जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार १०:०४

कारोना संक्रमणको डरलाई जिम्मेवारीले जित्यो


चिसो सकिएर गर्मी भर्खर सुरु हुँदैदैथियो । चैतको मौसम यसैपनि उराटिलो । एकैछिनमा हावाहुरी, एकैछिनमा घाम । तेस्रो चौमासीकको मध्य समय हामी नगर विकासको योजना कार्यान्वयन अनुगमनमा ब्यस्थ थियौं । यस्तैमा चैतको सुरुवातमा अर्को एउटा प्राकृतिक विपत्ति आयो । यो विपत्ति रुखपात केही हल्लाउने खालको थिएन, मानिसको मन हल्लाउने खालको थियो । त्यो मानिसको मन हल्लाउने कोरोना नामको विपत्ति थियो ।

चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरस युरोप अमेरीका, छिमेकी राष्ट्र भारत र नेपालमा पनि यसको प्रभाव पर्यो । कोरोना भाइरसले हाम्रो सामाजिक सोच, व्यवहार र कार्यशैलीका धेरै कुराहरु उजागर गरेको छ । हाम्रा व्यवहारहरु र यसले समुदायमा पुर्याएको सन्देसका साथै धेरै विषयवस्तुको प्रत्यक्ष अनुभूति गराएको छ । कोरोना व्यवस्थापनको व्यवहारिक रुपमा प्रत्यक्ष संलग्न रहेको स्थानीय तहको जिम्मेवारीमा रहेर काम गर्दा थुप्रै अनुभतीहरु रहेका छन । कोरोना संक्रमणको चर्चा चलिरहेका बेला कोरोनाकै कारण ११ चैत्र २०७६ देखि देशमा लकडाउन सुरु भयो । म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रगनर सुर्खेतको कार्यवहाक प्रमुख भएर काम गर्नु पर्यो । करिव ६ महिना कार्यवहाक प्रमुख भएर काम गर्दा उपप्रमुुखको जिम्मेवारीको काम, प्रमुखको जिम्मेवारीको काम, नियमित कार्यालयको कामसंगै महामारीको कारण थपिएको कोरोना संकट व्यवस्थापन, आर्थिक वर्षको अन्त्य हुँदा आगामी आर्थिक वर्ष २०७७।७८ को लागि वजेट, नीति योजना तर्जुमा, नगरसभा र कोरोना व्यवस्थापनको लागि जिल्ला, प्रदेश र संघ संगको समन्वय बैठक छलफल संगै आर्थिक वर्षको अन्त्यको चाप । यी सबै काम मैले जनप्रतिनिधि र कर्मचारी साथीहरुको ठूलो सहयोग र कामप्रतिको लगनशीलताको कारण जिम्मेवारीलाई अवसरका रुपमा प्रयोग गर्दै पुरा गरें भन्ने महसुश भएको छ ।

आफै मेयर, आफै उपमेयर हुँदा उपमेयरका जिम्मेवारी पनि उत्तिकै । यी सबै कामहरु गर्दै अगाडि बढदा केरोना भाइरसको संक्रमणको डरलाई जिम्मेवारीले जित्यो र कहिल्यै पनि काम लाएई कुनै कुराले रोकेन । हामी कोभिड १९ का सुरक्षाका विधि अपनाउदै सधै फिल्डमा खटिरह्यौ । कोरोना भाइरसको प्रभाव विश्वव्यापी बढेसंगै देशमा लकडाउन सुरु भयो । हाम्रो नगरमा पनि लकडाउनको प्रभाव पर्यो । लकडाउनलाई पूर्णरुपमा सफल बनाउन हामी पनि लाग्यौं । तर विस्तारै लकडाउन सुरु भएपछि मजदुर तथा विपन्न वर्गको दैनिकीमा समस्या पर्न सक्छ भनेर वीरेन्द्रनगर नगरपालिकाको चैत्र १४ गते बसेको नगरकार्यपालिकाको बैठकले राहत वितरण गर्ने निर्णय गर्यो । हामीले कोरोनाको डरलाई कम गर्दै नगरबासीको मनोवल उच्च बनाउन सबै वडाका स्वास्थ्य चौकी बिहान ८ बजेदेखि साझ ६ बजेसम्म प्रयाप्त औषधी र स्वास्थ्य सामग्रीको व्यवस्थासहित खुल्ला गर्यौ ।

वीरेन्द्रनगरका स्थायी र बाहिरबाट कामको सिलसिलामा आएका मजदुर तथा विपन्न र अध्ययनको सिलसिलामा आएका र समस्यामा परेका विद्याथीहरुलाई गरी करिव १७ हजार घरपरिवारलाई राहत वितरण गर्यौ । पछि दुई वटा फोन १०१ र ५२०१४४ टोलफ्रि नम्बर जारी गर्यौं । त्यहा विहान १० वजेदेखि साझ ५ वजेसम्म फोनमार्फत समस्या टिपाउने ४२ सय घर परिवारलाई राहत वितरण गर्यौं । प्रदेशको राजधानी र बढ्दो सहरीकरण भएको कारण धरै संख्यामा मजदुर तथा विपन्न हुनु स्वभाविक थियो । यति ठूलो संख्यामा राहत वितरण गरिरहँदा कुनैपनि समस्या भोग्नु परेन । यसले आम नगरवासीमा संकटको बेला नजिकको सरकार हाम्रो साथमा छ भन्ने महशुस गरेको अनुभूति गरायौं ।

विस्तारै भारत र अन्य मूलुकबाट आउने नगरबासी दाजुभाइ दिदीबहिनीहरुको संख्या बढ्न थाल्यो । हामीले करिव २२ सय दाजुभाई दिदीबहिनीहरुलाई क्वारेन्टिनमा राखेका थियौं । आरडिटी र पिसिआर कोविड सुरक्षाका सबै सामग्रीहरुको व्यवस्थापन, ५० बेडको आइसोलेसन निर्माण, संक्रमितको व्यवस्थापनको लागि एम्बुलेन्सको व्यवस्थापन सबै नगरले नै गरेर अघि बढ्यौं । हामीले यी काम गरिरहँदा समुदायमा कारोनाको बारेमा निकै भयावह र डर थियो । एकैचोटी ठूलो संख्यालाई क्वारेन्टिनमा राख्नुपर्दा विद्यालयमा क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने भयो । तर समुदायले आफ्नो समुदायको नजिक रहेको विद्यालयमा क्वारेन्टिन बनाउदा विरोध गर्ने, गउँमा कुनै नयाँ व्यक्ति आउँदा त्यहा सहजरुपमा बस्ने वातावरण नहुने, निकै त्रासको अवस्था सिर्जना भयो ।

यस्तो अवस्थामा पनि हामीले यहाको विश्वविद्यालय, क्याम्पस र सुबिधा सम्पन्न विद्यालयलाई क्वारेन्टिन बनायौं । र क्वारेन्टिनमा बस्ने नगरबासीलाई १४ दिन राखी आरडिटि, पिसिआर गर्दै सुरक्षित बनाएर घर पठायौं । महिला क्वारेन्टिन नगरपालिकासंगै जोडिएको बालमन्दिर विद्यालयलाई बनाएका थियौं । तर क्वारेन्टिनलाई हामीले पूर्व सावधानी गृहको नाम दिएका थियौं, ताकी कोरोना रोकथाम र नियन्त्रणमा साबधानी रहनुपर्छ भन्ने सन्देश सबैमा पुगोस । यसरी नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणमा हामीले काम गर्यौ ।

म व्यवस्थापन गर्ने क्रममा धेरैपटक क्वारेन्टिन र आइसुलेसन भवनमा पुगेको छु । त्यहाँ वस्ने दाजुभाई, दिदीबहिनीहरु संग कुरा गर्दा मलाई सक्रियता बढाउन थप उर्जा मिल्थ्यो । मैले सुरक्षाका विधिहरु अपनाउदै उहाहरुसंग प्रत्यक्ष भेटेर कुरा गर्दा क्वारेन्टिन व्यवस्थापनमा थप सहयोग पुग्दथ्यो । सहज परिस्थितिमा विश्वकै जुनसुकै कुनामा गएर काम गर्न सकिन्छ तर संकट पर्दा सम्झेर फर्कने आफ्नै देश, आफ्नै घर रहेछ भन्ने यथार्थतालाई कोरोनाले पुष्टि गरिदिएको छ । उहाहरुको वसाई व्यवस्थापन कसरी सहज, सुरक्षित र शान्त बनाउने भन्ने विषयले मलाई सधै तानिरहन्थ्यो । उहाँहरुको खाना र बसाई व्यवस्थापनमा मैले आफै पनि संवन्धित ठाउहरुमा गएर सोधें, यसमा नराम्रो भयो भनेर कसैले भन्नुभएन । महिला दिदीबहिनीहरु संग पनि मैले नजिक भएर धेरै खुलेर कुरा गर्थे, उहा“हरुले सेनिटरी प्याड, कपडा धुने सावन सरसफाईका थप सामग्री बारेमा पनि मसंग खुलेरै कुरा गर्नुहुन्थ्यो ।

कहिलेकाही भन्नुहुन्थे, शुरु शुरुमा त अलि असजिलो महसुस भयो, तर दिदीबहिनीहरु संग घुलमिल गर्दे जादा यतै पो रमाइलो लाग्न थाल्यो, अनि हामीसबै संगै मज्जाले हास्थ्यौं । गर्भवती महिला दिदीबहिनीलाई भने अवस्था हेरेर कसैलाई तत्काल त कसैलाई ४-५ दिनमा पिसिआर गरेर नेगेटिभ भएपछि घरमा सुरक्षित बस्ने गरी पठाउथ्यौं । त्यही राख्नुपरे विशेष ध्यान दिएका थियौं । तर समुदायमा कोरोनाको भयावह भने कायमै थियो । आफ्नो घर सम्झेर आएका दाजुभाई दिदीबहिनीप्रति समुदायले भौतिक दुरी कायम गर्दै माया र सदभाव देखाउन अलि ढिलो गर्यो की भन्ने कुराले निकै पीडा पनि महशुस गराउथ्यो । नगरपालिकामा त कोरोना छ, हाम्रा काम फोनबाटै हुनुपर्छ भन्ने फोनहरु पनि आउथे तर संकटमा सबैसंग समन्वय गरेरै काम गर्यौ ।

कारोनाको संक्रमण व्यवस्थापन गरिरहदा हामीले नगरपालिका नजिकै रहेको बागिना संगित भवनलाई आश्रय स्थल बनायौं । यो प्रदेशको राजधानी मात्र होइन, प्रदेशकै प्रवेशद्वार पनि हो । करिव सात हजार जनालाई हामीले खाना, पानी, खाजा खुवाएर पनि गन्तव्य स्थानमा जान सहजकिरण गर्यौं । यसरी व्यवस्थापन र काममा खटिरहदा म कार्यबहाक प्रमुखनै भएर काम गरिरहेको थिए । सबै वडा अध्यक्ष, कार्यपालिकाको टिम वडा सदस्यसहति पूमुख प्रशासकीय अधिकृत टिकाराम ढकालदेखि कार्यालय सहयोगीसम्म टिमको काम प्रतिको लगनशिलता र एकता निकै मजबुद रह्यो । सबैले सधै आफूले लिएको जिम्मेवारी मात्र होइन, नगरवासीलाई सुरक्षित राख्न जस्तोसुकै जोखिम मोल्न पनि तयार रहेर काम गर्नुभयो । दिन रात नभनेर काममा खटिरहनु भयो । नगरपालिकाको सम्पूर्ण टिमको कामप्रतिको लगनशिलता र कार्यगत एकताले मलाई भावुक वनाउनुका साथै गौरवान्वित पनि वनाउथ्यो । मैले उहाहरुको कामको सम्मान गर्र्दै सम्पूर्ण नगरबासीकोतर्फ वाट उहाहरुलाइ नगर सभामा स्यालुट पनि गरेको थिए ।

क्वारेन्टिन व्यवस्थापनको चाप वढेसंगै नगरसभाको चाप पनि बढ्दै थियो । समुदायमा डर पनि त्यत्तिकै बढ्दै थियो । कहिले अस्पतालमा स्वास्थ्यकर्मी कोरोना पोजेटिभ देखिएर शिल त कहिले कुनै कार्यालय शिलका समाचार प्रकाशित भइरहन्थे । नगरपालिकाका केही कर्मचारीहरुमा पनि कोरोना पोजेटिभ देखियो अव के हुन्छ ? भन्ने थियो । तर हामीले प्रत्येक दिन कार्यालयमा सेनिटाइज गर्दै कोभिड १९ का सुरक्षाका विधि अपनाउदै कार्यालयका गतिविधि अगाडि बढायौं । नगरसभा सम्पन्न गरी आर्थिक वर्ष २०७६।७७ पुरा गर्यौ । भौतिक प्रगती ८६ प्रतिशत पुरा गर्यौं । पीचको काम बाहेक हाम्रा सबै योजना पुरा भए । गोष्ठी, क्षमता विकास तालिमको बजेट रकमान्तर गरेर कृषकलाई वीउमा ८० प्रतिशत र मलमा ५० पतिशत अनुदान दिएर मल तथा वीउको व्यवस्थापनमा सहयोग गर्यौं । संकटपुर्ण अवस्थामा पनि हामी निरन्तर अघि बढिरहयौं ।

हाम्रो निरन्तरको प्रयास, केन्द्रीय कोरोना व्यवस्थापन समितिले जारी गरेका सबै मादण्ड पुरा गर्ने प्रयास, नगरपालिका आफैले पनि निर्णय गरेर गरेकाथप व्यवस्थापन र सम्पूर्ण नगरवासी, राजनीतिक दल नागरिक समाज संघ संथा र संचा।कर्मीको सहयोगमा नगरपालिकाको एकद्वार नीतिलाई अवलम्वन गर्दै त्यत्तिवेलासम्म सबैलाई स्वस्थ्य राख्न सफल भयौं । तर विस्तारै लकडाउन खुकुलो भएसंगै प्रदेश राजधानी भएको कारण पनि मानिसहरुको चहलपहल वढ्दै जादा कोरोना संक्रमण पनि देखिन थाल्यो तर यसको नियन्त्रणका लागि हाम्रो प्रयास निरन्तर जारी छ । कोरोना रोकथाम तथा नियन्त्रणमा मेरो सक्रियता निरन्तर अघि बढिरहेको छ ।

यसरी नगरपालिकाले गर्ने कामहरुको व्यवस्थापन गरिरहदा जिल्ला, प्रदेश सरकार र संघीय सरकारसंगको सहकार्य समन्वय बैठकमा मात्र हैन, लकडाउनमा मौलाएको जुम बैठकमा पनि प्रमुखको नाताले समय व्यवस्थापन गर्नुपर्ने । यी सबै कुरा गरिरहदा कोरोनाले मलाई पनि छुन्छ की भन्ने कुरामा कहिल्यै नअल्झिएर कोविड बिरुद्धका सुरक्षाका विधि अपनाएर सधै कार्यक्षेत्रमा खटिरहे । अव पनि खटिरहने छु ।

(ढकाल वीरेन्द्रनगर नगरपालिका सुर्खेतकी उपप्रमुख हुनुहुन्छ )