जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १८:२८

पुष्पलाल-मदनले निर्माण गरेको पार्टीमा महाभारत किन ?


पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र २०७४ सालको आमनिर्वाचनबाट जनमतप्राप्त प्रधानमन्त्रीलाई चौतर्फी घेरावन्दी गर्दै राजीनामा माग्ने र मुलुकमा अस्थिरता, अराजकता भित्र्याउने गम्भीर षडयन्त्रमा नेकपाका नेताहरु फसेका छन । यो घटनाले मुलुकलाई पुनः एकपल्ट अस्थिरता र अराजकता, साम्प्रदायिकतामा लाने जोडजुलुम प्रयाश भइरहेको प्रष्टै छ 

राजेन्द्र गौतम

पार्टी समाजको अग्रगति, प्रगति र समृद्धिको बैचारिक र राजनीतिक संगठन हो, पार्टीले प्रुमख रुपमा बिचारधारा र राजनीतिको क्षेत्रमा नेतृत्व प्रदान गर्नुपर्छ : जननेता मदन भण्डारी

सैद्धान्तिक रुपले सवभन्दा चेतनशील अगुवा दस्ता, संगठित र अनुशासित श्रमजीवि बर्गको प्रतिनिधित्वको दल नै पार्टी हो । आज सम्पुर्ण पार्टी, बिभिन्न गुट र उपगुटहरूमा बिभक्त भएको छ । यस्तो स्थितिमा जवसम्म एक केन्द्रीय नीति तय हुँदैन, तवसम्म कुनै पनि इलाकामा पार्टी निर्माण हुन सक्दैन  :  पुष्पलाल

जननेता मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर दुई वटा शक्तिशाली राजनीतिक पार्टीहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बीचमा एकीकरण सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुनरोदय भएको दुई बर्ष नबित्दै पार्टीभित्र पद र शक्ति संघर्षका कारण महाभारत सुरु भएको छ । केही नेताहरूले बेमौसमी बाजा बजाउँदै आम नेपाली जनतालाई नै निरास पार्ने गरी फोहोरी खेलहरू खेलेका छन । घटनाक्रमहरूले पार्टी एकताको सच्चाइलाई आत्मसात गर्न सकेका छैनन भन्ने पनि देखिएको छ । बास्तवमा यो एकीकरण नेपालको इतिहासकै एउटा महत्वपुर्ण, दुरगामी र अबिष्मरणीय परिघटना थियो ।

यो एकीकरणले नेपालको कम्युनिष्ट आन्दोलनमा भएको टुटफुट र बिभाजनको दुःखदायी श्रृंखलाहरूलाई अन्त्य गर्दै अग्रगहरूले सुरु गरेको र टुटन पुगेको इतिहासको कडीलाई जोडेको छ । नेपाली जनताको पार्टीहरू जुटनुपर्छ भन्ने आकांक्षालाई मूर्तरुप दिएको छ । यस्ले मुलुकको शक्ति सन्तुलनलाई गुणात्मक फडको मारेको छ । मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ता, लोकतन्त्र, राजनीतिक स्थायित्व र समृद्धिका लागि महत्वपुर्ण योगदान गरेको छ । नेपाल राष्ट्रलाई समाजवादउन्मुख मुलुकका रुपमा स्थापित गर्ने आधार तयार गरेको छ । तर एकाएक पार्टीको नीति, बिधि, सिद्धान्त, कार्यक्रम अनि राजनीतिक कार्यदिशा र बाटोका बारेमा एकरुपता हुँदाहुँदै फगत स्वार्थ, पदका कारण एकाएक जनताको आस्था एवं बिश्वासको धरोहर राजनीतिक पार्टी नेकपाका नेताहरूको बीचको महत्वाकांक्षा, पदलोलुपताका कारण अनावश्यक बिवाद चुलिएको छ ।

पुष्पलाल र मदन भण्डारीको अथक र अनवरत संघर्ष, नेतृत्वदायी भुमिका, बौचारिक अगुवाई र नेतृत्वमा बनेको यो पार्टीलाई ध्वस्त गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय तत्वहरूको मतियार बन्न सक्ने खतरा उत्पन्न भएको छ । पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र २०७४ सालको आमनिर्वाचनबाट जनमतप्राप्त प्रधानमन्त्रीलाई चौतर्फी घेरावन्दी गर्दै राजीनामा माग्ने र मुलुकमा अस्थिरता, अराजकता भित्र्याउने गम्भीर षडयन्त्रमा नेकपाका नेताहरु फसेका छन । यो घटनाले मुलुकलाई पुनः एकपल्ट अस्थिरता र अराजकता, साम्प्रदायिकतामा लाने जोडजुलुम प्रयाश भइरहेको प्रष्टै छ ।

२०६२/०६३ सालको ऐतिहासिक जनक्रान्ति र त्यसपछि बिकसित राजनीतिक अवस्थासँगै नेपाली समाजको ऐतिहासिक बिकासक्रमले मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । यसक्रममा सामन्तवादको बिघटन र पतन भएर समाज पूँजीवादी चरणमा प्रवेश गरेको, संबिधानसभाबाट नयाँ संबिधानको निर्माणसँगै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत भएको छ । संबैधानिक र ब्यवहारिक हिसावले जनता सार्वभौम भएको, आफ्ना आन्तरक बिषयमा आफ्नो स्वतन्त्र निर्णय हुने अवस्था निर्माण भएको, राष्ट्रिय स्वाधिनता र स्वाभिमान स्थापित भएको, निर्वाचनको माध्यमबाट, संंघ, प्रदेश, स्थानीय तहमा बामपन्थी शक्तिको झण्डै दुई तिहाइको साथ नेतृत्व स्थापित गर्दै शान्तिपुर्ण तथा बैधानिक संघर्षको बाटोबाट समाजवाद निर्माणका आधारहरू निर्माण गर्दै समाजलाई नयाँ चरणमा प्रवेश गर्ने आन्दोलनको अगुवाई र नेतृत्व गर्ने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै छोड, भरे नै छोड भनेर कस्को सेवा गर्न चाहेको हो ? यो अस्थिरता र अराजकता निम्त्याउनु षडयन्त्र नभए के हो त ? त्यस्को प्रष्ट कारणसहित अगाडि आउनु पर्छ । यो जनमतको उपहास र खिल्ली उडाउने कामको पछि कुन तत्वले काम गरेको छ ? नेकपाका तमाम नेता र कार्यकर्ताहरूले यस्को जवाफ खोज्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यतिबेला हाम्रो नेतृत्वपंक्ति रेडियोमा बज्ने गीत जस्तै ‘मलाई त्यही केटी चाहिन्छ’ भने झै प्रधानमन्त्री पद, अध्यक्ष पदको लागि लडिरहनु भएको छ । एकातिर हामी समाजवादउन्मुख राष्ट्रिय पूँजीको बिकाश र सामाजिक न्यायसहितको समृद्धिको कार्यभार र लक्ष्य अगाडि सारेर संबिधानको कार्यान्वयन र बिकाश, शान्तिपुर्ण प्रतिस्पर्धामार्फत सरकार निर्माण, राष्ट्रिय स्वाधिनता एवं हितको रक्षा, समाजवादउन्मुख समावेशी लोकतन्त्रको सफल प्रयोग, सामाजिक न्यायसहितको समृद्धि र समाजवादको आधार निर्माण गर्ने मुल राजनीतिक कार्यनीतिका साथ अगाडि बढनुपर्नेमा बिनाऔचित्य, बिनाआवश्यकता सत्ता परिवर्तनको खेलमा सामेल भएर बेमौसमको बाजा बजाईरहेका छौं । बैरीहरू हसाँईरहेका छौं । लाखौं कार्यकर्ताहरूको मन रुवाइरहका छौं ।

नेपालको लोकतान्त्रिक आन्दोलनको महत्वपुर्ण शक्तिका रुपमा नेपाली कम्युनिष्ट आन्दोलनले खेलेको ऐतिहासिक भुमिकालाई बिर्सेर, लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्तिका रुपमा नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाई र नेतृत्व भुलेर हामी फेरि टुटफुट, बिभाजनको अस्थिरता, अराजकताको साँगुरो सुरुङभित्र छिर्न किन खोजिरहेका छौं ? फेरि पनि सामाजिक सदभावमाथि आधारित बलियो राष्ट्रियताको बिकाशका लागि कम्युनिष्ट तथा बामपंन्थी शक्तिहरूको नेतृत्व र निर्णायक भुमिका अनिवार्य छ । अन्यथा फेरि मुलुक जातीय अहंकारवाद, जातीय, क्षेत्रीय संकृर्णता, साम्प्रदायिकता र अतिवादले राष्ट्रिय एकतालाई कमजोर बनाउने, राजनीतिक स्थायित्व, शान्ति खल्बलिने र मुलुकमा अस्थिरता र अराजकता सिर्जना हुने र नेपालको कम्युनिष्ट आन्दोलन तहस नहस गर्ने गरी कम्युनिष्ट पार्टीको नेतृत्व परिवर्तन र सरकारको नेतृत्व परिवर्तनको एजेण्डालाई उचालिएको छ । र, ‘हो मा हो’ मिलाएर हामी कतै कसैको मतियार त बनिरहेका छैनौं ? समयमा नै नेतृत्वको चेतना भया ।

(लेखक गौतम नेकपाका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा प्रेस संगठन नेपालका इञ्चार्ज हुनुहुन्छ)