध लड्न स्वस्थ्य र प्रभावशाली नेता चाहिन्छ भन्नेखालका टिप्पणीहरु फिजाउँदै पार्टी र सरकारको नेतृत्व फेर्ने कुरा उठाउनु हो। सरकारबिरुद्ध पार्टीभित्रै भएको हर्कत हो । यो कतै दुईतिहाई बहुमतप्रतिको अविश्वास त होइन ? विगतको अल्पमतिय सकारको प्रधानमंत्री फेर्ने अभ्यासलाई पुनर्जिवन दिन खोजिएको त होइन ? कतै नभाको जात्रा हाँडिगाउँमा भनेझैं नेकपाभित्रको यस्तो कलह र कचिंगलले साँच्चिनै नेपाल सतिले सरापेको देश हो कि जस्तो लाग्न थालेको छ। .

लकडाउनको समयावधि जति लम्बिदै जान्छ, त्यतिनै, मानिसहरुको दैनिक छाक टार्ने समस्या चर्को बन्दै जाने छ। यतिखेर, दिनभरी काम गरेर बेलुका चुल्हो बाल्ने वर्गको समस्या टडकारो बनेर देखापरेको छ।केही समयपछि एक डेढ महिनाको जोहो गरेर लकडाउनमा बस्दै आएको संख्या थपिदै जानेछ। त्यसपछि, बैंकमा पैसा भएर पनि खाद्यान्न खरिद गर्न नपाएका मानिसको संख्या पनि थपिनेछ। तथापि, कोरोना संक्रमणको नियन्त्रण सामाजिक तथा व्यक्तिगत दूरी बढाउने लकडाउनबाहेकअर्को विकल्प छैन।जबसम्म कोरोना संक्रमण पूर्णरुपले नियन्त्रण हुँदैन र हरेक दृष्टिले ढुक्क हुने स्थिति बन्दैन, तबसम्म लकडाउन खोल्नु पनि हुँदैन।अतः यी सवै परिस्थितिको आंकलन गरेर सरकारले कम्तिमा ३ महिनालाई थेग्नसक्ने राहत खाद्य सामग्रीको जोहो गर्न जरुरी छ भने कृषि उत्पादनलाई निरन्तरता दिन सामाजिक तथा व्यक्तिगत दूरी कायम गराउँदै विस्तारै लकडाउन खुकुलो बनाउँदै लैजानु पर्छ।

कोरोनाको महामारीले विश्व समुदायको चेतना रचिन्तनमा अभूतपूर्व परिवर्तन ल्याउँदैछ।जुनसुकै विचार, आस्था, जाति, लिङ्ग र वर्णका किन नहुन ? सवैमा पूँजिवादप्रतिको मोह भंग हुँदैछ।कोरोना महामारी नियन्त्रणमा भोगेको असफलताले पूँजिवादी व्यवस्थाप्रति नागरिकहरुमा वितृष्ण बढ्दैछ।साना र गरिब मुलुकका नागरिकमा पनि विदेशी भुमिमा रगत पसिना बगाएर धन कमाउने चाहना विस्तारै मर्दैछ। वैदेशिक रोजगारीको सिलसिलामा विदेश गए पनि बनाउनु पर्ने त आफ्नै देश रहेछ भन्ने चेत नेपालीहरुमा खुल्न थालेको छ।यो कोणबाट कोरोनाबाट नहसनहस वर्तमान विश्वलाई नियाल्ने हो भने विश्वको धनी र सुविधा सम्पन्न मानिएका अमेरिका, अष्ट्रेलिया र युरोपियन मुलुकहरुलाई अब विदेशी नागरिकहरुको चाप थेग्न हम्मे पर्ने छ। उनीहरु आफै कसरी उठ्ने भन्ने चिन्ताका बिचमा विदेशी नागरिकहरु पाल्ने व्यवस्था व्यवहारिक रुपले कठिन बन्दै गएको कुरा अमेरिकाले आप्रवासीको चाप घटाउन गरेको बिल स्वीकृतिले पनि प्रकटगर्दछ।

यसरी हेर्दा आउने दिनमा नेपालमा स्वदेश फर्किने चाप बढ्न सक्नेछ। भारतमा देखिएको नेपालीहरुको बिचल्ली, सरकारको वेवास्ता र प्रशासनिक उपेक्षाका कारण भारत जाने प्रवृत्तिमा क्रमशः ह्रास आउनेछ। भारतमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्केर आफ्नै देशमा दुःख गर्ने चेतना जागृत हुनेछ। भएको खेतबारी बाँझो राखेर विदेश पलायन हुने प्रवृत्तिमा विस्तारै कमी आउने छ । हो, त्यस अवस्थामा विभिन्न मुलुकमा रहेका नेपालीहरुको आगमनले नेपालको जनसंख्या ४ करोड भन्दा माथि पुग्नेछ। त्यतिखेर, सरकारका सामु अनेक चुनौतिहरु थपिने छन।सरकारकासामु कोरोना संक्रमणबाट डावाडोल बनेको अर्थतन्त्रलाई उठाउने चुनौति हुनेछ। त्यतिखेर, नेपाल भित्रिने रेमिट्यान्समा ठुलो कटौति हुने मात्र होइन, सरकारलाई लाखौं प्रवासी नेपालीको गाँसवासको व्यवस्थापन चुनौतिको सामना गर्नुपर्ने छ।

कुनै पनि महामारी तथा संकटले तहसनहस मात्र बनाउँदैन, आविस्कार, निर्माण र पुनब्र्यवस्थापनको लागि नयाँ ढोका पनि खोल्दछ।कोरोना संकटले मुलुकलाई तहसनहस मात्र बनाएको छैन, समृद्ध नेपाल निर्माण गर्ने नयाँ अवधारणा र अवसर पनि जुराएको छ। कोरोना महामारिले तहस–नहस बनाएका मुलुकहरुमा अल्पकालिन नैभए पनि आर्थिक मन्दी छाउने छ।त्यो मन्दीले वैदेशिक रोजगारीमा गएका नेपालीको रोजगारीमा असर पार्ने छ र विश्वका विभिन्न मुलुकबाट स्वदेश फर्किनेहरुको चाप बढ्नेछ।नेपालमा पनि विदेशी कच्चा पदार्थमा आधारित उद्योग तथा कलकारखानाहरुलाई कच्चा पदार्थको अभावमा तंग्रिन समय लाग्ने छ। व्यापारमा पनि एक किसिमले मन्दी छाउने छ। तथापि, नेपाल कृषि प्रधान देश भएकाले, कृषि उत्पादन बढाउन र कृषि उत्पादनमा आधारित साना तथा मझौला उद्योगहरु संचालन गर्न भने सम्भव हुनेछ। हो १ तेतिखेर, कृषि उत्पादनको आधुनिकिकरण निम्ति भुमि उपयोग नीतिलाई नयाँ ढंगले व्यवस्थापन गर्नु पर्दछ। जंगल छेउका बाँझो र पर्ति जमिनहरु, खोला र नदी किनारका उकास जमिनलाई खाद्यान्न उत्पादनमा लगाउनु पर्दछ।

बाँझो र पर्ति जमिन व्यक्तिको नाममा दर्ता गरिएको भए सरकारको स्वामित्वमा ल्याउनु पर्दछ। पूर्व–पश्चिम राजमार्ग दक्षिणका जल शोषण गर्ने, फल तथा फुलविहिन रुख वृक्षले ढाकिएका जमिनलाई सरकारको स्वामित्वमा कृषि उत्पादनका निम्ति तयार गर्नु पर्दछ।चुरेको फेदीसम्म विस्तार भएका आवाद जमिनलाई सरकारको नियन्त्रण र नागरिकको स्वामित्वमा फलफुल बागवानी र पुष्प उद्यानमा रुपान्तरण गर्नुपर्दछ।ती ठाउँहरुबाट उत्पादित फलफुलको प्रशोधन र पुष्पहरुको विक्रिको लागि बजारको व्यवस्था गर्नु पर्दछ।देशभरिका अव्यवस्थित बसोवास र चुरे फेदिसम्म विस्तारित मानव बस्तीहरुलाई उपयुक्त ठाउँमा सुविधा सम्पन्न आधुनिक बस्तीमा रुपान्तरण गर्नुपर्दछ। तत्कालका लागि यति गर्न सकियो भने कोरोना संक्रमणबाट सामाजिक जिवनलाई पुनःव्यवस्थित गर्न सकिन्छ। यसैगरी, चुरे पर्वतको संरक्षण, कृषि उत्पादनको आधुनिकिकरण तथा तराई–मधेशको विकास गरेर मुलुकको अर्थतन्त्रमा पकड जमाएको दलाल पूँजिवादको अन्त्य गर्ने हो भने मुलुकको अर्थतन्त्रले नयाँ उँचाईमा फड्को मार्नेछ। हो त्यतिखेर, नेपाली समाजमा नेकपा पूर्णरुपले स्थापित हुनेछ। हरेक निर्वाचनमा दुईतिहाई बहुमत प्राप्त गर्न सक्नेछ। त्यसैले, आजको आवश्यक्ता सरकार फेर्ने होइन, बलियो बनाउने हो। नेकपा फुट्ने होइन एकढिक्का हुने हो।