जनता टाइम्स

१२ जेष्ठ २०७६, आईतवार ११:५३

शहरभन्दा गाउँका सडक राम्रा


बिर्तामोड, जेठ १२

गाउँका सडक भन्नासाथ धुलाम्मे, हिलाम्मे, साना र खाल्डाखुल्डी हुन्छ भन्ने बुझाइ धेरैमा हुन सक्छ । ठुला, चिल्ला सडक शहरी क्षेत्र र राजमार्ग मात्रै हुन्छन् भन्ने मान्यता पनि उत्तिकै छ । तर, झापामा यसको ठिक उल्टो छ । मुख्य शहरका सडक हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे हुँदा गाउँका अधिकांश सडक सफा र राम्रा देखिएका छन् । गाउँ जोड्ने ठूला मात्र होइन साना सडक पनि कालोपत्रे गरेर चिल्लो बनाइएका छन् ।

झापाको दक्षिणी क्षेत्र सडक सञ्जालका दृष्टिले पहिले दुर्गम मानिन्थ्यो । झापाका मुख्य शहर बिर्तामोड, दमक, अर्जुनधारा, काँकडभिट्टा र भद्रपुर जोड्ने बाहेक अन्य सडक पक्की थिएनन् । केही समयअघि दक्षिणी गाउँपालिका कचनकवलमा आयोजित कार्यक्रमलाई संघीय सांसद राजेन्द्र लिङ्देनले भन्नुभएको थियो, ‘पहिले यो स्थानका नागरिकले पक्की सडक हेर्न बिर्तामोड जानुपथ्र्यो । मोटरसाइकलबाट कचनकवल आउन कति सकस हुन्थ्यो तर अहिले त्यो अवस्था हटेको छ ।’

जिल्लामा दुर्गम मानिने कचनकवल क्षेत्रमा अहिले कालोपत्रे दुई लेन सडक पुगेको छ । भद्रपुरबाट ३० किलोमिटर दक्षिणमा रहेको कचनकवल पुग्न पछिल्लो समय राम्रो सडक भएकाले स्थानीय लाभान्वित भएका छन् । ‘गाउँका नागरिक बजार पुगेर समयमै घर फर्किन्छन्। ठूलाठूला यात्रुबाहक बस गाउँमै पुग्छ’, स्थानीय रामेश्व अधिकारीले भन्नुभयो, ‘अहिले त काठमाडौंदेखि वनियानीसम्म सिधा बस सेवा सुरु भएको छ। स्थानीय खुसी छन्।’

कालोपत्रे सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ। गाउँमा आम्दानी बढेको छ । गाउँका पुराना बजार जोड्ने अधिकांश सडक कालोपत्रे गरिएका छन् । झापाको शिवसताक्षी, गौरादह, गौरीगञ्ज, झापाजस्ता गाउँपालिका जोड्ने सडक कालोपत्रे भइसकेका छन् । कच्ची सडकमा साइकलको लेन पच्छ्याउँदै पाइडल चलाउनु पर्ने बाध्यता हटेको बनियानीका धु्रव पौडेलको भनाइ छ। ‘गाउँको तुलनामा शहरका सडक फोहोर र खाल्डाखुल्डी छ’, उहाँले भन्नुभयो ।

भद्रपुर दक्षिणका अधिकांश स्थानीय यसअघि परिवारका लागि मात्रै खेती गर्थे। सडक सुविधा पुगेपछि नगदे बाली लगाउन किसान बढ्नुका साथै आम्दानी पनि बढेको पौडेलको भनाइ छ । कालोपत्रे सडक पुगेपछि गाउँमा चहलपहल पनि बढेको छ । सडक फराकिलो हुँदा सवारीसाधनको संख्या बढेको छ । भद्रपुर–१ पृथ्वीनगरका व्यवसायी रोशन श्रेष्ठका अनुसार उक्त क्षेत्रको व्यापार पहिलेभन्दा दोब्बर बढेको छ ।

सडक कालोपत्रे हुनुभन्दा अगाडि सडक छेउका घर धुलोले ढाकिएको हुन्थ्यो । अहिले गाउँका घर पनि रङरोगन गरेर चिटिक्क बनाउन थालिएका छन् । यसअघि भद्रपुर दक्षिणका स्थानीयको जनजीवन कष्टपूर्ण थियो । समयमा सवारी साधन नपाइने, भएका सवारी पनि सदरमुकामसम्म पुग्छ कि पुग्दैन भन्ने अवस्था हुन्थ्यो । बिरामीलाई अस्पताल लैजान झनै समस्या हुन्थ्यो । सडक कालोपत्रे भएपछि यी समस्याबाट स्थानीय मुक्त भएका छन् ।

पहिले ट्र्याक खोलिएका सडक स्थानीय तहमा जनप्रतिनिधि आएपछि धमाधम कालोपत्रे र स्तरोन्नति भएको कचनकवल गाउँपालिका प्रमुख अञ्जार आलमले बताउनुभयो । ‘यो क्षेत्र झापामा हेपिएको क्षेत्रका रुपमा चिनिन्थ्यो। अहिले विकासले फड्को मारेको छ’, उहाँले भन्नुभयो । सडकको अवस्था शहरभन्दा गाउँमा राम्रो र टिकाउ भएको आलमको भनाइ छ । ‘शहरका अधिकांश सडक धुलाम्य, हिलाम्य र खाल्डाखुल्डीमात्रै छन्’, उहाँले भन्नुभयो, ‘अहिले गाउँका सडक चिल्ला र टिकाउ देखिएका छन् ।’