जनता टाइम्स

८ भाद्र २०७७, सोमबार ०७:३५

नेपालमा तीन कम्पनीका कोरोना विरूद्धका खोप परीक्षण हुँदै


काठमाडौं,  भदौ ८  । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको जनाउँदै थप प्रगति भएपछि प्रकृयाबारे जानकारी गराउने बताएको छ ।

परिषद्ले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि नेपालमा अध्ययन अनुसन्धान गर्न चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका गरी तीनवटा कम्पनी इच्छुक रहेको जनाएको छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।

चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्सको सिनोफार्म, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका र रुसको गेमेलिया नेशनल सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजि खोप विकासमा अगाडि देखिएका छन् ।

गेमेलियाले भने दोस्रो चरणको परीक्षणमै खोप दत्र्ता गरी प्रभावकारी र सुरक्षित भएको दाबी गरिसकेको छ । तेस्रो चरणको परीक्षण नहुँदै गेमेलियाको उत्पादन ‘स्पुतनिक भी’ को ठूलो मात्रामा उत्पादन समेत सुरु भइसकेको छ ।

चीन, बेलायत र रुसी तीनै खोप निर्माता कम्पनीले नेपालमा तेस्रो चरणको परीक्षणको लागि तयार रहेको मन्त्रालयले जनाएको छ । परिषद्का सदस्य सचिब डा। प्रदीप ज्ञवाली खोप विकास र परीक्षणबारेको बिस्तृत जानकारी केही दिनपछि दिने बताउनुभयो ।

उत्पादक कम्पनीले सफलताको दाबी गरिरहँदा विश्वका कतिपय राष्ट्रले कम्पनीसँग आपूर्तिका लागि सम्झौता समेत गरिसकेको छ । अष्ट्रेलिया, बेलायत, जर्मनी लगायतका राष्ट्रहरु सम्झौतामा अगाडि देखिएका छन् । जनस्वास्थ्यविद् तथा चिकित्सकहरुले नेपालले समेत खोपको अधिकार सुरक्षित गर्न पहलकद्मी लिनुपर्ने बताइरहँदा मन्त्रालयले परीक्षणको लागि तीनै कम्पनीले प्रक्रिया अगाडि बढाएको जानकारी सार्वजनिक गरेको छ ।

यद्दपी खोप खरीद सम्बन्धी प्रक्रिया बारेमा मन्त्रालयले स्पष्ट गरेको छैन् । खोप सुरक्षित गर्न विभिन्न तीनवटा प्रक्रिया रहेको छ । खोप खरिद गर्न चाहने राष्ट्रले उत्पादक कम्पनीसँग प्रत्यक्ष सम्झौता गर्न सक्नेछ । अर्को विश्व स्वास्थ्य संगठनले न्यून आय भएका राष्ट्रका लागि खोप खरिद गरी आपूर्ति गर्छ । तेस्रो, विश्व स्वास्थ्य संगठन र यूनिसेफकै अनुदानमा सञ्चालित गाभीले उत्पादक कम्पनीसँगको सहकार्यमा सबै राष्ट्रमा खोपको सामान अधिकार र आपूर्तिको व्यवस्थापन गर्छ । गाभीले सन् २०२१ को सुरुवातमै न्यून र मध्यम आय भएका राष्ट्रमा दश करोड खोप वितरण गर्ने जनाइसकेको छ । यस्ता मध्यम र न्यून आय भएका राष्ट्रको संख्या ९२ छ ।