हाम्रो स्वास्थ्य जीवन, बाताबरणिय प्रदुषण मुक्त र बिषाक्त मिसावट सहितको उपलब्ध तरकारी प्रयोगबाट बच्न अहिले बिशेषगरी शहरी क्षेत्रमा कौसी खेतीको अपरिहार्यता देखिन्छ। धेरै मेहनत गर्न नपर्ने, समय र पैसाको बचन हुने र सुद्ध ताजा तरकारीसमेत खान पाउने उत्तम उपाय पनि यही नै हो। मैले केही महिनादेखि सानो आकारमा भए पनि कौसि खेती गर्दै आएकि थिएँ । यो कोरोनाको महामारीमा अलि व्यबस्थापन गर्न समेत सहज भयो र घरकै कौसीमै तरकारी उपलब्ध हुन थालेपछि बाहिर निस्कन पनि कम भयो र कोरोनाको संक्रमणको जोखिम पनि कम भएको महसुस गरेकि छु
शिला पोख्रेल
कोरोनाको कारण बिश्वव्यापी महामारीमा देशमा भएको लकडाउनको कारण स्कुल, कलेज उद्योग, कल कारखानहरु बन्द भएपछि धेरै मानिसमा आफ्नै घर आँगन बगैचामा रमाउने बानी बसिसकेको थियो । म पनि आफ्नै घरको कौसीमा तुल फुलहरुसंग रमाउदै थिएँ । केही समय अगडि कौसी खेतीतर्फ आकर्षित हुँदै गर्दा यो लकडाउनले मेरो आकर्षणलाई मल जल गर्यो र कौसी खेती गर्न मलाई झनै सहज र उत्साह बढाउदै लग्यो। गोपिकृष्ण नजिक बस्ने मेरी सहयोगि साथी शोभा पाण्डे जस्ले केही समय अघिदेखि समुह बनाएर कौसी खेतीको प्रबर्धन गर्दै हुनुहुन्थ्यो, उहाँ मेरो प्रेरणाको श्रोत नै हुनुभयो । मैले पनि लकडाउनको सदुपयोग गर्दै सौखको रुपमा गर्दै आएको कौसी खेतीलाई अभियानको रुपमा अगाडि बढाउने निधो गरे र निरन्तरता दिई रहेकी छु।
के हो कौसी खेती ?
सामान्यतया घरको छतमा गमलाहरुमा तरकारी रोपेर गरिने खेती कौसी खेती हो। परम्परागत रुपमा सिमेन्टका गमलाहरुमा माटो भरेर घरको छत, बरन्डामा साग सब्जी, गोलभेडा, खुर्सानी आदि आफ्नो सौखको लागि खेती गर्ने गरिन्थ्यो। यसरी गर्दा धेरै सिमेन्टका गमलाहरुले घरको छतको भार बढने र कुनै पनि बेला घरमा क्षेती नेक्सानी हुन सक्ने हुदा नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले आधुनिक कौसी खेती गर्ने नयाँ प्रविधिको बिकास हुँदै गएको छ। यसै सन्दर्भमा मैले बिगत ४(६ महिनादेखि कौसी खेतीमा रुची राख्दै आएकी छु। अहिलेको अबस्थामा बढदो शहरिकरण हुँदै गर्दा खेतीयोग्य जमिनको अभाब भै शहरवासीहरु कौंसी खेतीप्रती आकर्षित भएको देखिन्छ । यति मात्र होईन, अहिले बिश्वको बढदो जनसंख्या तथा सहरिकरणलाई ध्यान दिदै माटो बिना खेती गर्ने हाईड्रोपोनिक र एपोपोनिक प्रबिधिको समेत बिकास भैसकेको छ ।
नेपालमा कौसी खेती :
नेपालको कुल क्षेत्रफलको २१ प्रतिशत करिब ३१ लाख हेक्टर जमिन खेतियोग्य छ भने त्यसमध्ये करिब ३५ प्रतिशत जमिनमा मात्र सिंचाईको सुबिधा रहेको छ। आर्थिक बिकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई समय सापेक्ष नयाँ प्रबिधिको माध्यमबाट आधुनिकिकरण, व्याबसायीकरण र बिबिधिकरण गरी कृषि क्षेत्रको सुधार गर्दै जनताको जिवनस्तरमा सुधार ल्याउनु अहिलेको आवश्यकता हो। त्यसै अन्तर्गत नेपालमा उपत्यका बाहिर कौसी खेतीको आकर्षण खासै नदेखिएता पनि बढदो सहरिकरणको कारण उपत्यकामा खेतियोग्य जमिनको अभाब हुँदै जानु र उपलब्ध तरकारिमा बिषाक्त किटनासक औषधिको अत्यधिक प्रयोग हुनुको कारण कौसी खेतीको आकर्षण बढेको हो। काठमाडौं उपत्यकामा दैनिक करिब १ हजार टन तरकारी खपत हुने गर्छ भने त्यसको ७० प्रतिशत बिक्री बितरण कालिमाटी क्षेत्रबाटै हुने गरेको छ। काठमाडौं उपत्यकामा के कति घरहरु छन भन्ने कुनै एकिन तथ्यांक सरकारी निकाएमा नदेखिए पनि काठमाडौंमा तीन लाख घरहरु भएको अनुमान गरिन्छ । त्यसमध्ये १ लाख घरमा कौसी खेती गर्न सकिने कृषि मन्त्रालय अन्तर्गत रहेको कृषि ज्ञान केन्द्रले अनुमान गरेकोछ। सरकारले यसै आर्थिक बर्षदेखि कौसी खेतीलाई बिशेष महत्व दिई उपत्यकामा कौसी खेतीको प्रबर्धन तथा आकर्षण बढाउन बिशेष कार्यक्रम ल्याई खेती गर्नेलाई तालिम र बिशेष अनुदान दिन यसबर्ष मात्र काठमाडौंको चक्रपथ आसपासभित्र ८० ठाउँमा समूह बनाई २ हजार घरमा बिशेष कौसी खेतीको कार्यक्रम सन्चालन गरेको समाचार पत्रपत्रिकामा आएको थियो।
कौसी खेतीको महत्व :
सर्ब प्रथम खेती भनेको जहाँ सुकै होस, उत्पादनसंगै जोडिएको हुन्छ । यसलाई राष्ट्रिय अभियानको रुपमा लगे राष्ट्रिय उत्पादनमै बृद्धि हुन्छ भने स्वच्छ बाताबरण प्राकृतिक सौन्दर्यता तथा पर्यावरणिय सन्तुलनमा समेत सकारात्मक प्रभाब पर्छ। बढदो शहरिकरण, बाताबरणमा प्रदुषण र बजारमा बिषाक्त युक्त सडेगलेका मह्ंगा तरकारी किन्नु पर्ने बाध्यताका कारण शहरी क्षेत्र बिशेषगरी काठमाडौं उपत्यकामा कौसी खेतीको आकर्षण बढदै गएको मैले अनुभुति गरेकी छु। शहरी क्षेत्रमा बाक्लो घरहरुको निर्माणकार्य नरोकिदा सफा बाताबरण र स्वच्छ अक्सिजन पाउन र हरियाली देख्न समेत मुस्किल भैरहेको अहिलेको अबस्था छ। बजार भन्दा धेरै सस्तोमा फलाउन सकिने, सफा र जैबिक अनि मिसावट मुक्त ताजा तरकारि घर भित्रै टिप्न पाईने आफ्नै घरको फोहर पनि प्रयोग गर्न सकिने र सरल तथा सहजरुपमा घरमा उपलब्ध सानो ठाउँमा टुटे फुटेका प्लास्टिकका बट्टा, बाटा, बाल्टिन, गमलाहरु आदिमै खेती गर्न सकिने भएको ले यसको महत्व झनै बढेको हो। आफुलाई सामान्य शारिरिक व्यायाम पनि हुने र हरियालि हेर्दा आफुलाई मानसिकरुपमा समेत आनन्द प्राप्त हुने हुदा कौसी खेतीको आबश्यकता झनै बढेको देखिन्छ । त्यसैगरी एउटा परिवारले गरेको सामान्य कौसी खेतीबाट उस्को भान्सामा तरकारीमा हुने खर्च रकममा ५० प्रतिसत तत्काल बचत गर्न सकिन्छ भने राष्ट्रलाई बार्षिक करोडौ रकमको तरकारी आयात प्रतिस्थापन हुन सक्छ।
कसरी गर्न सकिन्छ कौसी खेती ?
कौसी खेतीको लागि सर्वप्रथम हामीले केही भाँडाहरु जुटाउनु पर्ने हुन्छ । यस्ता भाँडाहरु सकेसम्म हलुको प्लास्टिकले बनेका हुनुपर्छ, जसबाट घरको कौसीमा धेरै भार नहोस र सरसफाई गर्न र व्यबस्थित गर्न सहज होस। अहिले कौसी खेतीको लागि धेरै प्रयोग हुने भाँडाहरुमा माछा राख्न प्रयोग गर्ने थर्मोकोलका खाली बक्सहरु, प्लास्टिकको बाल्टिन, बाटा र बट्टाहरु, बिभिन्न साईजका प्लास्टिकका गमलाहरु, पानीका जारहरु, पेन्टका बट्टाहरु सिमेन्टका बोराहरु तथा कार्डबोर्डलाई समेत प्लास्टिकले बेरर प्रयोग गर्न सकिन्छ। यी सामाग्रीहरु बजारमा नयाँ किन्नु पर्दैन, आफ्नै घरमा प्रयोग भएका पुराना टुटे फुटेका वा यस्तै किसिमका पुराना सामाग्रीहरु समेत बजारमा निकै सस्तोमा किन्न पाईन्छ। खेती गर्नको लागि भाँडाहरु तयार गरे पछि आबस्यक सहज स्थान निर्धारण गर्नु पर्दछ र ति भाडाहरुमा कम्तीमा चार ईन्च भन्दा तलसम्म माटो भर्नु पर्दछ। यसरी माटो भर्दा हलुको तथा उर्बर माटो प्रयोग गर्नुपर्छ। सामान्य माटोमा मल मिसाएर प्रसोग गर्दा यसमा हुने खनिज तथा जैबिक गतिबिधीले माटो हलुको र खुकुवो बनाउछ र सजिलै बोट बिरुवाहरु बढन सक्छन। अहिले बजारमा यसमा प्रयोग गर्न नरिवलका जटालाई टुक्राटुक्रा पारेको बनाएको हलुको ईटा पनि किन्न पाईन्छ, जस्लाई (कोको पिटभन्ने गरिन्छ) ल्याएर केही समय भिजाएर गलाई प्रयोग गर्न सकिन्छ। यसरी मलिलो माटो तयार गरेपछि आफ्नो चाहना अनुसार बिभिन्न बिउहरु ल्याई कौसी खेती बिरुवाहरु रोप्न सकिन्छ।
कौसी खेतीको लागि उपयुक्त तरकारिहरु के के हुन ?
कौसी खेतीमा कुन कुन तरकारी रोप्न सकिन्छ भन्नेबारे निश्चित मापदण्ड केही छैन। कौसीको आकार, उपलब्धता, प्रकास, खुल्ला र उचाईको आधारमा बिभिन्न् खेती गर्न सकिन्छ। मेरो आफ्नै अनुभब अनुसार बिशेषगरी ४ किसिमबाट कौसी खेती गर्न सकिन्छ।
१. बिभिन्न सागहरु, धनिया, मुला, आलु, लसुन र प्याज जस्लाई ठुलो अग्लो भन्दा चौडा धेरै भएका साना साना बट्टाहरु, प्लास्टिकका बाटाहरुमा र सानो सानो गमलाहरुलाई एउटा हलुको फलामे स्ट्यान्डमा राखी तह तहमा बिरुवा रोपन सकिन्छ।
२. गोलभेडा, खुर्सानी, क्यापसिकम ,भन्टा भिन्डी जस्तै सानो सानो बुटोमा फल्ने तरकारीहरु जस्लाई थर्माकोल, प्लास्टिकको बाल्टिन, पेन्टका बट्टाहरु, पानीका जारहरुमा ठुला प्लास्टिकका गमलाहरुमा रोप्न सकिन्छ।
३. काक्रा, फर्सी, लौका, घिरौला, करेला, सिमी र बोडि जस्ता लहरे बालीहरुलाई नं दुईकै भाडाहरुमा रोप्न सकिन्छ । यी बिरुवाहरुलाई सानो सानो थाक्रो र डोरी लगाएर फैलन दिनु पर्छ। यी तरकारीहरु खेती गर्न कम्तीमा कौसिको उचाई ८ फिट भन्दा बढि हुदा राम्रो हुन्छ।
४. कागती, अम्बा, मुन्ताला, आम्रपाली तथा सानो सानो रुख हुने फल फुलहरु लाई प्लास्टिकका ड्रमहरु, ठुला ठुला पलास्टिकका बक्सहरु र ठुला ठुला साईजका गमलामा रोप्न सकिन्छ। यस्ता बिरुवा कौसिको कर्नरमा रोप्दा राम्रो हुन्छ।
कसरी संरक्षण गर्न सकिन्छ कौसी खेती ?
कौसी खेती गर्नको लागी स्थान, भाडाहरु माटो मल पानी जुट्याउन त सकिन्छ गाह्रो छैन तर त्यसको स्याहार सुसार र संरक्षण नै महत्वपुर्ण हो। कुनै पनि खेतीमा बिरुवाले आफुलाई चाहिने तत्व जराबाट लिने गर्छ र बिरुवाहरु हेरेर त्यसका जरा टाढा टाढासम्म फैलिएका हुन्छन तर कौसी खेतीमा बिरुवाहरुको जरा निश्चित भागमा खुम्चिनु पर्ने हुन्छ र तिनलाई बढन फैलन आबश्यक पोषिलो तत्व हामीले पुर्याउनु पर्छ। आबश्यक मात्रामा पानी, मल र बढनलाई मद्दत गर्ने खनिज तत्वहरु पुर्याउनु पर्ने हुन्छ। लहरा हुने बिरुवालाई बढन सानो सानो थाक्रोको व्यबस्था समेत गर्नु पर्ने हुन्छ। यसमा बिशेष ध्यान पुर्याउनु नै कौसी खेतीको सबै भन्दा महत्वपुर्ण पाटो हो। त्यसैगरी रोग तथा किरा लागेमा औषधिहरु पनि प्रयोग गर्नु पर्ने हुन्छ। हाम्रो घरमा फ्याकिने फोहरबाट पनि मल बनाएर प्रयोग गर्न सकिन्छ । औषधिको लागी निमको पातको रस, प्याजको रस, करेलाको रस लाई साबुन पानीको झोलमा मिसाएर पनि घरमै किरा मार्ने औषधि बनाउन सकिन्छ भने बजारमा पाईने भिटामिन सहितको झोल मल समेत कौसी खेतीको लागि उपयुक्त मानिन्छ। कौसी खेती प्रबर्धनका लागि अहिले सरकारले कतिपय खेतीका लागि आबश्यक सामाग्री, मल, बिउ तथा औषधिमा समेत अनुदान दिँदै आएको छ भने खेतीबारे आबश्यक तालिम पनि दिँदै आएको छ।
अन्तमा
यसरी हाम्रो स्वास्थ्य जीवन, बाताबरणिय प्रदुषण मुक्त र बिषाक्त मिसावट सहितको उपलब्ध तरकारी प्रयोगबाट बच्न अहिले बिशेषगरी शहरी क्षेत्रमा कौसी खेतीको अपरिहार्यता देखिन्छ। धेरै मेहनत गर्न नपर्ने, समय र पैसाको बचन हुने र सुद्ध ताजा तरकारीसमेत खान पाउने उत्तम उपाय पनि यही नै हो। मैले केही महिनादेखि सानो आकारमा भए पनि कौसि खेती गर्दै आएकि थिएँ । यो कोरोनाको महामारीमा अलि व्यबस्थापन गर्न समेत सहज भयो र घरकै कौसीमै तरकारी उपलब्ध हुन थालेपछि बाहिर निस्कन पनि कम भयो र कोरोनाको संक्रमणको जोखिम पनि कम भएको महसुस गरेकि छु । ताजा, सुद्ध र बिषाक्त रहित तरकारी पनि खान पाएकी छु। यहाँहरु लाई पनि स्वस्थ्य जीवन रहन शुद्ध र ताजा तरकारी खान कौसी खेती गर्न सुझाव दिन चाहन्छु।
(लेखक पोख्रेल पाटन सयुंक्त क्यम्पसका उप प्राध्यापक हुनुहुन्छ )
प्रतिक्रिया दिनुहोस्