जनता टाइम्स

९ आश्विन २०७७, शुक्रबार १९:०६

भन्सार छल्नेको पोल यसरी खुल्यो, विगत भन्दा तीन गुण बढि राजस्व संकलन


काठमाडौं, असोज ९

नेपाल–भारत सीमाबाट कति सामान भन्सार छलेर नेपाल आउँदो रहेछ भनेर एउटा सरकारी तथ्यांकले देखाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै भारतीय सीमामा सुरक्षा गतिविधि बढाएपछि यस्तो अवैध धन्दाको खुलासा भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने क्रममा भारतसँगको सीमामा अस्थायी सशस्त्र क्याम्प खडा गर्दा भन्सार छली गरी वस्तु आयात हुने क्रम नियन्त्रणमा आएको तथ्यांकले देखाउँछ । कतिपय भन्सारमा त गत वर्षका भन्दा तीन सय प्रतिशत बढि राजस्व संकलन भएको देखाएको छ । साउन र भदौंको राजस्व संकलनका विषयमा विगतको वर्ष र यसवर्ष यहाँ तुलना गरिएको छ ।

गत चैतमा सीमामा स्थापना भएका १२ सय अस्थायी सशस्त्र प्रहरी बलको पोस्टले भन्सार छलीको रहस्य पत्ता लगाएको छ । भन्सार बिन्दुभन्दा टाढा रहेको ती अस्थायी पोस्टले अवैध ओसारप्रसार नियन्त्रण गर्दा साना भन्सारमार्फत् आयात हुने वस्तु ३ गुणासम्मले वृद्धि भएको पाइएको छ । जबकि ठूला भन्सारमार्फत भएको र देशको समग्र आयात नै घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो २ महिनामा भारतीय सीमामा रहेका एक दर्जन भन्सारमार्फत् हुने आयात बढेको देखिन्छ । जसमध्ये सती र महेशपौर भन्सार कार्यालयमार्फत् भएको आयात गतवर्षको यही अवधीको भन्दा ३ सय प्रतिशत बढी हो ।

यस्तो छ विगत र अहिले

सती भन्सार कार्यालयमार्फत् गत आवको पहिलो २ महिनामा २ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु आयात बढेकामा चालु आवको साउन र भदौमा १० करोड ५८ लाख रुपैयाँ (गत आवको भन्दा ३०२ प्रतिशत बढी)को वस्तु आयात भएको छ । यस्तै महेशपौर भन्सार कार्यालयको तथ्यांकले गत आवमा ५ करोड २८ लाखको आयात भएकामा यो वर्ष २१ करोड १८ लाख (गत आवको तुलनामा ३०१ प्रतिशत बढी) आयात भएको छ ।

ठाडीबाट भएको आयात ७ करोड ९ लाख रुपैयाँबाट २५४ प्रतिशतले बढेर २५ करोड ५ लाख पुगेको छ । यस्तै, सुथौलीमार्फत् भएको आयात ४९ करोड ६९ लाखबाट २२० प्रतिशतले बढेर १ अर्ब ५९ करोड १३ लाख पुगेको छ ।

भन्सार विभागका अनुसार सर्लाही भन्सारबाट भएको आयात पनि साढे ९५ प्रतिशतले बढेको छ अर्थात् ५२ करोड ८० लाखबाट १ अर्ब ६७ करोड ६१ लाख पुगेको छ । विभागका अनुसार भद्रपुर भन्सार कार्यालयमार्फत् भएको आयात १३५ प्रतिशत, सिराहाबाट साढे ९५ प्रतिशत, कैलालीबाट ५५ प्रतिशत, गौरबाट साढे ५१ प्रतिशत, नेपालगञ्जबाट १७ प्रतिशत, जनकपुरबाट ४ र कृष्णनगर भन्सार कार्यालयमार्फत् भएको आयात ३ प्रतिशतले बढेको छ ।

यद्यपि केही भन्सार बिन्दुबाट भएको आयात गत वर्षको भन्दा घटेको पनि छ । देशको वैदेशिक व्यापारको तथ्यांकमा समग्र आयात घट्दा केही भन्सार बिन्दुबाट भएको आयात पनि घटेको देखिएको हो । भन्सार विभागका अनुसार साना भन्सारमध्ये राजबिराज, कञ्चनपुर, जलेश्वर, सुनसरी र मेची भन्सार कार्यालयमार्फत् भएको आयात घटेको देखाउँछ ।