जनता टाइम्स

१ श्रावण २०७७, बिहीबार २०:५६

महानायक बिवाद र फेसबुक बुलिङ


सुरेन सापकोटा, न्युयोर्क

नेपाली चलचित्र क्षेत्रमा राजेश हमाल नामै काफी छ । आज पनि धेरै दर्शकहरु उनका फ्यान छन्। सबै जसोले उनलाई आदर सम्मान नै गर्छन् । दर्शकले माया गरेरै दिएको टाईटल होला ‘महानायक’ पनि। यो आधिकारिक संस्था वा सरकारले दिएको टाईटल भने होईन । शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल र अन्य कतिपय पुराना कलाकारहरु चलचित्र क्षेत्रका हस्ती नै हुन्। चलचित्रको माध्यमबाट समाज परिवर्तन र रुपान्तरणमा पक्कै पनि महत्वपुर्ण भूमिका रह्यो नै ।

त्यसो हो भन्दैमा सबैले गुणगाननै गाएर हिडनु अथवा आलोचनात्मक टिप्पणी गर्नबाट डराउनु भने पर्दैन । पञ्चायती ब्यवस्थामा प्रजाले राजामाथी टिप्पणी मात्रै गर्दा पनि सजाय भोग्न तयार हुनुपर्थ्यो। अहिले त्यो अवस्था होईन । देशमा अहिले कोही राजा छैन र जहानिया राणा शासन र राजतन्त्र पनि । त्यसैगरी मुलुकमा कम्युनिष्ट सरकार भए पनि पुर्ण लोकतन्त्रिक संबिधान र लोकतान्त्रिक शासन ब्यवस्थाकै जगमा उभिएको निर्वाचित सरकार छ ।

आलोचनात्मक टिप्पणी गर्नु र त्यसलाई सुन्न सक्नु लोतकन्त्रको एउटा सुन्दर पाटो नै हो । अझ सार्वजनिक जिवन ब्यथित गर्ने ब्यक्तित्वहरुका निम्ति आलोचना अत्यन्तै स्वभाविक हो भने सेलिब्रेटीका लागि त आवश्यक मसला पनि । त्यसकारण दर्शक, स्रोता, सहकर्मी वा सहधर्मीले बोल्दा ढंग पुगेन भन्ने कुरालाई लिएर यत्रो बितण्डा र भाँडभैलो गर्नु भनेको लक डाउनमा काम नपाएर भात पचाउँने मेलो मात्रै हो ।

नेपाली चलचित्रको शुरुवाती दिनहरु पक्कै पनि अहिले जस्तो सहज थिएन । हालको जस्तो प्रबिधिको बिकास समेत भएको थिएन । सबै ठाउँमा यातायातको सुबिधा समेत थिएन भने सुबिधा सम्पन्न चलचित्र घरहरु समेत सिमित मात्रै हुन्थे । चलचित्र चलाउँन राजेश हमालको टाउको राखेरै पनि चलाउँनु पर्थ्यो । उनी चलचित्रमा धेरैले मन पराईएका नायक पनि थिए त्यो बेला । उनले त्यो छबिलाई हालसम्म पनि कायम गरेकै छन् ।

उm बेला चलचित्रबाट निश्चित निर्माताहरु मालामाल हुन्थे, नायक नायिकाहरुको नाम चल्थ्यो, सबैले दाम कमाउँथे, पेट पाल्थे । चलचित्रहरु सोही समाजलाई प्रतिनिधित्व गर्ने किसिमका थिए । समाज परिवर्तनसँगै आजकाल दर्शकको रोजाई र स्वाद पनि परिवर्तन भएको छ । पछिल्लो समय रंगमञ्चबाट चलचित्रमा प्रवेश गरेका थुप्रै कलाकारहरु नयाँ नयाँ आईडिया र कलेवरमा प्रस्तुत हुने गरेका छन् ।

चलचित्रबाट आएको निश्चित रकम समाज सेवामा लगाउँने कार्यको थालनी भएको छ। धेरै कलाकारहरु स्वयम् समाज सेवामा सकृय छन । यसको श्रेय रंगमञ्चबाट आएका दिपक, दिपा, दयाहाङ्, रबिन्द्रसिंह, धुर्मुस(सुन्तलीहरु जस्ता पछिल्ला कलाकारहरुलाई दिनैपर्छ ।

त्यसकारण चलचित्र क्षेत्रमा राजेश हमालको नाम जति पपुलर छ त्यतिनै अन्य पछिल्ला कलाकारहरुको नाम र काम पनि हाम्रो समाजमा उतिकै गर्भिलो र ओझपुर्ण छ । आजका धेरै जसो कलाकारहरु चलचित्रका पर्दामा मात्र होईन जनमानसको प्रत्यक्ष दुःखसुखका साथी पनि भएका छन् ।

रह्यो कुरा सामाजिक सञ्जालको बुलिङ् । यसमा सकृय गिरोहहरु नै छन जसले हजारौं फेक आईडीहरु बनाउँने र निश्चित ठाउँहरुबाट रकम लिने र कसैमाथी बुलिङ गर्ने गर्दछन् । नेपालमा पनि यस् प्रकारको बुलिङ् अत्यन्तै बढेर गएको छ । जसले राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो पनि बनाईदिन्छ । कोही बेला सरकारको राम्रो कार्यक्रमलाई र प्रतिपक्षको रचनात्मक र महच्वपुर्ण विचारहरुलाई समेत निस्तेज पारीदिन्छ । कुनै पनि झुठ कुरालाई हजारौं मानिसले हजार पटक साँचो हो भनेर अल्पमतको हुर्मत लिने र झुठलाई सत्यमा रुपान्तरण गर्ने कार्य पनि यस्तै बुलिङबाटै गरिन्छ ।

अर्को एउटा बुलिङ्को तरिका भनेको कुनै नाम चलेको सेलिब्रेटी, सामाजिक ब्यक्तित्व, पत्रकार वा कुनै पपुलर कार्यक्रमको नामबाट फेक आईडी बनाएर लाईक कमेन्ट र भ्युवर्स बढाउँने र आफ्नो बिषयबस्तु र खुराकले कसैमाथि बुलिङ गर्ने । त्यस्तै सामान्य सूचना प्रसारण गर्न पनि उत्ताउलो र सनसनी पुर्ण हेडलाईन र चित्र राखेर समाचारहरु संप्रेषण गर्ने गरेका पनि प्रशस्त उदाहरण छन् । यसले कतिपय निर्दोस मानिसहरु डिप्रेसनको शिकार भएका छन् त कतिले अनावश्वक झमेला सहन नसकेर आत्महत्यासम्म गर्न पुग्दछन् ।

यस्तो बुलिङ हाल नेपाली समाजमा पनि यत्र तत्र सर्बत्र हुँदै गएको छ चाहे स्वदेस होस् या बिदेस । यसकै एउटा रुप मान्न सकिन्छ हालै कलाकार दिपाश्री निरौला माथि भएको गाली बेईज्जती । जाबो सामान्य कुरालाई लिएर सार्बजनिक रुपमा हुर्मत लिने र मान्छेको सार्बजनिक जिवन समाप्त पारी उसको क्यारियर धरासायी बनाईदिने चलनले राम्रा मान्छेहरुलाई आफ्नो क्यारियरबाट हात धुन बाध्य पारिनु निश्चय नै दुखद हो । यस्तो घटना कहिले परिवारबादको नाममा हुन्छ त कहिले ब्रान्डको नाममा । भर्खरै मात्र बलिउडका लोकपृय नायक सुशान्त राजपुतको मृत्यु प्रकरणमा पनि यस्तै प्रकृतिका घटनाको हात छ भनिन्छ ।

सामान्य मानिसलाई देवत्वकरण गर्ने र समाजमा प्रतिष्ठित मानिसलाई झुठा लाल्छना लाएर बहिष्कृति गर्ने, कसैको रोजी रोटी खाईदिने, ब्यापार(ब्यावसाय डामाडोल पारिदिने, क्यारियर समाप्त गरिदिने, रातारात कसैलाई हिरो र कसैलाई जिरो बनाउँने खेलहरु आजकाल सामाजिक सञ्जाल मार्फत धेरै नै हुँदै आएको छ ।

विचारहरुको संप्रेषण गरी ठुला ठुला जनमत सृजना गर्न आजकाल सामाजिक सञ्जालको विश्वब्यापी प्रयोग गरिन्छ । सामाजिक सञ्जालकै माध्यमबाट मानिसहरु एकजुट भै ठुला ठुला सामाजिक कार्य पनि गर्ने गर्दछन। हाल सुचना र संचारको प्रमुख माध्यम नै सामाजिक सञ्जाल हो । यसरी मानिसको एक अभिन्न अंग नै बनिसकेको सामाजिक सञ्जालको सहि प्रयोगबाट धेरै फाईदा लिन सकिन्छ । साथसाथै यसको दुरुपयोग हुनबाट रोक्नु सबै सचेत नागकिकको कर्तब्य पनि हुन आउँछ ।