जनता टाइम्स

२ असार २०७७, मंगलवार १२:४०

आउँदै छ ओली सरकारको कामको परिणाम : अव बाढी–पहिरो र डुबानबारे यसरी पाइन्छ पूर्वसूचना


 काठमाडौं, असार २ । सरकारले बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तीबाट हुने जनधनको क्षति कम गर्न पूर्वसूचना सेवा सुरु गरेको छ । बाढी–पहिरो तथा डुवानबारे नागरिकलाई पहिल्यै जानकारी गराउन असार १ गतेबाटै पूर्वानुमान तथा पूर्वसूचना सेवा सुरु भएको हो ।

यस वर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला वर्षा सुरु भएको छ भने पर्वतमा ९ जनाको ज्यान गएको छ । वर्षाका कारण केही स्थानमा बाढी, डुबान र पहिरोको उच्च जोखिम पनि बढ्दै गएको छ । त्यस्ता खालका जोखिमबाट आम नागरिकको जीवन रक्षाका लागि असार १ गतेबाट बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकी प्रवक्ता डा.अर्चना श्रेष्ठका अनुसार असार १ गतेदेखि २४ घण्टे पूर्वसूचना सेवा विस्तार गरिएको छ ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी पूर्वसूचना मात्र दिने गरेको थियो । हाल विस्तार बाढी पूर्व सूचना मनसुन अवधिभर लागु हुने श्रेष्ठले जानकारी दिनुभयो । जसअनुसार हरेक दिन बिहान सात बजे प्रमुख नदीहरूको आगामी तीन दिनको बाढी प्रक्षेपण बुलेटिन विभागको वेभसाइडमार्फ जारी गरिने श्रेष्ठले जानकारी दिनुभएको छ । त्यस्तै, मौसमका कारण उत्सर्जित बाढीसम्बन्धी पूर्वसूचना भने केही घण्टा अगाडि संवेदनशीलताका आधारमा नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय, विपद व्यवस्थापनमा संलग्न केन्द्रीय तथा स्थानीय निकाय र सरोकारवालाहरूलाई मोबाइल एसएमएसमार्फत सूचित गरिने छ ।

नेपाल फ्लुड एलर्ट नामको ट्विटर र फेसबुक सामाजिक सञ्जालमार्फत पनि आवश्यकता अनुसार बाढी पूर्वसूूचना तथा बाढीजन्य अन्य सूचना सम्प्रेषण गरिने बिभागले जनाएको छ । विशेष भौगोलिक क्षेत्रको बाढीसम्बन्धी सतर्कताका लागि जानकारी प्राप्त गर्न सर्वसाधारणको लागि टोल फ्रि नम्बर ११५५ सञ्चालनमा ल्याइएको छ । यीबाहेक मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाको फोन नम्बर तथा तिनका वेबसाइटलाई पनि सक्रिय तुल्याइएको बिभागले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै बबरमहल स्थित बाढी पूर्वानुमान महाशाखाले पूर्वतयारीलाई तीब्र पारी २४ घण्टा सेवा दिनेगरी कर्मचारीको व्यवस्थापन गरिएको छ । जलविज्ञ सुनिल पोखरेलका अनुसार बाढी पूर्वसूचना पठाउने एसएमएस प्रणालीलाई विस्तार गर्ने कार्य धमाधम चलिरहेको छ । नदी तटीय साना साना क्षेत्रमा मात्र पठाउँदा पोहोर त्यति प्रभावकारी नभएजस्तो लाग्यो त्यसैले विस्तार गर्न धेरै मानिसलार्य सूचना दिने तयारी गरिएको हो, पोखरेलले भन्न्ुभयो । हाल देशभरमा करिब ८० वटा तटीय क्षेत्रमा बाढीको अवस्थाको जानकारी दिने स्टेसन छन ।

बिभागले डुबान र बाढीको अत्यधिक प्रकोप रहने नेपालका तराइ क्षेत्रमा बाढी पूर्वसूचना चुस्त बनाउने बताएको छ । पहाड वा तराइमा जहाँ पानी परे पनि डुबानको चपेटामा त्यही क्षेत्र पर्ने गर्छ । तर सञ्चार बलियो भएमा पहाडी भेगमा भन्दा तराइमा जनधनको क्षति कम गर्न समय पर्याप्त हुन्छ । जसका आधारमा मोबाइल म्यासेज सञ्चार, पानीको सतह मापन र स्टेसनलाई सक्रिय बनाउन विभाग र महाशाखा दुवैले पहल गरिरहेको छ ।