जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार ११:४८

भारतीय अधिकारीले महाकाली सन्धि कार्यान्वयन गर्न सकिदैन भनेपछि…


यससम्बन्धी एउटा घटनाको उल्लेख गरौं । दिल्लीमा नेपाल–भारतबीचको सम्बन्धका विषयमा एउटा कार्यशाला गोष्ठी भएको थियो । त्यहाँ भारतका परराष्ट्र, जलस्रोत, रक्षा र गृह मन्त्रालयका पूर्वसचिवहरू, नेपालका राजनीतिक नेताहरू, पूर्वसचिवहरू, दुवै देशका बुद्धिजीवी र पत्रकारहरूको उपस्थिति थियो । मैले ‘नेपाल–भारत आर्थिक सम्बन्ध’ विषयमा कार्यपत्र पेस गरेको थिएँ ।

जलस्रोतका विषयमा नेपालका पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुंगेलले कार्यपत्र पेस गर्नुभएको थियो । जलस्रोत विषयमा छलफल गर्ने क्रममा महाकाली सन्धिको कुरा आयो । त्य स विषयमा भारतीय पक्षको अनौठो कुरा सुनेर म छक्क परें र मैले बोल्नैपर्ने भयो । मैले ‘यस विषयमा म केही बोल्छु’ भनी समय लिएँ । मैले ‘नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजन यही कार्यक्रममा हुुनुहुन्छ, म उहाँलाई साक्षी राखेर कुरा गर्छु’ भनेर कुरा सुरु गरें ।

मैले भनें– ‘त्यसबेला भारतका जलस्रोतमन्त्री शुक्लाले नेपाल–भारतबीच सम्पन्न हुने महाकाली नदीसम्बन्धी प्रस्ताव प्रतिपक्षमा रहेको हाम्रो पार्टी नेकपा (एमाले)लाई पठाउनुभयो । उहाँले एमालेले नेपालको संसद्मा सन्धिलाई समर्थन गर्छ भने मात्र भारत यसमा अघि बढ्छ भन्ने आसयका साथ पत्र पठाउनुभएको थियो । हामीले नेपाल–भारतबीच जलस्रोत सम्बन्धमा नयाँ अध्याय सुरु हुने हो भने हामी संसद्बाट अनुमोदन गर्छौं भन्यौं र सन्धि अनुमोदन गरायौं । यसले हाम्रो पार्टीमा विवाद आयो र पार्टी फुट्यो ।

हामीहरूले पार्टी फुट्नेसम्मको खतरा मोलेर सन्धि अनुमोदन गर्‍यौं । तर, आज यहाँ भारतीय मित्रहरूबाट महाकाली सन्धिको विरोधको कुरा सुन्छु । सन्धि कार्यान्वयन गर्न सकिन्नँ भनेको सुन्दा त म छक्क परें । साना छिमेकी मुलुकहरूलाई भारतले कस्तो व्यवहार गर्दैछ ? हामीले तपाईंहरूको आग्रहमा सन्धि अनुमोदन गर्‍यौं । तर, अहिले तपाईंहरू नै कार्यान्वयन गर्न मान्नुहुन्न । यो के हो ?’

मेरो कुरा सुनेर भारतीय पूर्व जलस्रोत सचिवले ठाडै ‘महाकाली सन्धि त्रुटिपूर्ण छ र भारतको हितमा छैन । हाम्रा इन्जिनियर–प्राविधिकहरूले गल्ती गरे । त्यसलाई कार्यान्वयन गर्न सकिन्न’ भने । एक जना अर्का पूर्वसचिवले ‘अधिकारी महोदय, म तपाईंको भावनालाई कदर गर्दछु । तर, अर्थतन्त्र भावनाले चल्दैन, यर्थाथबाट चल्छ । बर्सेनि यति ठूलो घाटा सहेर भारतले यो सन्धि कार्यान्वयन गर्न सक्दैन’ भने ।

बैठकको अध्यक्षता गरिरहेका भारतका पूर्व परराष्ट्र सचिव रसगोत्राले त ठाडै ‘यो महाकाली सन्धि भारतको हितमा छैन र हामी यसलाई मान्दैनौं’ भने । मैले यी कुरा सविस्तार उल्लेख गर्नाको कारण के हो भने नेपालमा महाकाली सन्धि राष्ट्रघाती भन्नेहरूले राम्ररी बुझ्न सकून्– वास्तविकता के रहेछ ? नेपालमा यो सन्धिलाई राष्ट्रघाती भन्ने अनि भारतीयहरूले भारतको अहितमा छ भन्ने ? यो के हो ?

महाकाली सन्धी वारेको भरतमोहन अधिकारीको रोचक प्रसंग (मेरो जीवन यात्राः केही संझनावाट)