जनता टाइम्स

१८ श्रावण २०७७, आईतवार १७:१७

सरकारलाई विज्ञहरुको सुझाव : कोरोनाको जोखिम बढ्यो, अव लकडाउनले पुग्दैन, कर्फ्यू लगाऊँ


काठमाडौं, साउन १८ । उपत्यकासहित देशका प्रमुख शहरहरुमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको भन्दै बिज्ञहरुले अव ढिला नगरी कफ्र्य लगाउन सरकारलाई सुझाव दिएका छन । पछिल्लो दिनमा देखिएको संक्रमितको संख्या र संक्रमितको अवस्था हेर्दा यस्तो देखिएको बिज्ञहरुले बताएका हुन ।

केही हप्ता कोरोना भाइरस संक्रमितको संख्या दुई अंकमा झरेको थियो । लकडाउन खोलेसँगै फेरि संक्रमितको संख्या उकालो लागेको छ । अहिलेसम्मको तथ्यांक हेर्दा हरेक दिन संक्रमितको संख्या ३ अंकमा पुगेको छ । लकडाउन खुलेसँगै कामकाजका लागि मान्छे बाहिर निस्कन थालेकाले दूरी कायम नगरेको, मास्क नलगाएको, भीडभाड बढेको, नाकामा कडाइ नगरेको र प्रभावित क्षेत्रमा परीक्षण नभएका कारण संक्रमितको संख्या बढेको विज्ञहरूको बुझाई छ । संक्रमितको संख्या घटेसँगै सरकारले साउन ७ गतेबाट लकडाउन खुलाउने निर्णय गरेको हो । तर लकडाउन खुलेसँगै संक्रमितको संख्या बढिरहेको छ ।

लकडाउन खुलेपछि २ हजारभन्दा बढी संक्रमित थपिएका छन भने १७ जनाको मृत्यु भइसकेको छ । आजसम्म ५७ जनाको ज्यान गइसकेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिसकेको छ । कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ भने आइसोलेसनमा ५ हजार ६ सय ७२ जना बिरामी छन । पछिल्ला दिनमा संक्रमितमा लक्षण देखिनुका साथै अक्सिजन र भेन्टिलेटर नै प्रयोग गर्नुपर्ने अवस्था आएको जनस्वास्थ्य बिज्ञहरुले जनाएका छन । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा ठुलो जोखिम बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार उपत्यकामा संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । नेपालमा हालसम्म ७१.८ प्रतिशतले कोरोना जितेका छन ।

महाशाखाका अनुसार काठमाडौंमा ४ सय ५१, ललितपुरमा १०४ र भक्तपुरमा ५८ जना संक्रमित थपिएका छन । स्वास्थ्य प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा एक जना नयाँ संक्रमित थपिएका छन । जनस्वास्थ्यविदहरुले उपत्यकामा भित्रभित्रै कोरोना फैलिएको संकेतका रुपमा यसलाई बुझेका छन । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे जोखिम जोखिम बढेकाले नियन्त्रणका लागि लकडाउनले मात्रै नपुग्ने भएकोले १५ दिन कर्फ्यू लगाउनुपर्ने बताउनु हुन्छ । ‘प्रभावित क्षेत्रमा १५ दिन कर्फ्यू लगायो भने मान्छे आवतजावत गर्न पाउँदैनन । संक्रमण भएको छ भने पनि १५ दिनमा निको हुन्छ,’ पाण्डेले भन्नुभयो, ‘निको नभएका मान्छे अस्पताल जान्छन् । यो अवधिमा प्रभावित क्षेत्रमा परीक्षण गर्न सरकारलाई सहज हुन्छ । रोकथाम तथा नियन्त्रणमा सहयोग मिल्छ ।’

काठमाडौं, प्रदेश २ का जिल्लाहरू, झापा, विराटनगर, नेपालगञ्ज, दैलेख, बझाङलगायतका ठाउँमा कोरोना समुदायमा पुगेको पाण्डेको भनाई छ । ‘संक्रमित क्षेत्रका मान्छे काठमाडौं आएका छन् । काठमाडौंमा क्वारेन्टाइनमा राख्ने चलन पनि छैन । त्यसैले जोखिम बढेको छ, सरकारले सामुदायिक संक्रमण भन्न रुचाउँदैन । तर कोरोना समुदायस्तरमा पुगेको छ । कसले रोग सार्यो भन्ने थाहा हुँदैन भने त्यो समुदायस्तरको हो । घरभित्र बसेका मान्छे पनि संक्रमित भएका छन,’ पाण्डेको भनाई छ । उहाँले अहिले नै सावधानी नअपनाए स्थिति नियन्त्रणबाहिर जाने चेतावनीसमेत दिनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी लकडाउनको हल्लाले काठमाडौं आउनेको संख्या बढेको र परीक्षण पनि धेरै भएकाले संक्रमितको संख्या बढेको बताउनु हुन्छ । केही हप्ता कलेक्सन कम भएकाले संक्रमितको संख्या कम देखिएको तर परीक्षणको दायरा र दर बढाएकोले संख्या पनि बढेको उहाँको भनाई छ । शनिवारबाट देशभरबाट १० हजारको परीक्षण भइरहेको छ । ‘काठमाडौं आउनेको संख्या बढेको छ । भारतको बिहार र यूपीबाट आउने धेरै छन्, प्रदेश २ को बारा, पर्सा, रौतहत, सप्तरीलगायत जिल्लाबाट कामका लागि काठमाडौं आउने धेरै छन् ।

लकडाउन खुलेसँगै आउनेमा मजदुरहरू छन् । त्यसैले संक्रमितको संख्या बढेको हो,’ राजभण्डारीको भनाई छ । राजभण्डारीले पछिल्लो पटक समुदायस्तरमा कोरोना देखिन थालेको जानकारी दिनुभयो । ‘समुदायमा गएको छ । तर सबै ठाउँमा छैन । काठमाडौं, वीरगन्जलगायत स्थानमा समुदायमै पुगेको देखिएको छ, अब लक्षण भएकालाई मात्र अस्पतालमा राख्नुपर्छ । लक्षण नभएकालाई घरमै वा अरु विशेष ठाउँको व्यवस्था गर्नुपर्छ,’ राजभण्डारीले भन्नुभयो । सुरुदेखि नै नागरिक तहमा सतर्कता नअपनाउँदा अहिलेको स्थिति आएको बिज्ञहरुको भनाई छ ।