जनता टाइम्स

१० आश्विन २०७७, शनिबार १०:२२

यसकारण २३ प्रतिशतले वृद्धि भयो रेमिट्यान्स


काठमाडौं, असोज १०

कोभिड–१९ का कारण विश्वभरी आर्थिक गतिविधिमा संकुचन आएपनि नेपाल आउने रकम (रेमिट्यान्स) भने बढेको छ । साउन महिनामा मात्रै २३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत वर्षको साउन महिना भन्दा यो वर्षको साउन महिनामा आश्चर्यजनक रुपमा रेमिट्यान्स वृद्धि भएको हो । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

जबकि ०७५ साउनको तुलनामा ०७६ साउनमा रेमिट्यान्स २ प्रतिशतले घटेको थियो । विश्वभर लकडाउन र निषेधाज्ञाका कारण हुण्डीको कारोबार बन्द भएपछि रेमिट्यान्स आप्रवाह बढेको आशंका गरिएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो ।

नेपालमा लकडाउन सुरु भएको महिना (गत चैतमा) ३४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरिएको थियो । किनकि अघिल्लो महिना करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो ।

चार वर्षपछि चालु खाता बचतमा

चालु खाता ०७३ मंसिरयता गत साउनमा पहिलो पटक बचतमा छ । राष्ट्र बैंकका अनुसार गत साउनमा २५ अर्ब ४१ करोडले यो खाता बचतमा गएको हो । गत वर्ष साउनमा यो खाता ९ अर्ब ३४ करोडले घाटामा थियो । यो खातामा वस्तु आयात–निर्यात, सेवा आयात–निर्यात, रेमिट्यान्सलगायत रकम ट्रान्सफर र मुलुकलाई प्राप्त आयव्यय समावेश गरिन्छ । गत वर्षभन्दा यो वर्ष आयात घटेको तथा सेवाअन्तर्गत भ्रमण, शिक्षालगायतमा मुलुकबाट बाहिरिने खर्च कम भएको हुनाले चालु खाता बचतमा गएको राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए ।

शोधनान्तर बचत ५१ अर्ब ४६ करोड

गत साउनमा मुलुकको शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको त्यही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो । ‘अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकामा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ । लकडाउन भएदेखि नै शोधनान्तर बढ्न थालेको छ । गत आर्थिक वर्षको तुलनामा चालु वर्ष आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेकोलगायत कारण शोधनान्तरमा सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । लकडाउनमा निर्यातमा केही सुधार हुनु, विदेशमा अध्ययन तथा पर्यटन खर्च घट्नु, बिजुलीको आयात घटनुलगायत कारण शोधनान्तर स्थिति सुधारमा सहयोग पुगेको प्रतिवेदनले औंल्याएको छ ।